नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग एकता गर्ने सन्दर्भमा फरक मत राखेका छन्।
शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा शर्माले पार्टी पुनर्गठन नगरी एकताका लागि अघि बढे ऐतिहासिक गल्ती हुने बताएका हुन्।
'विचार, सिद्धान्त, नीति र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी अन्य पार्टीसँग एकताका लागी अघि बढ्नु ऐतिहासिक गल्ती हुनेछ। पुनर्गठित पार्टीले मात्रै अन्य वाम शक्तिहरूसँग विचार, कार्यनीति र लक्ष्य मिलाउँदै विश्वसनीय एकता निर्माण गर्न सक्छ,' उनले भनेका छन्।
शर्माले बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र सङ्गठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो नबनाउने बरू क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पुऱ्याउने दाबी गरे।
'यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ। त्यसैले उपयुक्त गृहकार्य ,वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ,' उनले राखेको फरक मतमा उल्लेख छ।
पार्टीले महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा एकता प्रक्रिया अगाडि बढाउनुलाई शर्माले नेतृत्व निर्माणको वैचारिक छलफलबाट भाग्ने प्रयास भनेका छन्।
उनले माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसपर्मण गर्ने प्रवृत्ति पार्टीमा देखिएको पनि बताए।
'यसले हाम्रो पाटीको आधारभूत चरित्रलाई पूर्ण रुपमा समाप्त गर्नेछ,' उनले भनेका छन्।
पार्टीभित्र उठेका विषयहरूलाई बेवास्ता गर्दै एकताका नाममा आत्मसमर्पण गर्न खोजेको शर्माको भनाइ छ। यसले पार्टीलाई अझै कमजोर बनाउने उनको निष्कर्ष छ।
'हालको जेनजी विद्रोहले माग गरेको सुशासन, पारदर्शिता र नेतृत्वको हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साखलाई झन् गिराउनेछ र विसर्जनको दिशामा धकेल्नेछ,' उनले भनेका छन्।
शर्माल तत्काल एकताले देशको राजनीतिक संकट समाधान गर्ने भन्दा पनि विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोऱ्याउने दाबी गरे।
'हाम्रो पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकाङ्क्षालाई बेवास्ता गर्ने यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको बिगठनको बाटो रोजेको छ,' उनले भनेका छन्।
त्यसैले, यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न शर्माले आग्रह गरेका छन्।