सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको भ्रमणदल आज बंगलादेश प्रस्थान गरेको छ।
प्रधानन्यायाधीश डा. सिड रेफाट अहम्मदको मैत्रीपूर्ण निमन्त्रणामा उक्त भ्रमण टोलीले नोभेम्बर १ देखि ४ सम्म बंगलादेश सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भ्रमण दलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा, र मुख्य रजिष्ट्रार विमल पौडेल समेत सहभागी छन्।
भ्रमण टोली आज बिहान बंगलादेश एयरलाइन्सको विमानबाट ढाका प्रस्थान गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार यो भ्रमणले नेपाल र बंगलादेशका न्यायपालिकाबीचको आपसी सहयोग, अनुभव आदान–प्रदान र न्यायिक प्रणाली सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।