नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको बताएका छन्।
पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताएका हुन्।
मंगलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्न पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका छिटो ल्याउनुपर्ने बताएका हुन्।
‘कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,’ उनले भने।
उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेष गरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको बताए।
उनले सभापति, उपसभापति र महामन्त्री लगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको बताए। ‘विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरण लगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,’ उनले भने ।
महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए। उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए।