अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन्।
फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन्।
'अहिले दिने सोचमा छैन। तर भविष्यमा परिस्थितिअनुसार निर्णय फेरिन सक्छ,' ट्रम्पले भने।
उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए। त्यसकारण तत्काल मिसाइल दिन निर्णय नभएको भनेर ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो।
रुट्टले गत शुक्रबार उक्त विषय हाल पनि अध्ययनमा रहेको र अन्तिम निर्णय अमेरिकाले नै गर्ने बताएका थिए।
यसअघि तोमहक मिसाइलकै विषयमा कुरा गर्न ह्वाइट हाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रित्तो हात फर्किएका थिए।
अक्टोबरको तेस्रो साता ह्वाइट हाउसमा ट्रम्पसँग प्रतिनिधिमण्डलस्तरीय भेटमा जेलेन्स्कीले तोमहक मिसाइल युक्रेनलाई दिन ढिला नगर्न ट्रम्पलाई आग्रह गरेका थिए।
उनले रूसी आक्रमण रोक्न पनि तोमहक मिसाइल अत्यावश्यक रहेको बताएका थिए।
जबाफमा ट्रम्पले तत्कालै मिसाइल दिन नसक्ने भनेका थिए।
युक्रेनलाई मिसाइल दिएको खण्डमा रूसले त्यसलाई उक्साहटको रूपमा लिने र परिणाम नराम्रो हुनसक्ने भनेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई सचेत गराएका थिए।
जेलेन्स्कीसँग ट्रम्पले भेट्नुअघि नै पुटिनले ट्रम्पसँग लामो टेलिफोन संवाद गरेका थिए। उनीसँगको संवादपछि ट्रम्प मिसाइल बेच्नबाट पछि हटेका थिए।
कति शक्तिशाली छ तोमहक मिसाइल?   
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण तोमहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।
तोमहक क्रुज मिसाइल पहिलोपटक सन् १९९१ को पर्सियन गल्फ युद्धमा प्रयोग गरिएको थियो। त्यसयता इराक, सिरिया, अफगानिस्तानदेखि यमनसम्मका विभिन्न अमेरिकी सैन्य अभियानमा यसको प्रयोग हुँदै आएको छ। तोमहक सन् १९७० दशकमै विकास सुरु भएको पुरानो तर अझै अत्याधुनिक प्रविधि भएको मिसाइल हो।
यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ। यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो।
यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ।
त्यसैले यो आक्रमणको समयमा अत्यन्त गुप्त र घातक ठहरिन्छ। युक्रेनबाट रूसको राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्ग ५०० माइलभन्दा नजिक रहेकाले पनि तोमहकको प्रयोग गरेर युक्रेनले रूसमा आक्रमण गरी त्यहाँ ठूलो क्षति पुर्याउन सक्छ भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
तोमहक सामान्यतया समुद्री जहाज वा पनडुब्बीबाट प्रक्षेपण गरिन्छ। सुरुमा ठोस इन्धनले चल्ने बुस्टर मोटरले मिसाइललाई करिब १५ सय फिट माथि उठाउँछ। सानो जेट इन्जिनले त्यसलाई विमानझैँ उडाउँछ। एक पटक लक्ष्यको दिशा सेट गरेपछि मिसाइलले आफैं भू–नक्शा र  जिपिएस संकेतको आधारमा बाटो खोज्दै लक्ष्यमा पुग्छ।
यसको नयाँ संस्करणमा त उडानकै क्रममा पनि नयाँ आदेश दिएर लक्ष्य परिवर्तन गर्न सक्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अहिले अमेरिकी सेनाले जमिनबाटै यस्ता मिसाइल प्रक्षेपण गर्न सक्ने ‘टाइफुन’ नामक प्रणाली विकास गरेको छ। सन् २०२४ मा पहिलोपटक यस्तो लन्चरबाट तोमहक परीक्षण गरिएको थियो। यही प्रणाली मार्फत युक्रेनले पनि तोमहक चलाउन सक्ने आँकलन गरिएको छ।
 तोमहकमा साधारणतया करिब ४०० पाउन्ड टिएनटी बराबरको विस्फोटक वारहेड हुन्छ। यसले ठूला भवन, सैन्य केन्द्र वा कमाण्ड पोस्ट नष्ट गर्न सक्छ। केही संस्करणहरूमा स–साना बम (क्लस्टर बम) रहने गर्छन्, जसले ठूलो क्षेत्रभर क्षति पुर्याउन सक्छ। अर्को संस्करणले विद्युत् सञ्जालमा कार्बन फाइबर छरेर अस्थायी रूपमा बिजुली आपूर्ति बन्द गराउने क्षमता पनि राख्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी रक्षा बजेट अनुसार एउटा तोमहक मिसाइलको मूल्य ८ लाखदेखि २० लाख अमेरिकी डलरसम्म पर्छ। यति महँगो मिसाइल हरेक आक्रमणमा प्रयोग गर्न सजिलो हुँदैन। त्यसैले यसको प्रयोग प्रायः रणनीतिक वा उच्च–महत्त्वका लक्ष्यहरूमा मात्रै हुन्छ।
अमेरिकासँग अहिले हजारौं तोमहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ। त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन। त्यसबाहेक, यस्तो हतियार पाउँदा रुसले कसरी प्रतिक्रिया दिन्छ भन्ने विषय पनि कूटनीतिक रूपमा संवेदनशील छ।