राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन्।
उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन सोमबार प्रस्थान गरेका हुन्।
राष्ट्रपति पौडेलको बिदाइका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । 
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको  दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, राष्ट्रपति पौडेलले उक्त सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ। 
संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैं सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ।
राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ। कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन्।


 





