लामो छलफलपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार केही दिन अघिसम्म मन्त्री घिसिङ कसैको नाममा पार्टी दर्ता गर्ने र फागुन २१ को प्रतिनिधि सभा चुनावभन्दा केही महिनाअघि मात्रै मन्त्रीबाट राजीनामा दिएर वा मन्त्री पदमा कायम रहेरै पार्टीको नेतृत्व गर्ने भन्ने मनस्थितिमा थिए। त्रिविमा अध्यापन गरिरहेका एक प्राध्यापकको नाममा तत्कालका लागि पार्टी दर्ता गर्ने कि भन्नेबारे पनि छलफल भएको थियो।
‘पछिल्ला केही दिन र विशेष गरेर हिजो (आइतबार) भएको छलफलमा आफ्नै नेतृत्वमा अहिले नै पार्टी घोषणा गर्दा ठीक हुन्छ भने त्यही गरौं भन्नेमा उहाँ पुग्नुभएको छ,’ उनीनिकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘भरे–भोलिसम्ममा यसबारे अन्तिम टुंगो लाग्छ।’
उनले खोल्ने भनिएको नयाँ पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तय भएको छ। पार्टीको नामबारे अझै छलफल भइरहेको स्रोतले बतायो।
पार्टीको नाम उज्यालो नेपाल वा अरू नै राख्ने भन्ने पनि छलफलकै क्रममा रहेको स्रोतको दाबी छ।
उज्यालो नेपाल र चुनाव चिह्न ‘बिजुलीको चिम’ राख्नेमा कुलमान सकारात्मक रहे पनि अहिले टुंगो लागिसकेको छैन। कतिपय सदस्यले भने नेपाल विकास दल राख्न पनि सुझाएका छन्।
कुलमानलाई नै अध्यक्ष राखेर पार्टी दर्ता भएमा अरू सबैलाई तत्कालका लागि केन्द्रीय सदस्य मात्रै राखेर जाने सम्भावना रहेको पनि स्रोतले बताएको छ।
कुलमानसँग मिलेर पार्टी खोल्ने छलफलमा अहिलेसम्म रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, गएको संसदीय निर्वाचनमा डडेल्धुराबाट चुनाव उठेका इन्जिनियर सागर ढकाल, हामी नेपालका संस्थापक अध्यक्ष सुदन गुरूङ, जेनजी युवाहरू प्रवेश दाहाल, सबल गौतमलगायत छन्।
‘उहाँहरू पार्टीमा आउने लगभग निश्चित छ,’ स्रोतले भन्यो।
कुलमानसँग मिलेर पार्टी खोल्न लागेको समाचार बाहिरिएपछि सुदन गुरूङले सामाजिक सञ्जालमार्फत् आफूलाई नसोधी समाचार लेखिएको टिप्पणी गरेका छन्। पार्टी खोल्ने छलफलमा भएकोबारे सेतोपाटीले बुझ्न खोज्दा गुरूङसँग सम्पर्क हुन सकेन।
काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङलाई सँगै राखेर पार्टी खोल्नेबारे लामो समयसम्म छलफल र प्रयत्न भए पनि त्यसले सार्थकता पाएन।
कुनै समय दुई जनामध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने भन्नेसम्म छलफल भएको थियो। तर समयक्रममा बालेनले दलमा प्रत्यक्षरूपमा संलग्न भएर राजनीति गर्नेमा धेरै चासो देखाएनन्।
कुलमानसँग मिलेर मात्र होइन, त्यसभन्दा पहिले पनि पार्टी खोल्ने कि नखोल्ने भनेर लामो समयदेखि बालेन दोधार र अनिश्चयमा रहँदै आएका थिए।
अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं महानगरको कानुनी सल्लाहकार रहेका बेला पार्टी खोल्नेबारे पनि दुई जनाबीच छलफल र कुराकानी भएको थियो।
तर बालेनले आफ्नै समूहभित्र पनि पार्टी खोल्ने हो वा होइन भन्नेबारे कहिल्यै यकिन कुरा गरेनन्। यहाँसम्म कि, अर्याल केही समयअघि तय भएको रूपन्देही–३ को उपनिर्वाचनमा सांसदको उम्मेदवार बन्ने तयार गरिरहँदा पनि उनलाई समर्थन गर्नेबारे बालेनले अन्तिमसम्म पनि वचन दिएनन्।
कुलमान नेतृत्वको पार्टीमा बालेन आफै सहभागी नभए पनि बाहिरबाट समर्थन गर्ने स्रोतको दाबी छ। तर बालेनले आफै उपस्थित भएर वा चुनावी प्रचार–प्रसारमा संलग्न भएर सो पार्टीलाई समर्थन गर्छन् भन्नेमा नयाँ पार्टी खोल्न लागेकाहरू पनि त्यति विश्वस्त देखिएका छैनन्।
‘उहाँको स्वभाव हेर्दा अहिले नै केही भन्न सक्ने स्थिति छैन,’ स्रोतले भन्यो।
बालेनले पूर्ण र प्रत्यक्ष समर्थन गर्ने हो वा होइन भन्ने यकिन नभएकाले पनि कुलमान आफै अघि सरेर, सुरूआतमै आफ्नो नाममा पार्टी दर्ता गर्ने मनस्थितिमा पुगेका हुन्।
‘पार्टी खोल्दा नै आममानिसले चिनेको र आशा गरेको अनुहार नहुने हो भने पार्टीलाई अगाडि बढाउन सजिलो हुँदैन भन्ने तर्क नै हामीमाझ बलियो बनेको छ,’ छलफलमा संलग्न एक व्यक्तिले भने।