नेपाली कांग्रेसमा केन्द्रीय समिति बैठक स्थगित गरेर गुटपिच्छे भेलाहरू भइरहेका छन्।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि वैशाखमा महाधिवेशन गर्ने भन्नेमा संस्थापन र संस्थापनइतर पक्षबीच मतभेद छ।
साथै अहिले विशेष परिस्थिति रहेको बताउँदै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको प्रक्रिया सुरू गरिहाल्न माग गर्दैछन्।
कुन महाधिवेशन कहिले गर्ने भन्नेमा शीर्ष नेताहरूबीच कुरा मिल्न सकेको छैन।
सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा छन्।
उनले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै समयमै महाधिवेशन हुने पनि बताएका थिए।
तर सभापति देउवाले भनेजस्तो समयमा महाधिवेशन हुने तयारी देखिँदैन। महाधिवेशन कार्यतालिका ल्याउने भनेको केन्द्रीय समिति बैठक पटक पटक स्थगित भएको छ।
कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठक नै रोकेर पदाधिकारी, पूर्वपदाधिकारी तथा नेताहरूसँग 'वान टू वान' छलफल गरेका छन् तर अहिलेसम्म निकास निस्केको छैन।
नेता शेखर कोइराला पक्षका युवा विद्यार्थीहरूले आइतबार केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा तालाबन्दी गरेका छन्।
कांग्रेस सुधार अभियानअन्तर्गत ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने र नियमित महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने मागसहित कार्यालयको गेटमा ताला लगाइएको नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमालले जानकारी दिए।
साथै युवा विद्यार्थीहरूले पार्टी नेतृत्वलाई खबरदारीसमेत गरेका थिए। ‘बिपी, गणेशमान, सुवर्ण र किसुनजीका नाममा केन्द्रका ठालुहरूको रजाइँ कहिलेसम्म?, कांग्रेसलाई बन्धक बनाउन पाइँदैन, पदाधिकारी र केन्द्रीय सदस्य होसियार’ जस्ता लेखेका प्लाकार्डसहित युवा विद्यार्थीले केन्द्रीय कार्यालय परिसरमै प्रदर्शनसमेत गरेका थिए।
कार्यालयको मुख्य गेटमा तालाबन्दी भएपछि नेताहरू केन्द्रीय कार्यालय गएका छैनन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का ललितपुरको धोविघाटस्थित एक होटलमा नेताहरूसँग संवाद गरिरहेका छन्। उनले आज पनि नेताहरूसँग महाधिवेशन कार्यतालिकाबारे अनौपचारिक कुराकानी गरेका छन्।
सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरू चुनावमा भाग लिएर वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशशरण महतलगायत वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरमै नियमित महाधिवेशनका पक्षमा छन्। समय अभाव हुने देखिए पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव महामन्त्री शर्माको छ भने यसमा अर्का महामन्त्री थापाले पनि सहमति जनाएका छन्।
नेता शेखर कोइराला पनि मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा छन्। ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्नेमा उनी छन् तर चुनावपछि महाधिवेशन लैजान नहुनेमा कोइराला देखिन्छन्।
नेतैपिच्छे फरक फरक कार्यतालिका प्रस्ताव आउँदा कांग्रेस केन्द्रीय समितिमा कुनै प्रस्ताव पुग्न सकेको छैन।
महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समितिमा विकल्पसहितका महाधिवेशन कार्यतालिका प्रस्ताव पेस गरे पनि संस्थापन पक्ष सहमत नहुँदा त्यो प्रस्ताव केन्द्रीय समितिमा छलफलका लागि पेस हुन सकेको छैन।
महामन्त्री थापाले कात्तिक १३ गतेदेखि नै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन्। आफूले महाधिवेशन कार्यतालिका पेस गर्न नपाए केन्द्रीय समितिमा उपस्थित नहुने कुरा उनले कार्यवाहक सभापति खड्कालाई पटक पटक जानकारी गराएका छन् त्यसैले खड्काले सहमति जुटाउन भन्दै पटक पटक केन्द्रीय समिति बैठक स्थगित गर्दै मंगलबार दिउँसो १ बजेका लागि बोलाएका छन्।
त्यसअघि महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन सकिन्छ कि भनेर कार्यवाहक सभापति खड्का नेताहरूसँग सामूहिक तथा 'वान टू वान' छलफलमा छन्। कार्यवाहक सभापतिले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग धोविघाटमा छलफल गर्दा संस्थापनइतर र संस्थापन पक्षका केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरू पनि गुट छलफलमा व्यस्त छन्।
बानेश्वरमा संस्थापननिकट केन्द्रीय सदस्यको भेला
काठमाडौंको बानेश्वरस्थित एक होटलमा सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला भएको छ।
सोमबार बिहानदेखि भेला सुरू भएको हो। भेलामा करिब ४० जना केन्द्रीय सदस्य उपस्थित रहेका छन्।
केन्द्रीय समिति बैठक स्थगित रहेका बेला आफूहरूले महाधिवेशन कार्यतालिका लगायतका समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
पार्टीका सभापति, उपसभापति र महामन्त्रीहरूले महाधिवेशन कार्यतालिका ल्याउन नसकेर केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप उनको छ।
सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेकोले पार्टी सम्पूर्ण तवरले उक्त निर्वाचनमा केन्द्रित हुनुपर्ने पक्षमा सभापति देउवानिकट अधिकांश केन्द्रीय सदस्यहरू देखिन्छन्। त्यसैले उनीहरूले महाधिवेशन चुनावपछि गर्ने गरी कार्यतालिका प्रस्ताव गर्ने गरी छलफलसमेत अघि बढाएका छन्।
शेखरनिकट केही नेताहरू नियमित महाधिवेशन माग्दै भेलामा
नेता शेखर कोइरालानिकट केही नेताहरूले नियमित महाधिवेशन माग गर्न दबाब दिन भेला आह्वान गरेका छन्। 
भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, दीपक भट्टराई, सरोज थापा, पुष्प शाही, मनोहरि श्रेष्ठलगायत युवा नेताहरूले नियमित महाधिवेशन कार्यतालिका तत्काल जारी गर्न माग गर्दै भेला गर्न लागेका हुन्।
‘नियमित महाधिवेशन पक्षधरहरूको भोलि भेला आह्वान गरिएको छ, बत्तिसपुतलीमा भेला हुन्छ,’ शाहीले सेतोपाटीसँग भने, ‘केन्द्रीय समितिबाट नियमित महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा अहिलेसम्म कार्यतालिका आएको छैन, यो वा त्यो बाहनामा केन्द्रीय समिति बैठक स्थगित गर्ने गरिएको छ, त्यसैले नियमित महाधिवेशन कार्यतालिका ल्याउन दबाब दिन भेला गर्न लागेका हौं।’
विशेष महाधिवेशन माग गर्नेहरूले पनि बोलाए भेला
विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि भेला आह्वान गरेका छन्। 
नेता गुरूराज घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्य, डिल्लीराम सुवेदीलगायतले महाधिवेशन प्रतिनिधिहरूको भेला आह्वान गरेका हुन्।
भेला मंगलबार नयाँ बानेश्वरमा हुनेछ।
२९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कारण खुलाएर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए।
उनीहरूले कार्यवाहक सभापति खड्कालाई केन्द्रीय कार्यालयमै भेटेर हस्ताक्षर बुझाए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन।
कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर हस्ताक्षर बुझाएमा ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ।
विशेष महाधिवेशन पक्षधरले गत शनिबार कार्यवाहक सभापति खड्कालाई भेटेर विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न आग्रह गरेका थिए। नियमित महाधिवेशन कार्यतालिकामा विवाद रहेकोले विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको जोड थियो। कार्यवाहक सभापति खड्काले आफू विधानअनुसार अघि बढ्ने बताएका थिए। उनले नियमित महाधिवेशन गर्न सकिए विशेष महाधिवेशन पक्षधरलाई पनि समेट्ने कुरा राख्दै आएका छन्।
साथै विशेष महाधिवेशन माग गरेका एक समूहले आज विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय पुगेर कोइरालालाई भेटसमेत गरेका छन्।
भेटमा विशेष अधिवेशनका पक्षधरहरूले हस्ताक्षर दर्ता गराएको विषयमा चालु केन्द्रीय समिति बैठकमा कसरी कुरा उठेको छ र प्रक्रिया अगाडि बढेको छ भन्ने विषयमा उनीहरूले कोइरालासँग चासो राखेका थिए।
नीहरूले नेता कोइरालालाई विशेष महाधिवेशनको पक्षमा लबिइङ गरिदिन पनि आग्रह गरेका छन्। 
कोइराला आफै भने नियमित महाधिवेशको पक्षमा छन्। उनले मंसिरभित्र १५ औं महाधिवेशन हुनुपर्ने बताइरहेका छन्।
'नियमित अधिवेशन हुन सक्दैन। धेरै समस्या छ। विशेष महाधिवेशन नै कांग्रेसभित्र अहिले देखिएको समस्याको समाधन गर्छ भन्ने कुरा हामीले राख्यौं र  विशेष महाधिवेशनको पक्षमा लबिइङ गरिदिनुस् भन्यौं,' नेता मनोजमणि आचार्यले सेतोपाटीसँग भने। 
जबाफमा नेता कोइरालाले नियमित महाधिवेशनमा पनि सहमति नभएका कारण अन्तिममा विशेष महाधिवेशनमा पुग्न सक्ने कुरा गरेको आचार्यले जानकारी दिए। 
'नियमित अधिवेशनको पनि मितिको विषयमा कुरा मिलिराखेको छैन। एक पक्ष चुनाव अगाडि भन्नुहुन्छ, अर्को पक्ष चुनाव पछाडि महाधिवेशन गरौं भन्नुहुन्छ। कुरा नमिल्दासम्म समस्या भइराख्यो र समय घर्किँदै गइरह्यो भने अन्तिममा विशेष महाधिवेशनमा पुग्न सक्छ,' कोइरालाका भनाइ उद्धृत गर्दै उनले भने।
पार्टी विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
'आज २० दिन भइसक्यो। पुस २८ सम्म हामीले विशेष अधिवेशन गरिसक्नुपर्छ। पार्टी केन्द्रीय समितिबाट त्यो विषयमा निर्णय गरिसक्नुपर्छ भनेर विशेष अधिवेशनको पक्षमा लबिइङ गरिदिनुस् भन्यौं,' आचार्यले भने, 'नियमित हुँदै गर्दा हामी पनि त्यो कुराबाट टाढा छैनौं। तर नियमिति हुन सक्दैन। किनभने पार्टी कार्यालयहरू जलेको छ। क्रियाशील फारमहरू जलेका छन्। समय पेचिलो छ।’
विशेष महाधिवेशन पक्षधरहरूले मुलुकको परिस्थिति र विधानले परिकल्पना गरेको विशेष महाधिवेशन हुन सक्ने अवस्थाबारे कोइरालालाई स्मरण गराएका थिए। 
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको आवाज उठेको छ भने त्यसका लागि महाधिवेशन गर्नुपर्ने नेताहरूले बताउँदै आएका छन्। तर केन्द्रीय समितिले महधिवेशन कार्यतालिका ल्याउन सकेको छैन, जसले गर्दा गुटपिच्छेका दबाबमूलक भेला भइरहेका छन्।
महाधिवेशन कार्यतालिकाबारे छलफल गरी निष्कर्षमा पुग्ने थलो केन्द्रीय समिति रोकेर गुटपिच्छेका भेला भएकोमा भने कतिपय नेताकार्यकर्ताले आलोचना गरेका छन्।