नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेसँग एकताका लागि चारवटा सर्त राखेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले निश्चित  मापदण्ड पूरा भए एमालेसँग एकता गर्न सकिने वा उसँग मिल्न सकिने बताएका हुन्। 
'पार्टीप्रति माया ममता अझै छ तर त्यो पार्टीभित्र विभिन्न वैचारिक राजनीतिक संगठनात्मक सवालमा उत्पन्न भएका गलत चिन्तन, विचार र प्रवृत्तिलाई त्यो सच्याउनुपर्छ,' उनले भने, 'यदी त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरू सच्याउँछ र सच्याएर एकताबद्ध भएर  जाऔं भन्ने कुरा गर्नुहुन्छ भने छलफल गर्न सकिन्छ।'
खनालले पहिलो सर्त मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने बताए। 
'दोस्रो,  अब हामी नेपाली क्रान्तिलाई अगाडि बढाउने शिलशिलामा पुँजीवादी जनवादी क्रान्ति सक्यौं अब समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अगाडि बढ्छौं भन्ने कुरा मान्नुपर्यो,' नेता खनालले भने। 
तेस्रोमा समाजवादी क्रान्तिको कार्यक्रम भनेको चाहिँ नेपाली विशेषताको समाजवादी क्रान्ति हो भनेर मान्नुपर्ने उनको भनाइ छ। 
र चौथो त्यो समाजवादी कार्यक्रमलाई प्राप्त गर्न आवश्यक पर्ने सही वैचारिक राजनीतिक कार्यदिशा नीति सिद्धान्त अगाडि सार्दै देशी विदेशी प्रतिक्रियावादको विरूद्ध लड्ने विषयको संकल्प गर्नुपर्ने उनले बताए। 
'यी चार कुरामा एक रूपता हुने बित्तिकै हामी वार्ता सुरू गरिहाल्छौं,' उनले भने। 
नेता खनालले एमालेभित्र सुस्थिर चिन्तनको अपेक्षा आफूले गरेको उनले बताए।
'यो अस्थिर चिन्तनको होइन। सुस्थिर चिन्तनको उहाँमा विकसित हुन सकिरहेको छैन। त्यो विकास गर्नुस्। र चार मापदण्ड पूरा गर्ने अवस्थामा उहाँहरू पुग्नुभयो भने हामी राम्रो ढंगले वार्ता गर्न सक्छौं,' उनले भने, 'तर आधारभूत कुरामै मेल भएन भने न व्यक्तिगत न समूहगत केही अर्थ नै छैन।'
नेता खनालले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरिने बताए।  
'अब हामीले नयाँ ढंगले पार्टी पुनर्गठन गर्नु र नयाँ पार्टी निर्माण गर्नु अवश्यमभावी छ। हामी त्यो पार्टीभित्रको क्रान्तिकारी लिगेसीलाई दृढतापूर्वक पक्रन्छौं र नयाँ धरातलबाट क्रान्तिकारी पार्टी निर्माण गर्छौं,' उनले भने। 
केन्द्रीय समितिले माओवादी केन्द्र लगायतका दलहरूसँग एकता गर्ने निर्णय गरेपछि खनाल पक्षले शनिबार सुकेधाराको एउटा ब्यांक्वेटमा  भेला राखेको थियो। 
'त्यो भेलाले राष्ट्रिय सम्मेलन गर्ने र त्यो सम्मेलनबाट नयाँ पार्टी घोषणा गर्ने विषयमा छलफल गरेको छ। त्यसका घोषणापत्र, कार्यक्रम, कार्ययोजना पार्टीको विधान बनाउने निर्णय गरेको छ। हामी चाँडै सम्पन्न गर्छौं। र चाँडै पार्टी घोषणा गर्छौं,' खनालले भने। 
नेता खनालले एकता हुने भनेपछि माओवादी केन्द्रभित्र पनि पुनर्गठनको स्थिति देखा परेको र सो विषयमा त्यो पक्षसँग भावना मिलेको बताए। 
'माओवादी भित्र पनि विभिन्न समूहहरूको स्थिति देखा पर्दैछ र उनीहरू पनि पुनर्गठनको प्रयत्न गरिराखेका छन्। हामी पनि पुनर्गठनको प्रयत्न गर्दैछौं। यो पुनर्गठनको दिशामा जानुपर्छ भन्ने भावना चाहिँ एउटै देखिन्छ। तर भावनाभित्र वैचारिक राजनीतिक सैद्धान्तिक कुराहरू के छन् त्यो छलफल गर्न पाएका छैनौं। छलफल गर्दा एकरूपता देखियो भने त उहाँहरूसँग निकटता बढ्नु स्वाभाविक हुन्छ,' उनले भने।