नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले आज छुट्टै भेला गरेका छन्।
काठमाडौंको बानेश्वरमा भएको छलफलमा १५ औं महाधिवेशन कार्यतालिकाबारे कुराकानी भएको नेताहरूले बताएका छन्।
२८ असोजदेखि सुरू केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउन सकेको छैन। केन्द्रीय समिति बैठक नै पटक पटक स्थगित भएको छ भने मंगलबार दिउँसो १ बजे पुन: बस्दैछ।
केन्द्रीय समिति बैठक स्थगित भइरहेपछि सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले सामूहिक धारणा बनाएर जाने भन्दै आज छलफल गरेका हुन्।
केन्द्रीय सदस्य गुरू बरालले आजको छलफलमा ८० जना केन्द्रीय सदस्यहरू उपस्थित रहेको दाबी गरे।
‘केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरूबीच छलफल गरेका हौं, महाधिवेशन कार्यतालिकाबारे नै कुराकानी भयो,’ उनले भने, ‘नेताहरूले केन्द्रीय समितिलाई बन्धक बनाए, कार्यतालिका पनि पेस भएन।’
त्यसैले आफूहरूले छलफल गरेको उनको भनाइ छ।
छलफलमा फागुन २१ को प्रतिनिधि सभा चुनाव अघि वा पछि महाधिवेशनबारे फरक फरक धारणा आएको थियो।
‘फागुन २१ को प्रतिनिधि सभा चुनावमा जाने हो भने त्यसको तयारी गर्नुपर्छ, त्यसअघि राष्ट्रिय सभा चुनाव पनि छ,’ बरालले भने, ‘हामीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेका छौं तैपनि चुनावबाट भाग्न त सक्दैनौं त्यसैले चुनावमा भाग लिने हो भने वैशाखमा महाधिवेशन गरौं भन्ने एउटा मत छ भने चुनावमा भाग नलिने हो भने पुसतिर पनि महाधिवेशन गर्न सकिन्छ भन्ने मत छ।’
उनले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्नेमा आफूहरू रहेको बताए। विशेष महाधिवेशनले केन्द्रीय समिति मात्रै परिवर्तन गर्ने तर नियमित महाधिवेशनले पार्टीका सबै तहको रूपान्तरण पनि सम्भव रहने उनले बताए।
‘हामी एउटा निष्कर्षमा पुग्छौं र केन्द्रीय समितिमा महाधिवेशन मिति प्रस्ताव गर्छौं,’ उनले भने। सभापति देउवानिकट केन्द्रीय सदस्यहरू वैशाख अन्तिम साता १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूसँग सोमबार धोविघाटमा छलफल गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा छन्।