नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी नवयुवाले अघि सारेको माग उचित भएको बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले जेनजीले अघि सारेका माग सरकारले पूरा गर्न सक्ने बताएका हुन्। तर भदौ २३ गते उनीहरूले अघि सारेका माग तत्कालीन एमाले नेतृत्वको सरकार समक्षा प्रस्तुत नै नभएको बताएका हुन्।
‘उनीहरूले राखेका माग सरकार समक्ष प्रस्तुत नै भएन,’ उनले भने, ‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन।’
पोखरेलले २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको समेत दाबी गरे।
बरू भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी थियो।
‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ,’ उनले भने।
साथै उनले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्ने कुरा समेत बताए।
‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित हुन खोज्दैछ। अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन,’ पोखरेलले भने, ‘परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ।’