पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ।
भेटमा शर्मा र भूसालले आफूहरू ८ दल एकता भई बन्ने नयाँ पार्टीमा आउन नसक्ने जानकारी गराउँदै बिदा मागेको स्रोतको भनाइ छ।
माओवादी र एकीकृत समाजवादीसहित ८ दलबीच आइतबार साँझ एकताको सहमति भएको थियो।
माओवादी नेता जनार्दन शर्माले आफ्ना कुरा पार्टी र नेतृत्वलाई स्पष्ट ढंगले राखिसकेको सेतोपाटीलाई बताए।
‘मैले आफ्ना कुरा पार्टी र नेतृत्वमा प्रष्ट ढंगले राखिसकेको छु, म एकीकृत समाजवादीसहित ८ दलीय एकीकरण जे भनिएको छ त्यसमा जाँदिनँ,’ उनले भने।
अब कसरी अघि बढ्ने भन्ने हाम्रोमा प्रश्नमा जबाफ दिँदै शर्माले भने, ‘म बृहत् वामलोकतान्त्रिक ध्रुवीकरणको पक्षमा छु, त्यसैका लागि क्रियाशील रहनेछु, अहिलेको एकता प्रक्रियामा जान्न। यो कुरा मैले नेतृत्वलाई भनिसकेको छु।’
शर्माले माओवादी सचिवालय बैठकमा पनि एकीकृत समाजवादीसहितको पार्टीहरूसँग एकताबारे फरक मत राखेका थिए।
पार्टीभित्रै एकता नभएका बेला महाधिवेशन टार्ने गरी विभिन्न पार्टीबीच एकीकरण गर्न खोजिएकोमा उनको आपत्ति थियो। तर संयोजक प्रचण्डले अन्तिमसम्म जनार्दन पनि एकता प्रक्रियामा आउने र अराजक प्रस्तुति नदिन भनेका थिए।
एकीकृत समाजवादीका एक नेताले महासचिव घनश्याम भूसाल र संयोजक प्रचण्डबीच आइतबार र सोमबार गरी दुई दिन भेटवार्ता भएको बताए।
सोमबार बिहान भएको भेटमा घनश्यामले 'अब पार्टी एकताका विषयमा गरिने छलफलको सान्दर्भिकता नरहेको' बताउँदै प्रचण्डसँग बिदा मागेका थिए।
आइतबारको भेटमा संयोजक प्रचण्डले भूसाललाई आफूले चुनावअघि नयाँ बन्ने पार्टीको नेतृत्व छाड्न तयार रहेको र माधवकुमार नेपालसँग पनि यसबारे छलफल गर्ने आश्वासन दिएका थिए।
‘आइतबारको भेटमा अध्यक्ष प्रचण्डले फागुन २१ को प्रतिनिधि सभा चुनावअघि नेतृत्व छाड्ने विषयमा सकारात्मक हुनुभएको रहेछ र सोमबार बिहान थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने कुरा भएको रहेछ तर आइतबार साँझ नै ८ दलबीच एकता टुंगो लागेर नेतृत्वसमेत बाँडफाँट भएपछि सोमबार बिहानको भेटमा महासचिव भूसालले प्रचण्डसँग थप संवाद नगरी बिदा माग्नुभएको रहेछ,’ एकीकृत समाजवादीका ती नेताले भने।
उनीहरूबीच भेटवार्ता प्रचण्ड निवासमै भएको थियो।