नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभएको बताएका छन्।
निर्वाचनको प्रमुख कार्यभार बोकेर गठन भएको सरकार निर्वाचनको तयारीमा लाग्नुभन्दा राजनीतिक दलहरूमाथि प्रतिशोध साध्ने कार्यमा केन्द्रित भएको भन्दै उनले उक्त कुरा बताएका हुन्।
उनले जेन जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्ने भने पनि चुनावको तयारी नगरेको बताए।
‘के सरकारले चुनावको तयारी गरेको छ चुनावको तयारी गर्न यस्तै काम कारबाही गरिन्छ, सरकारले चुनावको तयारी गरिरहेको छैन,' उनले भने, 'राजनीतिक पार्टी र पार्टीका नेताहरूमाथि प्रतिशोध पूर्ण व्यवहार गरिरहेको छ। राजनीतिक पार्टी र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर चुनावको तयारी हुँदैन।'
सरकारले पार्टी र नेतालाई किनारा लगाएर चुनावमा जान नसक्ने बताए।
पौडेलले संविधानले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित व्यवस्थामा मुलुक सञ्चालन गर्ने जिम्मेवारी जनताबाट निर्वाचित जनप्रतिनिधिको हातमा हुने भन्दै अन्तरिम सरकार असंवैधानिक रहेको बताए। त्यसैले संसद् पुनर्स्थापनापछि सोही संसदबाट गठन हुने सरकारले संविधानलाई लिकमा ल्याउने र निर्वाचन हुने दाबी गरे।
उनले भदौ २३ गते जेन जीहरूले गरेको आन्दोलनलाई हाई ज्याक गर्नेहरूले सरकारको मञ्चन गरिरहेको उल्लेख गरे
'अहिले सरकार छ देशमा? सरकारले सरकारको रूपमा काम गरेको छ। पछाडिपट्टि पेस्तोल बोकेर हिँड्नेहरू, भदौको २३ गते जुलुसमा जाने जेन जी र जेन जीहरूको नाममा अहिले शासन गर्नेहरूलाई हेर्नुस् त के छ स्थिति? यो कुनै चल्ने कुरा छ? चल्दैन,' उनले भने, 'यो कुनै लामो समय चल्ने मञ्चन नै होइन।'
भदौ २३ र २४ गतेको घटनाले सरकारमा रहेर पनि त्यस षडयन्त्रबारे थाहा पाउन नसक्नु आफूहरूको कमजोरी रहेको उनले स्वीकारे।
‘सरकारमा रहे पनि सबै षड्यन्त्र सधैं थाहा नहुने रहेछ, केही घण्टामै मुलुकलाई एकै पटक तहसनहस बनाउने यो तहको योजना, यो तहको षडयन्त्र भइरहेको कुरा सुरूमै बुझ्न सकिएन,’ पौडेलले भने।
पौडेलले पञ्चायती व्यवस्थाको कठिन राजनीतिक अवस्थामा पनि एमाले निर्वाचनमा सहभागी भएको स्मरण गर्दै सरकारले प्रतिशोधपूर्ण व्यवहार त्यागी निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।