नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित ८ दलसँग एकता गर्ने निर्णय गरेपछि नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्।
उनले मंगलबार पत्रकार सम्मेलन गरी प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गरेका हुन्। शर्माले घोषणा गरेको अभियानमा राम कार्की, अञ्जना विसंखे पनि सहभागी छन्।
लामो समयदेखि पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरसंघर्ष गर्दै आएका शर्माले पछिल्लो पार्टी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेपछि त्यसको कार्यक्षेत्र नाघेर दलहरूसँग एकता गर्ने निर्णय गरेको भन्दै विरोध जनाउँदै आएका छन्।
पार्टीको विचारधारा त्यागेर एकीकृत समाजवादीसँग आत्मसमर्पण गरेको उनको निष्कर्ष छ। नेतृत्व पुनर्गठनपछि मात्रै त्यस्ता एकता प्रक्रिया अगाडि बढाउनुपर्ने भन्ने धारणा पार्टी बैठकमा राख्दै आएका थिए।
उनको मागलाई नेतृत्व तहबाट बेवास्ता भएपछि शर्माले ८ दलको एकता प्रक्रियाबाट बाहिरिँदै अभियान घोषणा गरेका हुन्।
महाधिवेशन आयोजक समिति संयोजक रहेका प्रचण्डले जनार्दनलाई पार्टी नछाड्नका लागि हरसम्भव प्रयत्न गरे पनि सकेनन्।
आइतबार आफू बसेकै घरमा बोलाएर प्रचण्डले जनार्दनसँग लामो छलफल गरेका थिए।
त्यो भेटघाटमा के भयो भन्ने विषय प्रचण्डले मंगलबार बसेको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकमा सुनाएका छन्।
शर्माले पार्टी छाड्दा आफूलाई नमिठो लागेको प्रचण्डले सुनाएका छन्।
'उहाँ यहीँ हुनुपर्थ्यो। इतिहासको सन्दर्भ र पृष्ठभूमीका कारण र पार्टी लिडरसिपले उहाँलाई अन्तिम समयसम्म, अस्तिको दिनसम्म पनि उहाँलाई बोलाएर हामी एक हुनुपर्छ, जे-जे भन्नु छ जनवादी वातावरणमा कुरा राख्ने तपाईंलाई पूरा हक त्यो वातावरण बनाइन्छ, बनाइयो पनि भनेँ। लामो परामर्श बैठक तपाईंका कुराहरू आम कार्यकर्ता पंक्तिमा पुर्याउने उद्धेश्यले लगिएका थिए,' जनार्दनसँगको कुराकानी सुनाउँदै प्रचण्डले भने।
उनलाई पटकपटक केन्द्रीय समिति, स्थायी समिति, पदाधिकारी बैठकमा पर्याप्त समयका साथ गुनासा पिडा, बिमती वा भावना राख्न दिएको कुरा पनि प्रचण्डले स्मरण गराए।
'यस्तो परिस्थितिमा तपाईंले अन्यथा सोच्न भएन भन्ने कुरा मैले अस्तिको दिनमा म बसेकै ठाउँमा बोलाएर भनेको थिएँ,' मंगलबारको कार्यक्रममा प्रचण्डले भने।
त्यतिबेला जनार्दनले ठण्डा र शान्त भएर कुराकानी गरेको पनि प्रचण्डले बताएका छन्।
'४० वर्षदेखि तपाईंको नेतृत्वमा मैले काम गरेँ। मैले तपाईंलाई नेता मानेँ। आज पनि म तपाईंलाई नेता नै मान्छु। भोलि हामी केही समय फरक भएछौं भने पनि मेरो नेता तपाईं नै हो,' जनार्दनले त्यतिबेला प्रचण्डलाई भनेका थिए।
'अब यति भनेपछि तपाईं किन हिँड्न पर्यो त बसौं सँगै। छलफल गरौं भइ नै हाल्यो। ४० वर्ष पहिलेदेखि पार्टीभित्रका तमाम अन्तरसंघर्षहरू विभिन्न खालका झमेलाहरूमा तपाईंलाई बचाउन मैले गरेका मेहनत पनि मैले पनि सम्झेको छु, तपाईंले पनि सम्झिराख्नुभएकै होला,' जबाफमा प्रचण्डले भनेका थिए।
जनार्दनलाई पार्टीबाट कसले पहिल्यैदेखि निकाल्न चाहेका थिए भन्ने कुरा पनि सुनाएको प्रचण्डले बताए।
'तपाईंका कतिपय कुरामा मैले पनि बिमति र आलोचना पनि गर्थेँ। तर पनि म तपाईंलाई माया गर्थेँ। तपाईंलाई प्रोत्साहित गर्थेँ। शान्ति मन्त्री, गृह मन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री पार्टी नेतृत्वको इच्छाभन्दा त बाहिर भएका होइनन्। तपाईं अहिले प्रचण्डसँग लड्ने हैसियत कसले प्रदान गर्यो भन्दा इतिहास गवाह छ,' उनले भने।
त्यति भन्दा जनार्दनले आफ्नो कुरालाई अस्वीकार नगरेको प्रचण्डले बताए।
जबाफमा जनार्दनले आफू केही समय बाहिर बसेर गल्ती कसको हो भन्ने विषयमा समीक्षा गर्ने बताएका थिए। पछि दुवैलाई एक अर्काको आवश्यकता महसुस भए फेरि भेट हुने उनले बताएका थिए।
'तपाईंलाई पनि मसँग हैरान पार्यो भन्ने भएकै छ एक दुई वर्षदेखि, मलाई पनि किन पेल्न खोजेको भन्ने परेको छ। मेरो गल्ती हो कि तपाईंको हो। अहिले टुंगिने भएन। बरू केही समय बाहिर बसिदिएँ भने मैले मेरो गल्ती कहाँ कहाँ हो भनेर अलग ढंगले समीक्षा गर्ने समय हुन्छ। तपाईंलाई पनि प्रभावकर आवश्यक रहेछ भन्ने महसुस भयो भने त फेरि केही समयपछि त भेट भइहाल्छ। मेरो नेता तपाईं नै हो,' जनार्दनले भनेका थिए।
आफूसँगको भेटमा गरेका कुरा जनार्दनले अन्यत्र भनेका कुरासँग मेल नखाने पनि प्रचण्डले बताए।
'तर मसँग भनेका यी कुराहरू उहाँले गम्भीर ढंगले राखेको भएर म कमरेड प्रभाकरलाई यहीँबाट भन्न चाहन्छु। तपाईं फर्कनुस्। एकता घोषणा सभामा आउनुस्। मेरो अपिललाई हल्का ढंगले नठानिदिनुस्,' प्रचण्डले महाधिवेशन आयोजक समितिको पूर्ण बैठकबाट भने।
एकताको बाटोमा ल्याउनका लागि प्रेरित गर्न अरू नेताहरूसँग पनि प्रचण्डले अपिल गरे।
उनी पुनः फर्केर आउनेमा भने प्रचण्ड विश्वस्त सुनिए।
'भोलि नभए पर्सी, पर्सी नआए अर्को दिन उहाँ आउनै पर्छ। इतिहासले उहाँलाई जसरी पनि धकेलेर यहाँ ल्याइपुर्याउँछ,' उनले भने।
यो पनिः 'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?