डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी अमेरिकाको न्यूयोर्क सहरका मेयर निर्वाचित भएका छन्।
यो जितसँगै उनले एक साथ तीनवटा इतिहास रचेका छन्।
पहिलो, ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुन्।
दोस्रो, उनी न्यूयोर्कका पहिलो मुस्लिम मेयर हुन्।
र तेस्रो, उनी न्यूयोर्कको मेयर हुन लागेका पहिलो दक्षिण एसियाली मूलका नागरिक हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार ममदानीको जितपछि उनका समर्थक सडकमा नाचगान गर्दै विजय उत्सव मनाइरहेका छन्। उनीहरू 'जोहरान, जोहरान, जोहरान' भन्दै खुसीले नाराबाजी गरिरहेका छन्। सँगसँगै, उत्साहित मुद्रामा एकअर्कालाई बधाई दिइरहेका छन्।
मेयरको मुख्य प्रतिस्पर्धा जोहरान ममदानी र राज्यका पूर्वगभर्नर एन्ड्र्यु कुवोबीच भएको थियो। डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग पराजित भएपछि कुवो स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए।
त्यस्तै, रिपब्लिकन पार्टीबाट कर्टिस स्लिभा पनि उम्मेदवार बनेका थिए। स्लिभाले पराजय स्वीकार गर्दै ममदानीलाई शुभकामना दिइसकेका छन्।
जित सुनिश्चित भएपछि ममदानीले समर्थकहरूसँग विजय समारोहमा भाग लिँदै आफ्ना अभिभावक र पत्नीलाई धन्यवाद व्यक्त गरेका छन्।
'एउटा राजनीतिक वंशलाई उखेल्न हामी सफल भयौं,' ममदानीले मञ्चबाट भने, 'आज म जे छु, त्यो तपाईंहरूले बनाइदिनुभएको हो।'
पत्नी रमा दुवाजीप्रति भावुक हुँदै उनले भने, 'खुसीको यो क्षणमा र हरेक क्षणमा म सधैं तिमीलाई आफूसँग चाहन्छु।'
आधा घन्टाको भाषणमा ममदानीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि कटाक्ष गरे। उनले भने, 'जसले मलाई सफल बनाउन सक्छन्, उनीहरू नै मलाई पराजित गर्न पनि सक्छन्।'
ट्रम्पले चुनावअघि ममदानीलाई मत नदिन अपिल गरेका थिए।
ममदानीले निःशुल्क बस सेवा, शिशु स्याहार केन्द्र र बढ्दो महँगी नियन्त्रण लगायत आफ्ना सबै चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
को हुन् जोहरान ममदानी?
जोहरान क्वामे ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको हो।
उनका बुबा प्रख्यात विद्वान महमूद ममदानी हुन् भने आमा चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर हुन्।
उनका बुबाले घानाका प्रथम प्रधानमन्त्री क्वामे एन्क्रुमाहको नाममा जोहरानको नामसँगै 'क्वामे' थपेका थिए।
कम्पालामा बाल्यकाल बिताएपछि पाँच वर्ष उमेरमा उनी दक्षिण अफ्रिकाको केपटाउन सरे। त्यहाँ उनले सन् १८४८ मा स्थापना भएको दक्षिण अफ्रिकाको सबभन्दा पुरानो विद्यालय सेन्ट जर्ज ग्रामर स्कुलमा प्रारम्भिक शिक्षा लिए।
सात वर्ष उमेरमा उनी परिवारसहित अमेरिकाको न्यूयोर्क सरे।
उनले ब्रङ्क्स हाइस्कुल अफ साइन्सबाट माध्यमिक शिक्षा पूरा गरे र सन् २०१४ मा बोडोइन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक डिग्री लिए।
सन् २०१८ मा उनी अमेरिकी नागरिक बने।
राजनीतिक यात्रा
सक्रिय राजनीतिमा आउनुअघि ममदानी न्यूयोर्कको क्वीन्समा 'फोरक्लोजर काउन्सलर' (घर जफत हुने प्रक्रियामा परेका निम्न आयको परिवारका सल्लाहकार) का रूपमा काम गर्थे।
त्यस क्रममा उनले महसुस गरे, ती परिवारका समस्या केवल आर्थिक नभई नीति-नियमसँग पनि जोडिएका छन्। यही बुझाइले उनलाई नीति निर्माणमा प्रभाव पार्ने उद्देश्यसहित राजनीतिमा प्रवेश गर्न प्रेरित गर्यो।
सन् २०२० मा उनले पहिलो पटक न्यूयोर्क एसेम्बलीमा डेमोक्रेटिक सोसलिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए र पहिलो प्रयासमै विजयी भए।
त्यसपछि उनी न्यूयोर्क स्टेट एसेम्बलीमा पहिलो दक्षिण एसियाली र पहिलो सोसलिस्ट प्रतिनिधि बने।
मेयरमा उनका प्रतिद्वन्द्वी ६७ वर्षीय कुवोले यौन दुर्व्यवहारको आरोपपछि सन् २०२१ मा पदबाट राजीनामा दिएका थिए। उनी राजनीतिक पुनरागमनको प्रयासमा थिए।
जितपछि ममदानीले भने, 'आजको रात हामीले इतिहास रचेका छौं। नेल्सन मन्डेलाले भनेका थिए— यो तबसम्म असम्भव देखिन्छ, जबसम्म पूरा हुँदैन। साथीहरू, हामीले यो सम्भव बनायौं। म तपाईंहरूको न्यूयोर्क सिटीको मेयर हुनेछु।'
***