नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादवले मुलुक कठिन अवस्थामा हुँदा नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले निकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
बुधबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले जेनजी प्रदर्शनपछि कांग्रेस र एमाले निष्क्रिय हुँदा प्रचण्ड र माधव नेपालले निकास दिनेगरी भूमिका खेलेको बताएका हुन्।
उनले दुई नेताहरू पार्टीका मात्र नभई देशकै नेता बन्नुपर्ने बताए।
'अब उहाँहरूसमक्ष ठूलो जिम्मेवारी छ। पार्टीको मात्रै होइन देशकै नेता बन्ने हो उहाँहरू,' उनले भने।
उनले कम्युनिस्ट पार्टीहरूको टुटफुटको शृंखला अन्त्य हुने पनि विश्वास व्यक्त गरेका छन्।
'१० भाइ खडा भएको छ। अब उहाँहरूसमक्ष ऐतिहासिक जिम्मेवारी छ। कम्युनिस्ट पार्टी विभाजन को मूल कारण आन्तरिक लोकतन्त्रको अभावले हो। अब यो कम्युनिस्ट पार्टीले त्यसको अन्त्य गर्नेछ,' उनले भने।
उनले माओवाद छाडेर मार्क्सवाद र लेनिनवाद अनुसरण गरेकोमा धन्यवाद पनि दिए।
यद्यपि मार्क्सवादले भनेजस्तै नेतृत्वले आफूलाई बदल्नुपर्ने बताएका छन्।