राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।
समितिको बैठक बुधबार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगे पनि विषयवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।
गणपूरक संख्या पुगे पनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिइन्।
जेन–जी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उनको भनाइ छ।
उनका अनुसार बुधबारको बैठकमा विधेयकलाई कसरी अगाडि बढाउने, आर्थिक २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो।
संघीय एकाई बीचको अन्तरसम्बन्धअनुसार सुदूरपश्चिम प्रदेशमा छलफल गर्ने विषयमा सदस्यहरूको सुझाव दिने विषयवस्तु पनि कार्यसूचीमा रहेको उनले जानकारी दिइन्।
उनका अनुसार समितिले सुदूरपश्चिमको प्रदेश सभासँग र त्यहाँको स्थानीय तहसँग विधि निर्माणको प्रक्रिया र कानूनको कार्यान्वयन तथा निर्माणको सन्दर्भमा समितिले छलफल गर्नेछ। यी सबै विषयवस्तुहरूमा अब कात्तिक २३ गते बस्ने बैठकमा छलफल गर्ने उनको भनाइ छ।
उनले भनिन्, ‘बैठकमा हाम्रा विषयवस्तु चाहिँ ३/४ वटा थिए। एउटा चाहिँ हामी विधेयकमाथि नै छलफल र विषयवस्तुलाई कसरी अगाडि बढाउने भन्ने विषयवस्तु एउटा थियो। अर्को, हाम्रो यो संघीय एकाई बीचको अन्तरसम्बन्धको विषयवस्तु, हाम्रो यो कार्यक्षेत्रमा नै रहेको विषयमा अब हामीले सुदूरपश्चिमको प्रदेश सभासँग र त्यहाँको स्थानीय तहसँग एउटा, दुई वटा कति वटा तहसँग सम्भव हुन्छ। त्यो ठाउँमा चाहिँ उहाँहरूले विधि निर्माणको प्रकृया, उहाँहरूले कानुन कसरी छलफल गर्नुभएको छ, विधेयकहरूमाथि छलफल गर्ने समितिसँग छलफल गर्ने प्रदेशमा र स्थानीय तहरूमा पनि गर्ने हाम्रो उद्देश्य छ। त्यो चाहिँ हामी सुदूरपश्चिम जाने योजना हो।’
उनले अगाडि भनिन्, ‘त्यो योजनाको बारेमा माननीयज्यूहरूको राय सल्लाह लिनलाई हामीले विषयवस्तु राखेका थियौँ। अर्को चाहिँ हाम्रो वार्षिक प्रतिवेदन, यो २०८१/०८२ को जुन वार्षिक प्रतिवेदन छ। यो वार्षिक प्रतिवेदन पारित गर्ने विषयवस्तु रहेको छ। अहिले समसामयिक अवस्था, अहिलेको परिवर्तित जुन भदौ २३ र २४ पछाडिको अवस्थामा प्रतिनिधि सभा नरहेको र राष्ट्रिय सभा रहेको अवस्थामा संविधानले दिएको अधिकार र संविधानमा भएको व्यवस्था अनुरूप र हाम्रो नियमावलीले गरेको व्यवस्था अनुरूप हाम्रो जुन कार्यदेश छ, त्यो अन्तर्गत समितिले गर्नुपर्ने आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने विषयवस्तुहरूमा छलफल गर्न आज हामीले खोजेका थियौँ। आज हाम्रो कोरम पनि पुगेको थियो। तर पहिलो बैठक चाहिँ अहिले परिवर्तित अवस्थामा सबै माननीय सदस्यको उपस्थिति भएर नै गरौँ भन्ने हिसाबले हामीले अर्को बैठक चाहिँ यही कात्तिकको २३ गते बस्ने गरी आजको बैठकलाई स्थगित गरेका छौँ।’
उनले २३ गते राष्ट्रिय सभा अध्यक्षसँग नारायण प्रसाद दाहालसँग पनि छलफल गर्ने योजना रहेको बताइन्।
सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उनको भनाइ छ।
बैठकमा चलचित्र सम्बन्धी विधेयक छलफल गर्ने गरी तयारी रहेको उनले जानकारी दिइन्। – न्युज एजेन्सी नेपाल