नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गरेका छन्।
बालुवाटारस्थित विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग कुराकानी गरेका हुन्।
छलफलमा सहभागी रहेका रूपन्देही सभापति रामकृष्ण खाणले महाधिवेशन कार्यतालिकाकै विषयमा कुराकानीकेन्द्रित रहेको सेतोपाटीलाई बताए।
‘उहाँले सम्पर्क कार्यालयमा केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गर्नुभएको हो,’ खाणले सेतोपाटीसँग भने, ‘पुसभित्रै नियमित महाधिवेशन हुनुपर्छ भन्ने उहाँको धारणा छ। हामी पनि त्यही चाहन्छौं।’
खाणका अनुसार पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता कोइरालाले जोड दिएका हुन्।
‘उहाँ पनि पुसभित्रै सबै तहको अधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका आउनुपर्छ भन्नेमा हुनु हुँदो रहेछ, हामी पनि सातै तहको अधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भन्नेमा छौं,’ उनले भने।
छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङलगायत थिए। साथै जिल्ला सभापतिहरू मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी रहेको एक नेताले जानकारी दिए।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू त्यो कार्यतालिकामा सहमत देखिएका छैनन् भने वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
त्यसैले असोज २८ देखि जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको सर्वसम्मत कार्यतालिका आउन सकेको छैन। आज पनि केन्द्रीय समिति बैठक बस्दैछ।
केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका जारी गर्न नसक्दा नियमित महाधिवेशन पक्षधर, विशेष महाधिवेशन पक्षधर र नेताहरूको अगुवाइमा अनौपचारिक छलफलहरू भइरहेका छन्।