भदौ २३ र २४ को जेनजी आन्दोलन दुई महिना पूरा भएको छ। यसबीच राजनीतिक घटनाक्रम तीव्र रूपमा विकास भइरहेका छन्। फागुन २१ गतेलाई घोषित निर्वाचन सम्पन्न गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायतले राजनीतिक दल र जेनजी समूहहरूसँग संवाद गरिरहेका छन्।
त्यस्तै, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच एक चरणको औपचारिक संवाद भइसकेको छ भने हरेक दलले आ-आफ्नो तर्फबाट जेनजी समूहहरूसँग अनौपचारिक संवाद पनि अघि बढाएका छन्।
यसै सन्दर्भमा हामीले सरकार र राजनीतिक दलहरूसँग संवादमा संलग्न रहँदै आएका जेनजी प्रतिनिधि रिजन राना मगरसँग दल खोल्ने तयारी भए-नभएको, आउँदो चुनावमा भाग लिने-नलिनेबारे कुराकानी गरेका छौं।
तपाईं अहिले कुन समूहमा आबद्ध हुनुहुन्छ? त्यसको उद्देश्य के हो?
म अहिले जेनजी मुभमेन्ट अलायन्समा आबद्ध छु। यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशितामा सहमत हुने सबै खाले समूह एकीकृत गर्ने साझा मञ्च हो।
यसमा अहिलेसम्म विभिन्न १४ समूह आबद्ध भइसकेका छन्। हामी सबै जिल्लामा संगठन विस्तार गरी स्थानीय स्तरमा सम्पर्क र समन्वयका काम गरिरहेका छौं। प्रदेशगत रूपमा पनि सम्पर्क र समन्वय अघि बढाउन प्रदेश संयोजकहरूसँग मिलेर काम गरिरहेका छौं।
के यो अलायन्सले आफ्ना प्रदेश संयोजकहरू तोकिसकेको हो?
हामीले आफ्नै प्रदेश संयोजक त तोकेका छैनौं। तर समान मुद्दा र समान उद्देश्य भएका उपार्जुन चाम्लिङ सहितका प्रदेश संयोजकहरू हुनुहुन्छ, अहिलेलाई हामी उहाँहरूसँगै संयोजन गरिरहेका छौं।
तपाईं वा तपाईंको अलायन्सले फागुन २१ को निर्वाचनमा भाग लिन्छ कि लिँदैन?
हामीले जेनजी मुभमेन्ट अलायन्सलाई राजनीतिक पार्टीका रूपमा दर्ता गरेर चुनावमा भाग लिने निर्णय गरिसकेका छैनौं। तर राम्रा उम्मेदवारलाई समर्थन गर्ने, जनतालाई मतदानमा सक्रियतापूर्वक भाग लिन लगाउने लगायतका जनचेतनामूलक काममा केन्द्रित हुने हाम्रो तयारी छ।
चुनाव अगाडि सरकारले गर्नुपर्ने जुन अत्यावश्यक काम छन्, त्यसमा पनि हामी काम गरिरहेका छौं। अहिलेलाई भन्दा, चुनावअघि हुनुपर्ने कामलाई प्राथमिकतामा राखेर हामीले आफ्ना गतिविधि अघि बढाइरहेका छौं।
व्यक्तिगत रूपमा तपाईं चुनावमा लड्नु हुन्छ कि हुन्न? केही निर्णय गरिसक्नुभयो?
यसपालिको चुनावमा म व्यक्तिगत रूपमा सहभागी हुँदिनँ। तर केही साथीहरू चुनावमा उठ्ने तयारीमा हुनुहुन्छ। उहाँहरू उम्मेदवार बन्नुभयो भने समर्थन गर्छौं। एक हिसाबले यो चुनावमा सबैतिरबाट राम्रा मानिसको प्रतिनिधित्व सुनिश्चित होस्, सबै उत्पीडित समुदायको पूर्ण समानुपातिक समावेशिता होस् भन्ने हिसाबले हामी तयारी गरिरहेका छौं।
भविष्यमा पूर्णकालीन राजनीतिमा लाग्ने योजना छ कि अरू केही सोच्नुभएको छ?
म तीन-चार वर्षदेखि निरन्तर सामाजिक न्यायको आन्दोलनमा लागिरहेको छु। सामाजिक न्यायको आन्दोलनलाई राजनीतिक दृष्टिकोणबाट कसरी समाधान गर्नेमा मेरो ध्यान केन्द्रित हुनेछ।
सामाजिक-राजनीतिक सँगसँगै सांस्कृतिक असफलताले संस्थागत गरेको गरिबी, आर्थिक विपन्नता र शोषण अन्त्य नगरी समतामूलक समाज निर्माण हुँदैन भन्ने मेरो बुझाइ छ। आगामी दिनमा पनि यही उद्देश्यमा लाग्नेछु।
सामाजिक न्यायको आन्दोलनलाई अघि बढाउनुका साथै आफ्नो अध्ययनलाई निरन्तरता दिने पनि मेरो योजना छ।
जेनजी आन्दोलन भएको दुई महिना पुग्यो। सरकार गठन भएको पनि दुई महिना पुग्न लाग्यो। यसबीच सरकारको काम– कारबाही कस्तो लागिरहेको छ?
सरकारको काम-कारबाही जुन गतिले हुनुपर्थ्यो, त्यो गतिमा भइरहेको छैन। यसमा हाम्रो असन्तुष्टि छ। तर सरकारले काम गर्न सक्ने ढंगले परिस्थिति निर्माण गर्नु हामी आन्दोलनकारीहरूकै जिम्मेवारी हो।
सरकारलाई सहिद परिवार र आन्दोलनका घाइतेहरूका सवालमा उहाँहरूलाई उचित क्षतिपूर्ति दिन, उहाँहरूको योगदानलाई ऐतिहासिक रूपमा स्मरण गर्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नाको लागि सरकारलाई सचेततापूर्वक खबरदारी गर्ने तहमा पनि हामी काम गरिरहेका छौं।
समग्रमा भन्नुपर्दा, हामी गुण र दोषका आधारमा आलोचना गर्दै सरकारले राम्रो ढंगले काम गर्न सकोस् भन्नेमा सचेत छौं। यो नागरिक सरकार भएकाले हामी आन्दोलनकारी यसका ब्याक-अप हौं। त्यसैले सरकारलाई काम गर्ने वातावरण निर्माण गर्न पनि हामी लागिपरेका छौं।
पछिल्लो समय राजनीतिक दलले थालेका गतिविधिलाई कसरी हेरिरहनुभएको छ?
हरेक आन्दोलनले एक खालको राजनीतिक उथलपुथल त ल्याउँछ नै। अहिलेको आन्दोलनले पनि त्यस्तै परिस्थिति बन्नु स्वाभाविक हो।
यही आन्दोलनका कारण हाम्रा राजनीतिक पार्टीहरू सुध्रिने स्थिति बन्छ र उनीहरू यसका लागि तयार हुन्छन् भन्ने हाम्रो विश्वास छ। उहाँहरू सुध्रिएर आउनुभयो भने अबको चुनावमा दलका उम्मेदवारहरूले समाजबाट समर्थन पाउन सक्छन्। नसुध्रिने हो भने उहाँहरूलाई बहिस्कार गर्ने र उहाँहरूको वैधता अन्त्य गर्ने संकल्प पनि यो आन्दोलनले लिएको छ।
त्यसैले राजनीतिक दलहरूलाई सबभन्दा पहिला आन्तरिक लोकतन्त्र स्थापित गरेर जनताको माझमा परीक्षणका लागि जान हामी आग्रह गर्छौं।
अहिले कतिपय दलले सरकारविरूद्ध गतिविधिहरू गरिरहेका छन्। आजसम्म प्राप्त भएका उपलब्धिलाई कुठाराघात गर्ने तरिकाले आफ्ना विषयवस्तु राखिरहेका छन्। हामी उहाँहरूलाई त्यसो नगर्न खबरदारी गर्न चाहन्छौं।
अर्को कुरा, यो संक्रमणकालीन समयमा आफ्नो स्वार्थको गोटी चलाउने काम कुनै पनि दलले नगरोस् भनेर हामी चेतावनी पनि दिन्छौं।
समाजमा भएका समस्या समाधान गर्दै सुशासन र भ्रष्टाचार विरूद्धको अभियानलाई संगठित र संस्थागत गर्नुपर्ने अभिभारा सबै दलको हो। हामी आन्दोलनकारीहरूको पनि हो। त्यसमा हातेमालो गर्न हामी तयार छौं।
त्यो भन्दा ठूलो अभिभारा चाहिँ आन्दोलनमा सहादत प्राप्त गर्नुहुने र घाइते हुनुभएका साथीहरूले जुन संकल्पका लागि आन्दोलन गर्नुभयो, त्यो संकल्प सबै मिलेर पूरा गरौं भन्ने हाम्रो आग्रह छ।
एमालेले अहिलेको सरकारले चुनाव गराउन सक्दैन भन्ने खालका कुरा गरिरहेको छ। यस विषयमा के भन्न चाहनुहुन्छ?
राजनीतिक दल भनेको सार्वजनिक संस्था हो। एमाले हाम्रो पार्टी नभए पनि सार्वजनिक संस्था भएकाले समाजप्रति जबाफदेही भएर जिम्मेवारीपूर्वक काम गर्नुहुन्छ भन्ने हाम्रो आग्रह छ।
तर जसरी नाबालकदेखि नयाँ पुस्ताका आन्दोलनकारीमाथि क्रूरतापूर्वक संहार गरियो, उहाँहरूले त्यसको नैतिक जिम्मेवारीसमेत लिनुभएको छैन। क्षमा माग्ने त टाढाको कुरा, दु:खसमेत प्रकट गर्नुभएको छैन। उहाँहरूको यस्तो रवैयाप्रति हामी खेद प्रकट गर्न चाहन्छौं।
यति हुँदाहुँदै हामी उहाँहरूलाई के भन्न चाहन्छौं भने, अहिले सरकार चुनाव गराउन इमानदारीपूर्वक लागिपरेको छ। सबै तयारीहरू गरिरहेको छ। यसका लागि खबरदारी गर्न हामी उभिएका छौं। हामी उहाँहरूलाई ढुक्क भएर चुनावको तयारीमा लाग्न अनुरोध गर्छौं।
कतिपय राजनीतिक दलहरू फुट्ने-जुट्ने पनि भइरहेका छन्। यसमा तपाईंको धारणा के छ?
यो उहाँहरूको दलभित्रको समस्या हो। आन्तरिक लोकतन्त्रलाई जसरी उहाँहरूले कुण्ठित गर्नुभएको थियो, त्यसैको प्रस्फुटन हो। त्यसले जनतामा कुनै उत्साह ल्याउने काम गरेको छैन र गर्दैन पनि।
उहाँहरू झन् झन् असान्दर्भिकतातिर लम्किरहनुभएको छ। तथापि हामी उहाँहरूलाई पनि शुभकामना दिन चाहन्छौं। सकेसम्म तपाईंहरू सुध्रिनुस्। जनताले उहाँहरूलाई अनुमोदन गर्छ कि गर्दैन, त्यो हेर्न पनि चुनावको तयारी गर्नुस् भन्ने हाम्रो आग्रह छ।
यसबीच नेपालको खास समस्या के हो भन्ने लाग्यो?
यहाँको खास समस्या भनेको सामाजिक, राजनीतिक र सांस्कृतिक असफलताले संस्थागत गरेका असमानताहरू हुन्।
एउटा राजनीतिक सम्भ्रान्त वर्ग र आमनेपाली नागरिकबीचको खाडल, सत्ता र जनताबीचको विभेद, सामाजिक, जातीय, लैंगिक, भाषिक र धार्मिक विभेद नै हाम्रा मूल समस्या हुन्। ती सबै विभेद अन्त्य नगर्ने हो भने हामी सधैं सधैं समस्यामा अल्झिरहन्छौं।
हामी आमनेपाली नागरिकसँग जिम्मेवार भएर संक्रमणकाललाई सहजतापूर्वक अगाडि लैजान, अनावश्यक रूपमा टिकाटिप्पणी नगर्न र आफ्नो अधिकारका लागि सचेततापूर्वक आवाज उठाइराख्न अनुरोध गर्न चाहन्छौं।
यसलाई कुनै एक पुस्ताको मात्र आन्दोलन नभएर समग्र नेपाली जनताको जनआन्दोलनका रूपमा स्थापित गर्ने गरी यसका उपलब्धि रक्षा गरौं भन्ने हाम्रो आह्वान छ।
***