सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका छन्।
यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने छन् भने सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन्।
उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ। चुनाव चिह्न बिजुलीको चिम राख्न प्रस्ताव गर्ने सहमति पनि भएको छ।
रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ पनि यो पार्टीमा सहभागी हुने कुरा अघि बढेको थियो।
कुलमान, सुमना, हामी नेपालका संस्थापक सुदन गुरूङ लगायतले एउटै पार्टी निर्माण गरेर अघि बढ्नेबारे छलफल सुरू गरेका थिए।
लामो छलफलपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका छन्। सेतोपाटीसँगको कुराकानीमा सुमनाले तत्कालका लागि छुट्टाछुट्टै अघि बढ्ने निर्णय भएको पुष्टि गरिन्।
'के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन,' सुमनाले भनिन्, 'तर अहिले हि ह्याज मूभ अहेड। आइ विस हिम अल द बेस्ट। (उहाँ अघि बढिसक्नुभयो। मेरो शुभकामना छ।)'
सुमनाले चुनाव बेला फेरि सँगै अघि बढ्ने विषयमा छलफल हुन सक्ने बताइन्।
'हामीलाई निर्वाचन बेला अझै 'अलायन्स' गरेर जाने मौका छ। सबै मानिस एक ठाउँमा आउने अवस्था बन्न सक्छ,' उनले भनिन्, 'मैले अहिले देखेको भनेको प्रस्ट भएर अघि बढ्नुपर्छ तर चुनावकेन्द्रित भएर फेरि कुराकानी हुनसक्छ।'
सुमना निकट स्रोतका अनुसार कुलमानलाई अध्यक्ष मान्न उनी तयार भएकी थिइन् तर कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम अघि सारेपछि असनुष्टि जनाइन्।
कुलमानले मन्त्री पदबाट राजीनामा दिनुपर्ने र संगठन निर्माणमा लाग्नुपर्ने पनि सुमना पक्षको माग थियो।
'सुमनाजीले कुलमान घिसिङलाई मिलेर जाऔं, मन्त्री छाडेर आउनुहोस्। तपाईं अध्यक्ष हुनुहोस्। संगठन विस्तारमा जाऔँ भन्नुभएको थियो,' सुमनाका एक सहयोगीले भने, 'तर उहाँले पूर्व सचिवको नेतृत्वमा अघि बढौं भन्नुभयो।'
कुलमानले पूर्वसचिवको नाम अघि सारेपछि सुमनाले यसरी पार्टी खोल्नु सरासर जेनजी आन्दोलनको अवमूल्यन हुने धारणा राखेको ती सहयोगले बताए।
'जेनजी मुभमेन्टपछि बन्न लागेको पार्टी भएकाले जेनजीको नेतृत्व हुनुपर्छ भन्ने कुरा सुरूमा सुमनाजीले राख्नुभएको थियो,' ती सहयोगीले भने, 'तर जेनजीहरू कुलमानको नेतृत्व मान्न तयार भए पनि उहाँले पूर्वसचिवलाई अध्यक्ष बनाएर जान प्रस्ताव गरेपछि जेनजीहरू समेत बिच्किएका छन्।'
यति मात्र होइन, सुमनाले उज्यालो नेपालभन्दा नेपाल विकास दल, नेपाल जनसेवा पार्टी नाम राख्न सुझाव दिएकी थिइन्।
कुलमान भने सुरूदेखि नै उज्यालो नेपाल नाम राख्ने पक्षमा थिए। लोडसेडिङ हटाएको र उज्यालो नेपाल ब्राण्ड रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने उनको भनाइ थियो।
सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने र त्यसले सामूहिकताको भावना ल्याउँदैन भन्दै फरक फरक नाम सुझाव दिएकी थिइन्। चुनाव चिह्न पनि बिजुलीको चिम राख्न नहुनेमा उनको धारणा थियो।
'सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?' उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन्।
***