सहिदका परिवार
भदौ २३ गते जेनजी आन्दोलनमा छोरा गुमाएपछि नरेन्द्र श्रेष्ठ मानसिक रूपले विक्षिप्त छन्।
त्यसयता उनले सार्वजनिक रूपमा कतै बोलेका छैनन्। घरबाहिर पनि त्यति निस्कँदैनन्। अरू सहिद परिवारका सदस्य क्षतिपूर्ति लगायत विषय उठाउँदै विभिन्न निकाय जाँदा पनि नरेन्द्र कतै गएनन्।
'छोराको मृत्युको खबर सुनेदेखि मलाई त संसारै सकिएजस्तो लागिरहेको छ,' उनले मंगलबार सेतोपाटीसँग भने, 'कसैसँग बोल्न मन लाग्दैन। कतै जान मन लाग्दैन। अब बोलेर र कसैलाई आफ्नो कुरा सुनाएर पनि के गर्नू?'
'सरकारलाई आफ्नो कुरा सुनाउन जानुभएन त?'
हाम्रो यो प्रश्नमा नरेन्द्रले भने, 'सरकारलाई पनि के भन्न जानु? त्यहाँ गएर मेरो माग पूरा हुन्छ र? पूरा हुने भए मलाई अरू केही चाहिँदैन, छोरा फिर्ता दिए पुग्छ, दिन सक्छ सरकारले?'
जेनजी आन्दोलनपछि सरकार र राजनीतिक दलका गतिविधि कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले भने, 'सरकारले जे भनेको छ, त्यही गरिरहेको छ। दलहरूले पनि त्यही गरिरहेका होलान्। मलाई कसैको काममा कुनै सहमति वा असहमति छैन।'
सरकार र दलहरूसँग आफ्नो कुनै माग नरहेको बताउँदा बताउँदै पनि नरेन्द्रले यति चाहिँ भने, 'जसका कारण त्यस दिन त्यत्रो ठूलो हत्याकाण्ड भयो, त्यसका जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्यो। सरकारले यत्ति गरिदिए मलाई अरू केही चाहिँदैन। छोराको आत्माले शान्ति पाउँछ।'
भदौ २३ गते नयाँबानेश्वरमा गोली लागेका २३ वर्षीय सुलभराज श्रेष्ठ नरेन्द्रका एक्ला छोरा हुन्। ट्रमा सेन्टरमा उपचार गर्दा गर्दै उनको ज्यान गएको थियो।
सुलभको स्थायी घर नेपालगन्ज उपमहानगरपालिका-१ हो। उनले काठमाडौं इञ्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ पास गरेका थिए।
जेनजी आन्दोलनभन्दा अगाडि उनी नेपालगन्जमै थिए। पढाइ सकेर घर फर्केका उनी भदौ २४ गते इञ्जिनियरिङ लाइसेन्स परीक्षा दिन काठमाडौं आएको उनका आफन्त सुशील क्षत्री बताउँछन्।
'भदौ २४ गते १२ बजे सुलभको इञ्जिनियरिङ लाइसेन्स परीक्षा थियो। त्यही परीक्षा दिन केही दिनअघि मात्र काठमाडौं आएको थियो,' सुशीलले भने, 'त्यत्ति कामले काठमाडौं आउँदा छोराको ज्यान गयो भनेर आमाबुबा अहिलेसम्म शोकमा हुनुहुन्छ।'
सुलभका बुबा नरेन्द्र भेरी इंग्लिस स्कुलका सञ्चालक हुन्। उनले अहिलेसम्म आफूलाई सम्हाल्न सकेका छैनन्। आमा बिना खड्का पनि शोकबाट बाहिर निस्कन सकेकी छैनन्। उनीहरू दुवैले सार्वजनिक रूपमा कहीँ कतै नबोलेको सुशीलले बताए।
हामीसँग पनि नरेन्द्रले त्यति लामो कुरा गरेनन्। छोटो कुराकानीमा छोरालाई सम्झिँदै पटक पटक भावुक भए।
उनी बोल्न सक्ने अवस्था नभएपछि आफन्त सुशीलले नै उनको तर्फबाट जबाफ दिँदै भने, 'जेनजीहरूको प्रदर्शन हुने थाहा पाएपछि सुलभले म पनि जान्छु भनेको थियो। बुबाले नजा त भन्नुभयो, तर आफ्नै उमेरका युवा सडकमा ओर्लेको थाहा पाएपछि सायद ऊ थामिन सकेन।'
उनका अनुसार सुलभ जेहेन्दार विद्यार्थी थिए। खेलकुदमा पनि सक्रिय थिए। उनी बाँके जिल्ला क्रिकेटमा सक्रिय युवा खेलाडीका रूपमा चिनिन्थे।
'जे भयो-भयो। एउटा परिवार पूर्ण रूपमा टुटेको छ, एउटा घरमा अन्धकार छाएको छ,' सुशीलले भने, 'बुढेसकालको सहारा सोचेर जिन्दगी बिताइरहेको दम्पतीको लट्ठी नै भाँचियो। छोरासँग जोडिएका सारा सपना टुटे। त्यही भएर उहाँहरूले आफूलाई सम्हाल्न सक्नुभएको छैन। मानसिक रूपले अहिलेसम्म सामान्य अवस्थामा फर्किन सक्नुभएको छैन।'
उनले अगाडि भने, 'यत्ति कामना गर्न सकिन्छ — सुलभको त्यागले यो देशमा उज्यालो छाइदिए हुन्थ्यो!'
***