सन् २०१९ मा इथियोपियामा भएको ७३७ म्याक्स जेट दुर्घटनामा मृत्यु भएका राष्ट्रसंघका एक वातावरण कर्मचारीको परिवारलाई २ करोड ८० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिर्न अमेरिकी संघीय अदालतले बोइङलाई आदेश दिएको छ।
अफ्रिकी मुलुक इथियोपियामा भएको यो त्यही जहाज दुर्घटना हो, जसले नेपाललाई पनि शोकमा डुबाएको थियो।
यो २०७५ फागुन २६ गतेको घटना हो। इथियोपियाको आदिस आबाबाबाट केन्याको नैरोबी गइरहेको जहाज दुर्घटना हुँदा गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको पनि निधन भएको थियो। उनी विश्व खाद्य कार्यक्रम इथियोपिया कार्यरत थिइन्।
त्यही दुर्घटनामा ज्यान गुमाएकी ३२ वर्षीया भारतीय नागरिक शिखा गर्गको परिवारले हालेको मुद्दामा अमेरिकी संघीय अदालतले बोइङलाई क्षतिपूर्ति तिराउने फैसला गरेको हो। ३२ वर्षीया गर्ग पनि राष्ट्रसंघीय कर्मचारी थिइन्।
एकता र गर्ग राष्ट्रसंघको एउटै कार्यक्रममा भाग लिन केन्या जाँदै थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बोइङ र गर्ग परिवारबीच बुधबार नै सम्झौता भएको छ। यस अनुसार क्षतिपूर्ति रकम र २६ प्रतिशत ब्याजसहित बोइङले कुल ३ करोड ५८ लाख ५० हजार डलर दिने भएको छ। बोइङले यो फैसलामा पुनरावेदन नगर्ने पनि जनाएको छ।
त्यही दुर्घटनामा परेकी एकताले काठमाडौंको निलगिरी स्कुलबाट एसएलसी पास गरेकी थिइन्। त्यसपछि आइएससी सकेर बेलायत पढ्न गइन् र पढाइ सकेर नेपाल फर्किइन्।
२०७२ सालको भुइँचालोपछि उनले विश्व खाद्य कार्यक्रममा लजिस्टिक अफिसरका रूपमा काम सुरू गरेकी थिइन्।
तीन वर्ष विश्व खाद्य कार्यक्रममा काम गरेपछि उनले राष्ट्रसंघमा नाम निकालिन्। त्यसै क्रममा राष्ट्रसंघीय वातावरण सभामा भाग लिन इथियोपियाबाट केन्या जाँदै गर्दा इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटनामा परेर एकताको निधन भएको थियो।
जहाजमा एकतासहित ३३ मुलुकका १५७ जना यात्रुको मृत्यु भएको थियो। जहाजमा १४९ जना यात्रु र चालक दलका सदस्य ८ जना थिए।
यही मोडलको जहाज सन् २०१८ मा इन्डोनेसियामा दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएको थियो। ती दुईवटै दुर्घटनामा परेकाका परिवारले दर्जनौं मुद्दा दायर गरेका छन्। तीमध्ये गर्गको परिवारले दिएको मुद्दामा अमेरिकाको संघीय अदालतबाट फैसला आएको हो।
उनको परिवारले ७३७ म्याक्स विमान त्रुटिपूर्ण रूपमा डिजाइन गरिएको र बोइङले यात्रुहरू र सर्वसाधारणलाई यसका खतराबारे चेतावनी दिन असफल भएको आरोप लगाएका थिए। दुवै दुर्घटनामा एक स्वचालित उडान नियन्त्रण प्रणालीको भूमिका थियो।
फैसलापछि अमेरिकी विमान निर्माताले एक विज्ञप्ति निकाल्दै दुवै दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबैप्रति गहिरो दुःख व्यक्त गरेको छ।
बोइङले अधिकांश दाबीहरू मिलापत्रमार्फत समाधान भइसकेको भए पनि परिवारहरूलाई अदालतमा क्षतिपूर्तिको मुद्दा चलाउने अधिकार रहेको र बोइङले यसको सम्मान गर्छ भनेको छ।