एक महिनादेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न नेताहरूले उठाएका सवालमाथि बिहीबार महामन्त्री गगन थापाले जबाफ फर्काएका छन्।
सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले करिब एक घन्टा लामो भाषण दिँदै अधिवेशनदेखि क्रियाशील सदस्यताका सवालमा उठेका प्रश्नको जबाफ दिएका हुन्।
'इच्छा छ भने महाधिवेशन गर्न सकिन्छ। यहाँ क्रियाशील सदस्यताको कुरा पनि आयो। भन्दाभन्दै केहीले अलि बढी पनि भन्नुभयो, महामन्त्रीको जिम्मा हो भनेर। विधान पढ्नुभएको छैन, पढ्नू है,' उनले भने।
उनले अगाडि भने, 'क्रियाशील सदस्यता व्यवस्थापन समितिको काम सूचना दिने हो, फारम दिने हो, त्यो नदिएको भए भन्नू। ८ लाख ८० हजार फारम तीन वर्षअघि नै जिल्ला पठाएको हो। अहिलेसम्म त्यो फारम नखोल्ने जिल्ला सभापतिले महामन्त्रीले काम गरेन भनेर भाषण गरेको सुनेँ। यो महामन्त्रीले होइन जिल्ला र क्षेत्रले गर्ने काम हो। हामीले त अभिलेख राख्ने काम मात्रै हो।'
महामन्त्री थापाले नियमित महाधिवेशन गरौंभन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने घोषणा पनि गरे। यही केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गर्ने र त्यसले नयाँ सभापति छान्ने उनको भनाइ थियो।
'चुनावका लागि पार्टीको यो पंक्ति (केन्द्रीय समिति) परिचालित भएर मात्र हुन्छ भन्ने मलाई लाग्दै लाग्दैन। चुनावमा त्यसरी गएर अर्थ पनि हुँदैन,' थापाले भने, 'कतिपय साथीहरूले सभापति (शेरबहादुर देउवा) आउनुस्, यसलाई जोगाउनुस् भन्दै हुनुहुन्छ। जसले अहिले सभापतिलाई तान्दै हुनुहुन्छ, त्यो सभापतिको सबभन्दा अहित चाहने मान्छे हो।'
'सभापतिले छोडिसक्नुभयो, अब हामीले सम्हाल्ने हो,' उनले अगाडि भने, 'सभापतिले छाडेको ठाउँमा विशेष महाधिवेशनबाट सभापति ल्याएर सम्हाल्ने हो। नियमित महाधिवेशन गरौं भनेको कोही मान्नुभएन। त्यसो भए विशेष महाधिवेशन गरेर त्यसबाट सभापति ल्याउनुपर्यो। त्यसले संक्रमणकाल चलाउँछ अनि नियमित महाधिवेशन गराउँछ।'
यो काम गर्न सबभन्दा सजिलो सभापतिले नै बनाइसकेको उल्लेख गर्दै थापाले भने, 'सभापतिले सजिलो बनाइदिएको ठाउँमा मेरा आदरणीय दाइहरूले असजिलो नबनाइदिनुहोला।'
कांग्रेसका १४औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।
महामन्त्री थापाले अहिले मथिंगल खलबलिएका बेला भएकाले पार्टीको महाधिवेशन गरेर व्यापक रूपान्तरणसहित अघि बढ्नुपर्ने बताएका छन्।
'मथिंगल खलबलिएको बेला छ, नागरिकले सरासर गएर मत दिँदैनन्। त्यसैले ठूलो जोखिम उठाएर भए पनि परिवर्तन गर्नैपर्छ र नागरिकलाई हामी यो परिस्थिति सम्हालेर लैजान्छौं भनेर विश्वास दिलाउनुपर्छ,' उनले भने।
उनले चुनावअघि महाधिवेशन गर्नैपर्ने र त्यो महाधिवेशनले पार्टीलाई व्यापक सुधार गर्ने बताए।
'हामी महाधिवेशनबाट प्रायश्चित गर्छौं, पार्टी कसरी अघि बढ्छ पनि भन्छौं,' उनले भने, 'यी यी कुरामा हामी चुक्यौं, तपाईंहरू रिसाउनुभएको छ, अब सुधार गरेर जान्छौं भनेर महाधिवेशनबाट भन्नुपर्छ।'
उनले जेनजी पुस्तालाई पनि भरोसा लाग्ने गरी पार्टीमा सुधार आवश्यक रहेको बताए।
महामन्त्री थापाले राष्ट्रिय नवीकरण नीति अभियान घोषणा गरेर जानुपर्नेमा पनि जोड दिए र भने, 'राजनीति, लोकतन्त्रमा निखारता ल्याउनुपर्छ। घरमा जस्तै पार्टीमा पनि चार पुस्ताका अनुभव जोड्नुपर्छ।'
उनले चुनावमा जानुअघि के के काम गर्ने भनेर पहिले नै भन्नुपर्ने पनि बताए। त्यो काम पनि महाधिवेशनबाट मात्रै गर्न सकिने उनको भनाइ थियो।
महामन्त्री थापाले आफ्नो भाषण क्रममा विभिन्न समयमा आफूले गरेका गल्ती पनि सुनाएका थिए।