बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का नेता नितिश कुमारले आज बुधबार राजीनामा दिँदै छन्।
उनको राजीनामासँगै विधानसभा चुनावमा दुईतिहाइ बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) को राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई सरकार बनाउन बाटो खुल्नेछ।
एनडिए गठबन्धनले चुनावअघि नै नितिशलाई आफ्नो मुख्यमन्त्री उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो। त्यसैले बुधबार पदबाट विदा लिन लागेका नितिश बिहीबार दसौं पटक मुख्यमन्त्री भएर आउन सक्छन्।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार नयाँ सरकारले पटनास्थित ऐतिहासिक गान्धी मैदानमा शपथ लिने कार्यक्रम छ। मुख्यमन्त्री नितिश कुमारले नयाँ एनडिए सरकारको शपथ समारोहका लागि गान्धी मैदानमा भइरहेको तयारीको निरीक्षण गरेका छन्।
नितिश कुमार एनडिए सरकारका मुख्यमन्त्रीका रूपमा फर्कनेबारे कुनै आधिकारिक घोषणा नभए पनि भाजपा–जेडियू नेताहरूको अभिव्यक्तिले त्यसतर्फ संकेत गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
उनीहरूले नयाँ मन्त्रिपरिषदमा केही 'आश्चर्यजनक नामहरू' देखिन सक्ने पनि बताएका छन्। यसको औपचारिक घोषणा बुधबार हुनसक्छ।
भाजपा र जेडियू दुवैले आज आफ्नो विधायक दलको बैठक डाकेका छन्। यी बैठकले उप–मुख्यमन्त्री को हुने भन्ने विषयमा पनि संकेत दिन सक्छन्।
बिहार विधानसभाको वर्तमान कार्यकाल नोभेम्बर २२ मा सकिँदैछ। नयाँ विधानसभा त्यसअघि नै गठन हुनुपर्ने प्रावधान छ।
यसबीच नितिश कुमारले सोमबार राज्यपाल आरिफ मोहम्मद खानलाई वर्तमान विधानसभा विघटनको मन्त्रिपरिषद सिफारिसबारे जानकारी दिएका थिए।
शपथग्रहण समारोहमा मोदी आउने
हिन्दुस्तान टाइम्सका अनुसार नयाँ एनडिए नेतृत्वको सरकारको शपथ समारोहलाई 'अहिलेसम्मकै भव्य' बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशभरका विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम छ।
यसमा धेरै केन्द्रीय मन्त्रीहरू र एनडिए शासित राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित हुने बताइएको छ।
एक वरिष्ठ भाजपा नेताले यो समारोहलाई अहिलेसम्मकै भव्य बनाउने तयारी भइरहेको जानकारी दिए।
एक उप–मुख्यमन्त्री कि दुई?
अघिल्लो सरकारमा दुई उप–मुख्यमन्त्री थिए — सम्राट चौधरी र विजय कुमार सिन्हा। यी दुवै फेरि निर्वाचित भएका छन्।
तर यसपटक जेडीयू एक उप–मुख्यमन्त्री मात्र चाहने पक्षमा रहेको बताइन्छ। यसका लागि सभामुखको पद भाजपालाई दिनुपर्नेछ। यसबारे अन्तिम निर्णय बुधबारको बैठकमा हुने हिन्दुस्तान टाइम्सले लेखेको छ।
नयाँ मन्त्रिपरिषदमा 'सरप्राइज'
एक वरिष्ठ एनडिए नेताका अनुसार, नयाँ मन्त्रिपरिषदमा केही आश्चर्यजनक अनुहारहरू देखिन सक्छन्।
भाजपा, जेडियू लगायत गठबन्धनका दलले मन्त्री बाडफाँटको फार्मुला पनि तय गरेका छन्। गठबन्धनले प्रत्येक ६ विधायक बराबर एक मन्त्री दिने फार्मुला बनाइरहेको नेताहरू बताउँछन्। यस अनुसार भाजपा र जेडियूले ३० मन्त्रालय बाँडफाँट गर्ने छन् भने बाँकी साना दलहरूको भागमा पर्नेछ।
संविधान अनुसार २४३ सदस्यीय बिहार विधानसभामा ३६ जना मन्त्री (मुख्यमन्त्री सहित) भन्दा ठूलो मन्त्रिपरिषद बनाउन सकिँदैन।
हिन्दुस्तान टाइम्सका अनुसार सबभन्दा ठूलो रस्साकस्सी गृह र शिक्षा मन्त्रालयमा देखिएको छ। अघिल्लो पटक गृह मन्त्रालय जेडीयूकै हातमा थियो। दुवै दलले यसपटक गृह मन्त्रालय दाबी गरेको बताइन्छ।
हालै सम्पन्न विधानसभा चुनावमा एनडिएले ठूलो बहुमत हासिल गर्दै २४३ मध्ये २०२ सिट जितेको थियो। यसमा भाजपा एक्लैले ८९ सिट ल्याएको थियो भने जेडियूले ८५ सिट ल्याएको थियो।
***