अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार लगाएपछि भारतको व्यापार घाटा बढेर अहिलेसम्मकै उच्च भएको छ।
ट्रम्पले लगाएको उच्च भन्सारका कारण अक्टोबर महिनामा भारतको कूल निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ। भारतको गत महिना अमेरिकामा हुने निर्यात पनि ८.६ प्रतिशतले घटेको थियो।
भारतले यसै साता जारी गरेको तथ्यांक अनुसार गत महिना निर्यात घटे पनि आयात भने एक वर्ष अघिको तुलनामा १६ प्रतिशतभन्दा बढीले बढ्यो।
सुनको मूल्य कीर्तिमानी रूपमा बढिरहेको भए पनि गत महिना अघिल्लो वर्षको तुलनामा सुनको आयात लगभग २०० प्रतिशतले बढेको थियो। सेप्टेम्बरमा भारतले वस्तु तथा सेवा करमा (जिएसटी) कटौती गरेकाले पनि सुनको खपत बढेको मानिन्छ।
निर्यात घटेको र आयात बढेका कारण भारतको व्यापार घाटा गत महिना बढेर अहिलेसम्मकै उच्च ४१ अर्ब ६८ करोड डलर पुग्यो। भारतीय केन्द्रीय बैंकका अनुसार त्यस अघिको सबभन्दा उच्च मासिक व्यापार घाटा गत वर्ष अगस्टमा ३५ अर्ब ६२ करोड डलर थियो।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
भारतले रूसी तेल किन्न बन्द नगरेपछि वाशिङ्टनको स्थानीय समय अनुसार अगस्टको अन्त्यदेखि भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा आएको थियो।
ट्रम्पले भारतलाई लगाएको भन्सार दर एसियामै सबैभन्दा उच्च हो। रूसी तेल किनेको भनेर भारतलाई २५ प्रतिशत भन्सार लगाए पनि भारतभन्दा धेरै रूसी तेल किन्ने चीनलाई भने ट्रम्पले अतिरिक्त दर लगाएका छैनन्।
ट्रम्पले लगाएको उच्च भन्सार दर घटाउन भारत र अमेरिका अहिले व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छन्। व्यापार घाटा बढिरहेका कारण सम्झौतका लागि अमेरिकाका सर्त मान्न भारतमाथि थप दबाब पर्ने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)