प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शन क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी फिर्ता सम्बन्धमा दलहरूलाई जानकारी गराएकी छन्।
सरकारको काम कारबाही र आसन्न निर्वाचनबारे बुधबार प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग संवाद गरेको थिइन्।
संवादका क्रममा उनले हालसम्म फिर्ता भएका हतियार र जेलबाट भागेका कैदी बन्दीलाई पुनः नियन्त्रणमा भएको प्रगतीबारे जानकारी गराएकी हुन्।
उनले लुटिएकामध्ये ८२१ हतियार फिर्ता भइसकेको जानकारी दिइन्।
साथै ७ हजार कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएर कारागार चलान गरिएको पनि प्रधानमन्त्री कार्कीले दलहरूलाई जानकारी दिइन्।
भदौ २४ गते जेनजी प्रदर्शन क्रममा देशभरिका जेल तथा सुधार गृहबाट १४ हजार ५५५ कैदी फरार भएका थिए।
त्यतिबेला प्रहरीको १ हजार २ सय थान हतियार लुटिएको थियो।
प्रधानमन्त्री कार्कीले प्रहरीमा आएको नयाँ नेतृत्व एक्सनमा जाने र गृह तथा अर्थ मन्त्रालसहितका मन्त्रालयको काम पनि फटाफट अगाडि बढाइएको बताइन्।
हतियार र कैदी बन्दी बाहिरै रहेको अवस्थामा शान्ति सुरक्षाको दृष्टिकोणले चुनावका लागि सरकारले वातावरण तयार नगरेको आरोप एमालेले लगाउँदै आएको छ। उसले प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिएको छ।
त्यसका लागि विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सांसद सुनिता बराललाई सर्वोच्चमा रिट दायर गर्ने जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री कार्कीले भने सरकार सम्पूर्ण रूपले चुनावका लागि तयार रहेको बताएकी छन्। निर्वाचन आयोगले पनि चुनावका लागि ६० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको बताइन्।
'हामी यहाँ आएको ३ दिनपछि नै निर्वाचनको काम सुरू गरिसकेका हौं। आयोगसँग सम्पूर्ण साधन छन्। हामीले कुनै कमी हुन दिएका छैनौं। चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौं,' सर्वदलीय छलफलमा प्रधानमन्त्री कार्कीले भनिन्।