नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने वा नबस्ने निश्चित भइसकेको छैन।
केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजे बस्ने गरी यसअघि निर्धारण गरिएको थियो।
केन्द्रीय समिति बैठकअघि विभिन्न समूहका बैठक बसेर आ-आफ्ना अडान प्रस्तुत गरेका थिए भने विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका थिए।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ भने विशेष महाधिवेशन कि नियमित भन्ने पनि विवाद छ। यस्ता विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहल गरे पनि अहिलेसम्म निकास निस्केको छैन।
त्यसैले आज केन्द्रीय समिति बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्। असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काबाहेक सबैले धारणा राखिसेका छन्। सर्वसम्मत निर्णय गर्ने भन्दै कात्तिक २७ गतेदेखि केन्द्रीय समिति बैठक स्थगित छ। यसबीचमा नेताहरूबीच अनौपचारिक कुराकानी भए पनि सहमति जुटेको छैन।
सभापति देउवाले अरू नेताहरूसँग छलफल गरे पनि महामन्त्री गगन थापासँग कुराकानी गरेका छैनन्। महामन्त्री थापा अब विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले पनि साथ दिएका छन्। कोइरालाले पुसभित्रै महाधिवेशन गर्न नसके केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्।
आज केन्द्रीय समिति बैठक बस्ने वा नबस्ने निश्चित नभएकोले विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय सानेपा घेराउको कार्यक्रम स्थगित गरेका छन्। नेता रमेश धमलाले आज केन्द्रीय कार्यालय घेराउको कार्यक्रम नरहेको सेतोपाटीलाई जानकारी दिए।
केन्द्रीय समिति बैठक आज नबसेमा शनिबारका लागि बोलाउने तयारी रहेको नेताहरूको भनाइ छ।
सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्नेमा छन्। तर सभापति देउवा र कार्यवाहक सभापति खड्काले बहुमतबाट नभई सर्वसम्मत रूपमा निर्णय लिनुपर्ने बताउने गरेको नेताहरूको भनाइ छ।