राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकेको छ।
उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी कुशलतापूर्वक सकेकोले बुधबार बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई छनोट समितिको संयोजक तोकेको प्रवक्ता मनिष झाले बताए।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारी सफलतापूर्वक सम्पन्न गर्नुभएका सह–महामन्त्री श्री विपिनकुमार आचार्यलाई थप जिम्मेवारी प्रदान गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ,’ झाले भने।
उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र राजन गौतम तोकिएका छन्। प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।
रूपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय रास्वपाले गरेको छ। उनी यसअघि तय भएको उपनिर्वाचनमा उम्मेदवार छनोट भएका थिए। तर उपनिर्वाचन नहुँदै प्रतिनिधि सभा नै विघटन भएको थियो।