नितिश कुमारले बिहारको मुख्यमन्त्रीका रूपमा दसौं पटक सपथ लिएका छन्।
पटनाको गान्धी मैदानमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, संघीय मन्त्री राजनाथ सिंह र धर्मेन्द्र प्रधान लगायत कम्तिमा सात राज्यका मुख्यमन्त्री उपस्थित छन्।
समारोहमा दुई उपमुख्यमन्त्री सहित १८ मन्त्रीको पनि सपथ गरिने भारतीय अखबारहरूले जनाएका छन्।
सपथ कार्यक्रम बिहान साढ ११ बजे सुरू भएको थियो।
बिहार विधानसभाको पछिल्लो चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले दुईतिहाइ बहुमत ल्याएपछि ७४ वर्षीय नितिश कुमार दसौं पटक मुख्यमन्त्री बनेका हुन्।
सन् २००५ देखि अहिलेसम्म नितिश कुमारले गान्धी मैदानमै तीन पटक मुख्यमन्त्रीको सपथ लिइसकेका छन्। उनले यसपालि चौथो पटक यही स्थानबाट पदबहाली गरे।
नितिश कुमार सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए। त्यति बेला उनको सरकार बहुमत जुटाउन नसक्दा सातै दिनमा ढलेको थियो।
दोस्रो र तेस्रो पटक उनले २००५ र २०१० को विधानसभा चुनावमा एनडिएको बहुमत आएपछि मुख्यमन्त्रीको सपथ लिएका थिए। तर २०१४ मा उनले भाजपा र राष्ट्रिय जनता दलसँग गठबन्धन नगरी चुनाव लडेपछि खराब नतिजा ल्याएका थिए।
त्यसपछि उनले राजीनामा दिए र पार्टीका नेता जितनराम माझीलाई मुख्यमन्त्री बनाए।
सन् २०१५ को चुनावअघि उनी फेरि मुख्यमन्त्री बने। त्यो उनको चौथो कार्यकाल थियो।
सन् २०१५ र २०२० को चुनावपछि पनि उनले मुख्यमन्त्रीको सपथ लिए, एकपटक महागठबन्धन (जेडियू–राष्ट्रिय जनता दल–कांग्रेस) को नेता बनेर र अर्को पटक एनडिएको नेता बनेर।
यसबीच २०१७ मा महागठबन्धन छाडेर एनडिएमा फर्कँदा, २०२२ मा एनडिए छाडेर राष्ट्रिय जनता दलसँग मिल्दा र २०२४ मा राष्ट्रिय जनता दल छाडेर फेरि एनडिएमा जाँदा उनले थप तीनचोटि सपथ थिए।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार नितिशले अहिलेसम्म ७०२३ दिन (करिब १९ वर्ष) मुख्यमन्त्रीका रूपमा बिताइसकेका छन्। देशभरका सबै मुख्यमन्त्रीको सूचीमा लामो समय बिताउनेमा उनी आठौं स्थानमा पर्छन्।
उनले यस पटक पाँच वर्षे कार्यकाल पूरा गरे उनी भारतको इतिहासमा तेस्रो सबभन्दा लामो कार्यकाल बिताएका मुख्यमन्त्री बन्ने छन्।
उनीभन्दा अगाडि सिक्किमका पवनकुमार चाम्लिङ र ओडिशाका नवीन पटनायक लामो अवधि मुख्यमन्त्री बनेका थिए।
नितिशले अर्को एउटा अनौठो रेकर्ड राखेका छन्। मुख्यमन्त्री रहँदा उनले १४ जना राज्यपालसँग काम गरिसकेका छन्। यसमा उनी भारतका मुख्यमन्त्रीहरूमा तेस्रो स्थानमा परेका छन्।
यो सूचीमा मिजोरमका लाल थनहावला र हिमाञ्चल प्रदेशका वीरभद्र सिंह क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।