बाराको सिमरामा बुधबार आयोजित प्रदर्शनबीच जेनजी समूहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई पक्राउ गरेको छ।
जेनजी युवाहरूको किटानी जाहेरीमा जीतपुर सिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।
सिमरामा बिहीबार दिनभरि विरोध प्रदर्शन गरेका जेनजी युवाहरूले साहलाई पक्राउ नगरी वार्ता नगर्ने अडान लिएका थिए।
जेनजी समूहका स्थानीय संयोजक सम्राट उपाध्यायले हामीसँगको कुराकानीमा बुधबारको घटनामा मुख्य भूमिका निर्वाह गर्ने अरविन्द साहलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने बताएका थिए।
जेनजी मधेस प्रदेश संयोजक शिव यादवले पनि आफूहरूमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता आएपछि मात्र वार्तामा जाने बताए।
जेनजी समूहले बुधबारको घटनामा संलग्न भन्दै सात-आठ जनाविरूद्ध जाहेरी दिएका थिए। तीमध्ये एमालेबाट निर्वाचित दुई जना वडाध्यक्षलाई बिहीबार बिहानै पक्राउ गरिएको छ। उनीहरूलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।
यसबीच खेलकुद तथा युवामन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू बारा घटनाबारे वार्ता तथा छलफलका लागि सिमरा गएका छन्।
बिहीबार साँझ मन्त्री गुप्तासँगै 'हामी नेपाल' का संयोजक सुदन गुरूङ, जेनजी प्रतिनिधिहरू पुरूषोत्तम यादव, अभिषेक सिंह लगायत सिमरा गएका हुन्।
बाराको सिमरामा बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएपछि उत्पन्न तनाव दोस्रो दिन पनि साम्य हुन सकेको थिएन।
बुधबार आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै जेनजी समूहहरूले सुरू गरेको प्रदर्शनका कारण बिहीबार दिनभर सिमरा बजार तनावग्रस्त रह्यो।
त्रिभुवन राजपथ अन्तर्गतको वीरगन्ज-पथलैया सडक खण्डको आवागमन अवरूद्ध भयो। प्रदर्शनकारीहरू सडकमा भेला भएपछि लामो तथा छोटो दुरीका यात्रुवाहक तथा मालवाहक गाडी रोकिए।
दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। यहाँ साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो।
झडपमा ६ जना प्रहरी र ४ जना जेनजी प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुने जेनजी प्रदर्शनकारीमा निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, निलहरी सापकोटा छन्। तीमध्ये दुई जनालाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ भने दुई जनाको सिमरा अस्पतालमा उपचार भइरहेको छ।
यसबीच तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो नै जेनजी समूहलाई वार्तामा डाकेको थियो। तर जेनजी अगुवाहरूले आफूमाथि कुटपिट गर्नेहरू पक्राउ परेपछि मात्र वार्तामा जाने अडान लिए। यही अडानका कारण बिहीबार वार्ता हुन सकेन।
जेनजी प्रदर्शनकारीहरूले वार्तामा आउन अस्वीकार गरे पनि प्रदर्शन स्थगित गर्दा साँझबाट सवारी आवागमन सुरू भएको थियो।