नेकपा एमालेले शुक्रबार घोषणा गरेको नेसनल भोलेन्टियर फोर्समा आपराधिक पृष्ठभूमिका पुष्पराज श्रेष्ठलाई कमान्डर नियुक्त गरेपछि विवाद उत्पन्न भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा श्रेष्ठलाई कमान्डर तोकिएको हो।
तत्कालीन माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल) पृष्ठभूमिका श्रेष्ठ विगतमा थुप्रै आपराधिक गतिविधिमा संलग्न रहेको अभिलेख भेटिएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता राजन दाहालले पनि श्रेष्ठको आपराधिक पृष्ठभूमि पुष्टि गर्दै उनी अपहरण तथा शरीर बन्धकको कसुरमा दुई वर्षभन्दा बढी समय सिन्धुली कारागारमा बसेको र उनको छवि अहिले पनि नसुध्रिएको बताए।
सिन्धुलीका निवर्तमान सांसदसमेत रहेका दाहालले नै श्रेष्ठलाई वाइसिएलमा भित्र्याएका थिए।
'त्यति बेला सिन्धुलीमा विभिन्न समूहको आपराधिक आतंक थियो। तिनैमध्ये एकमा संलग्न पुष्पराज श्रेष्ठलाई सुधार्न हामीले संगठनमा ल्याएका थियौं। तर उनका गतिविधि सुध्रने किसिमका थिएनन्,' उनले भने।
कमलामाई नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा श्रेष्ठ तत्कालीन वाइसिएल केन्द्रीय सदस्य र सिन्धुली इन्चार्जसमेत भएका थिए।
दाहालका अनुसार माअोवादी केन्द्र र एमालेबीच एकता हुँदा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग निकट रहेर काम गरेका थिए। पछि नेकपा विघटन हुँदा उनी बादलसँगै एमालेमै रहे।
एमालेमा रहँदा पोलिटब्युरो सदस्य महेश बस्नेतसँग निकट सम्बन्ध बनाएका श्रेष्ठको विगत निकै आपराधिक भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
२०६३ देखि २०७५ सालसम्म उनले सातवटाभन्दा बढी फौजदारी अभियोगमा संलग्न रही मुद्दा खेपेका थिए। उनले ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, सार्वजनिक अपराध, अभद्र व्यवहार मात्र नभई जुवाताससँग सम्बन्धित अपराधका मुद्दासमेत खेपेको प्रहरी स्रोतले बतायो।
प्रहरी स्रोतका अनुसार उनीमाथि २०६३ र २०६४ सालमा ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध, २०७० मा शरीर बन्धक तथा अपहरणका मुद्दा परेका थिए। त्यस्तै, २०७५ सालमा सार्वजनिक अपराधका दुईवटा मुद्दा परेका थिए भने २०७६ मा ज्यान मार्ने उद्योगमा मुद्दा परेका थिए।
हामीले यस्तो विवादित र आपराधिक पृष्ठभूमिसमेत भएका श्रेष्ठलाई किन भोलेन्टियर फोर्सको कमान्डर बनाएको भनेर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई सोध्यौं।
उनले कसैको पनि बहीखाता हेरेर पार्टीमा नभित्र्याउने बताए।
'एमाले विशाल कार्यकर्ता भएको पार्टी हो। यहाँ हजारौं कार्यकर्ता सक्रिय छन्। काम गर्ने इच्छाशक्ति, जोश–जाँगर भएकाले जिम्मेवारी पाउने हो। पार्टीमा लाग्दा कसैको पनि बहीखाता हेर्ने गरिएको छैन,' उनले भने।
'अपराधिक पृष्ठभूमि प्रमाणित भए के गर्नुहुन्छ?' भन्ने सेतोपाटीको प्रश्नमा प्रचार विभाग प्रमुख गौतमले गल्ती गरेको भए जान्छन् भन्ने शैलीको उत्तर दिए।
'हामीले कसैको पनि पृष्ठभूमि, विगत हेरेर ल्याएका हुँदैनौं,' उनले भने, 'क्षमताले जिम्मेवारी पाउने हो, गल्ती गरेका रहेछन् भने जान्छन्।'