नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बारम्बार चर्चामा आइरहन्छन्। उनी २०६५ सालमा तत्कालीन नेकपा माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल) सँग भिड्न गठन गरिएको युथ फोर्सको नेतृत्व गरेर चर्चामा आएका थिए।
जेनजी आन्दोलनपछि सडकमा एमाले कार्यकर्ता उतारेर होस् या अध्यक्ष केपी शर्मा ओलीको रक्षा कवच बनेर, उनी अहिले पनि चर्चामै छन्।
एमालेले नेसनल भोलेटिन्यर फोर्स गठन गरेपछि त उनी थप चर्चाको केन्द्रमा छन्।
चर्चा त कतिसम्म छ भने, पछिल्लो समय जहाँ महेश बस्नेत पुग्छन्; त्यहाँ प्रतिरोध र प्रतिवाद सुरू हुन थालेको छ। आइतबार विराटनगरमा उनीमाथि अबिर भरिएको बलुन प्रहार भयो। त्यसअघि गत साता बारामा महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालसहित बस्नेत जाने भएपछि विमानस्थल क्षेत्र तनावग्रस्त बन्यो, कर्फ्यू नै लगाउनुपर्यो।
यिनै सन्दर्भमा आधारित रहेर बस्नेतसँग गरिएको भिडिओ कुराकानीको सम्पादित अंश –
तपाईंहरूलाई त जताततै अवरोध हुन थाल्यो! हिजो विराटनगर, केही दिनअघि बाराको सिमरा! महेश बस्नेत आउने भनेपछि मानिसहरू तगारो बोकेर, कोही आक्रोश बोकेर बस्न थाले? कसरी लिनुभएको छ? कस्तो लागिरहेको छ?
भदौ २३ र २४ गते जेनजीका नाममा भएको आन्दोलनलाई दुई खण्डमा विभाजित गर्नुपर्छ भन्ने मलाई लाग्छ। भदौ २३ गते वास्तविक जेनजीहरू भ्रष्टाचारविरूद्ध, सुशासनको पक्षमा र सामाजिक सञ्जालमा आफ्नो पहुँच गुमेको पीडामा सडकमा गएका थिए। तर त्यसमा प्रहरीको सुरक्षा घेरा (ब्यारिकेड) तोड्ने हर्कत भयो। टिओबी (तिबेतियन ओरिजिनल ब्लड) जस्ता समूह छिरे। हामी नेपाल जस्ता संस्था छिरे। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहहरूको प्रभाव देखियो। महानगरका नगर प्रहरीहरू पानी बाँड्न थाले। यी सबैको अनुभूति गरेपछि वास्तविक जेनजीहरू घुसपैठ भयो भन्ने निष्कर्षमा पुगेका थिए। हाम्रो आन्दोलन अपहरण भयो भन्ने सायद उहाँहरूले बुझ्नुभयो।
दोस्रो दिन सिंहदरबार जल्यो। संसद भवन जल्यो। सर्वोच्च अदालत पनि जल्यो। महत्त्वपूर्ण संरचना र व्यक्तिका निजी सम्पत्ति जलाइए। यो कुनै आन्दोलन थिएन। आन्दोलनको स्वरूप यस्तो पनि हुँदैन।
त्यस कारण म भन्छु – अघिल्लो दिन आन्दोलन थियो। तर दोस्रो दिनको घटना हाम्रो देशमाथि भएको एउटा आक्रमण थियो। एउटा आतंकवादी गतिविधि थियो। त्यो बहानामा लुट्ने काम भएका थिए। भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने, व्यापारिक घराना विनोद चौधरी, उपेन्द्र महतो; जसले राष्ट्रिय पुँजीपतिका रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाउनुभएको छ, पहिचान बनाउनुभएको छ, उहाँहरूलाई निशानामा पार्ने काम भए। किन? यो पनि आन्दोलनको उद्देश्य थियो?
त्यसपछि जेनजीकै आडमा यस्तो सरकार बन्यो, जोसँग जेनजीको कुनै साइनो, सरोकार नै छैन। यसले पनि त्यो आन्दोलन थिएन भन्ने कुरा स्थापित गरिरहेको छ।
यति मात्र होइन, भदौ २३ गते सुशीला कार्कीले सिभिल अस्पतामा रहेका घाइते–बिरामी वा मृतक परिवारलाई भेटेर दिएsf अभिव्यक्ति सबै बनिबनाउ थिए। यहाँलाई भनूँ, त्यो एकदम स्क्रिप्टेड (नाटकीय) थियो।
पछिल्लो समय यहाँहरूले जसरी अभिव्यक्ति दिइरहनुभएको छ, सहिद परिवार, घाइते र उनीहरूका आफन्तको मन बिझाउने गरी जसरी बोलिरहनुभएको छ, त्यस्तै गतिविधि पनि गर्दै हुनुहुन्छ, त्यसले पनि आक्रोश बढाएको होला नि!
तपाईंले सोध्नुभएको प्रश्नको भाव बुझेँ मैले। तर भदौ २४ गते बानेश्वरको कुनै शंकास्पद घरको चौथो तलाबाट उहाँले (सुशीला कार्की) दिएका अभिव्यक्तिका अडिओ बाहिर आइरहेका छन्। उहाँले नेतालाई त मार्न दिनुपर्ने, किन भगाएको होला भनिरहेको सुनिन्छ। त्यही कारणले दुर्गा प्रसाईंसमेत गिरफ्तारीमा परे। गृहमन्त्रीज्यू जेनजीका नाममा भएका आक्रमण, आतंकवाद र वैदेशिक चलखेलमा संलग्नहरूको एउटा घेराभित्र हुनुहुन्छ।
जहाँसम्म हाम्रा अभिव्यक्तिका बारेमा तपाईंले कुरा गर्नुभयो, संसारभरका सबै जीवको मुख्य दुइटा आधारभूत आवश्यकता हुन्छ। खानेकुरा र सुरक्षा।
हिंस्रक जनावरले पनि सिकार गरेर खान्छ र आफू सुरक्षित भएर बस्छ। साकाहारी जनावरले पनि आफ्नो खानेकुरा प्रबन्ध गर्छ र आफूलाई हुने खतरा वा आक्रमणबाट बच्न खोज्छ।
हामीमाथि निकै ठूलो सुरक्षा चुनौती थियो। असोज २ गते चनवन ब्यारेकबाट सेनाले छाडेपछि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई गुन्डुमा ल्याएर राख्यौं। पहिलो चरणमा केपी ओलीज्यूलाई गुण्डुवासीले बहिष्कार गरून् भन्ने अभीष्ट पनि देखियो। त्यस कारण गुण्डुमा गुन्डागर्दी भयो भन्ने खालको समाचार आयो। त्यो सफल भएन।
दोस्रो चरणमा आन्दोलन क्रममा कसैका भत्काइएका घर र ढुंगा हानिएको दृश्य देखाएर केपी ओलीको घरमा ढुंगा हान्न थाले भनियो। डिस्कोर्ड लगायतका नेटवर्क, जुन काठमाडौं महानगर प्रमुख बालेनले प्रयोग गर्छन्, त्यहाँ हल्लाखल्ला गरियो।
तेस्रो चरणमा अब केपी ओलीको घरमा बम हमला गर्नुपर्छ, ड्रोन बम हान्नुपर्छ, म मर्न तयार छु, म सुसाइड बम बोक्न तयार छु भन्ने खालका मुभमेन्ट पनि चलाउन खोजिए। निकोलस भुसालले त्यस्तै अभिव्यक्ति दिन थालेपछि हामीले दुई–तीनवटा कार्यक्रम गर्यौं, गुण्डुमै। एउटा युवा संघको नाममा चियापान गर्यौं, अर्को पार्टी कमिटीका नाममा भेटघाट गर्यौं। त्यसबाहेक हामीले नेसनल भोलेन्टियर फोर्स स्थापना गर्यौं।
हामीलाई के लाग्यो भने, अब हामीले एउटा डिफेन्सिभ फोर्स बनाएनौं भने राज्यको मनोबल बढाउन सकिँदैन। जनतालाई सुरक्षा दिन सकिँदैन। जनताको मनोबल पनि बढाउन सकिँदैन। जस्तोसुकै साना साना शक्ति, जस्तोसुकै साना साना आपराधिक तत्त्वले आक्रमण गर्न सक्छन्। किनभने चौकी जलेको छ, प्रहरी घाइते छन्, प्रहरीको मनोबल गिरेको छ, कैदीहरू भागेका छन्, हतियार लुटिएका छन्। यस कारण यो चरणमा हामीले भोलेन्टियर फोर्स बनाएका हौं।
अब आऊँ मेरो अभिव्यक्तिमा।
मेरो अभिव्यक्ति अराजक होइन, जुझारू चाहिँ हो। जुझारू किन हो भने मैले कानुन तोडेर, विधि तोडेर कहिल्यै बोलेको छैन। राष्ट्रियताविरूद्ध, धर्म–धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्काउने ढंगले बोलेको छैन। समाजमा कहिले सरकारको आडमा त कहिले बाह्य शक्तिको आडमा, कहिले अमूर्त शक्तिको आडमा, जुन खालको आपराधिक गतिविधि, अराजक गतिविधि हाबी हुन खोज्दै छ, त्यसलाई कन्ट्रोल गर्न नसक्ने हो भने आज महेश बस्नेतमाथि आक्रमण भएजस्तै भोलि अरूमाथि पनि हुन सक्छ।
कांग्रेस त मैदानमा गएकै छैन। कांग्रेस मैदानमा जाने हो भने गगन थापाजी, विश्वप्रकाशजीलाई आक्रमण नहोला त? मलाई भन्दा बढी आक्रमण त उहाँहरूलाई हुन्छ। बालेनजी, रवीजी लगायत यो सामाजिक सञ्जाल परिचालन गर्ने साथीहरू मसँग भन्दा बढी त उहाँहरूसँग आतंकित छन्।
एमाले नै अहिले बढी संयमित हुन जरूरी छ। आन्दोलन बेला सरकारमा भएको, एमालेकै नेतृत्वको पालामा बढी युवा–विद्यार्थी मारिएकाले तपाईंहरू नै संयमित हुनुपर्ने होइन र?
यो दायित्वलाई हामीले एकदम मनन गरेका छौं। तर जसरी हामीलाई अनेक खालका आरोप लगाइएका छन्, त्यसमाथि मात्र हाम्रो सवाल हो।
हाम्रो अध्यक्षज्यूले भनिसक्नुभयो, मबाट छानबिन गर्नुस् भनेर। मैले पनि भनेँ, हामीसँग पनि केही छ भने छानबिन गर्नुस्। तर हामीलाई यसै भ्रष्टाचारीको बिल्ला लगाइयो। सामाजिक सञ्जालमार्फत् योजनाबद्ध रूपमा हामीलाई जे आरोप लगाइएको छ, त्यसलाई पुष्टि गर्नुस्। त्यो पुष्टि गर्नुहुन्न भने हामीले पनि न्याय पाउनुपर्ने होला। तर हाम्रो पक्षमा एक जना पनि मानवअधिकारवादी बोल्दैनन्।
भ्रष्टाचार गरेको छ भने हामीलाई कारबाही गर्नुस्। गौरीबहादुर कार्की आयोग निष्पक्ष छैन भनेर हाम्रो अध्यक्षले भन्नुभयो। मैले त त्यो पनि भनिनँ। मैले त यति मात्र भनेँ, मलाई आरोप लगाउने सरकार मात्र होइन, मिडियाकर्मीसमेत छन्। यिनीहरू हाम्राविरूद्ध घुँडा धसेर लागेका छन्। तिमीहरू नै आएर छानबिन गर भनेर मैले भनेको छु।
तर तपाईंहरू त बयानमा बोलायो भने पनि एक लाख युवा लिएर सिंहदरबारभित्र घेर्छु भन्ने अभिव्यक्ति दिनुहुन्छ त?
गौरीबहादुर कार्की मेरा छिमेकी हुन्, नातेदार पनि हुन्। उहाँको फूपूको छोरी मैले बिहे गरेको छु। यद्यपि उहाँ कांग्रेस क्याडर (कार्यकर्ता) हो न्यायाधीश हुँदा। आन्दोलनका दौरान केही साथीहरूलाई के लाग्यो भने, अब उथलपुथल भयो, अब हामीले नै उचित भूमिका पाउँछौं। उहाँले केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालहरूविरूद्ध अभिव्यक्ति दिनुभयो। यिनीहरूलाई थुन्न पछि पर्नु हुँदैन भन्ने खालका अभिव्यक्ति दिनुभयो। त्यही आधारमा आयोगमा बस्नुभएको हो। हैन र?
गृहमन्त्री वा प्रधानमन्त्रीले कहीँ पनि शक्ति प्रयोग गर्न आदेश दिने हाम्रो कानुनी प्रावधान छैन। हाम्रो अध्यक्षज्यूले मैले लिखित या मौखिक कुनै आदेश दिएको छ भने प्रमाण पेस गरेर भन्नुभएको छ। पछिल्लो पटक प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकश अर्यालले पनि हामी अलि उद्वेलित नै भयौं कि, हामी अलि भावनामा बहकियौं कि, वास्तवमा परिस्थिति त्यो होइन रहेछ कि भन्ने ठाउँमा पुग्नुभएको छ रे। हामी निर्वाचनको लागि मात्र आएका हौं, त्यसैले यो खालको झन्झटमा फस्न हुँदैन भन्दै हुनुहुन्छ रे।
कुनै पनि आन्दोलन र परिवर्तनमा यस्तो घटना हुन्छ। प्रचण्डले १७ हजार मान्छे मारिएकामध्ये पाँच हजारको जिम्मा लिन्छु भन्नुभयो, कारबाही त भएन नि। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह लगायत शाही सरकारका मन्त्रीहरूले २०६२–६३ को आन्दोलनमा पनि नागरिक हत्या गरे, सहिद बनाए। त्यसमा कसैलाई कारबाही भएको छैन। पञ्चायत कालमा कमल थापा लगायतहरूमाथि गम्भीर प्रश्न उठेका थिए, त्यतिखेर पनि कारबाही भएन।
यहाँलाई एकदमै सजिलो होला महाधिवेशनमा उम्मेदवारी दिन र निर्वाचन जित्न पनि। किनभने अहिले पार्टीको मनोबल उक्साउन भन्दै यहाँले जे जस्तो गतिविधि गरिराख्नुभएको छ, त्यसले त आम पार्टी पंक्तिमा एउटा खालको तरंग पैदा गरेको छ, हैन?
अघिल्लो पटक महाधिवेशनमा मैले आफूलाई सचिवका रूपमा प्रस्तुत गरेको थिएँ। यसपालि चाहिँ मैले आफूलाई कुनै पदमा प्रस्तुत गरेको छैन। मेरो बुझाइ के हो भने, राष्ट्रियता नै समाप्त गर्ने ग्र्यान्ड डिजाइन भइरहेको छ। हाम्रो पार्टी सबभन्दा ठूलो निशानामा छ। पार्टी अध्यक्ष धेरै निशानामा हुनुहुन्छ। त्यही भएर यो जटिलता, यो अप्ठ्यारो, यो संवेदनशील अवस्थामा हामीले भाग खोज्ने होइन, हामीले यतिखेर देश बचाउने हो।
भनेको अध्यक्ष ओलीले दिनुभएको भाग मात्रै लिने?
मेरो कुरा चाहिँ के छ भने, माओवादीमा धेरै गम्भीर समस्या आएपछि चुनवाङ बैठकमा गम्भीर छलफल भयो। त्यस बैठकका भिडिओहरू धेरै भाइरल भएका छन्। बाबुराम भट्टराईदेखि रामबहादुर थापा 'बादल' सम्म सबैले रूवाबासी गरे। मोहन वैद्यसम्मले आत्मसमीक्षा गरे। उनीहरूले साझा निष्कर्ष के निकाले भने, यो मुभमेन्ट (आन्दोलन) जोगाउने हो भने हामी सबै प्रचण्डमा समाहित हौं।
अब तपाईंको कुरा पनि एमाले पंक्ति सबै ओलीमै समाहित होऔं भन्ने हो?
एउटा राष्ट्रिय शक्ति भएकाले, विकास र समृद्धिको सपना देखाएकाले, अन्तर्राष्ट्रिय जगतमा देशको नाम, पहिचान र गौरव बढाएकाले, अहिले हाम्रो अध्यक्षमाथि आक्रमण भइरहेको छ। त्यसैले यसपालि हामी अध्यक्ष ओलीमा समाहित हौं। अध्यक्षज्यूले सबैलाई व्यवस्थापन गर्ने एउटा प्रस्ताव ल्याउनुहुन्छ, त्यो प्रस्तावमा चित्त बुझेन भने यो कुरा भएन भनेर सुझाव दिऊँ।
ईश्वर पोखरेल लगायत कतिपय नेताले नेतृत्व दाबी गर्न खोजिरहनुभएको छ। उहाँहरूलाई मेरो आग्रह के हो भने यसपटक चाहिँ त्यही गरौं। ओलीमै समाहित होऔं। जसरी गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई बीचमा जिम्मेवारी दिनुभयो, हाम्रो अध्यक्षज्यूले पनि भोलि बीचमा अरूलाई केही जिम्मेवारी दिन सक्नुहोला।
यहाँलाई के लाग्छ, अध्यक्ष ओलीको अनुहार बोकेर चुनावमा जाने वा पार्टी आन्दोलन अगाडि बढाउने सम्भावना अझ पनि जीवितै छ?
किन नहुने नि! हिजो बेलुका जहाज ढिलो भएपछि एयरपोर्टमा टिकटक हेरेँ, रिल्स हेरेँ, त्यो ट्रेन्ड अहिले लगभग उल्टिएको छ। हिजो बालेनजीहरूको पक्षमा रविजीहरूको पक्षमा जे माहोल थियो, त्यो माहोल फरक ढंगले गएका छन्। यिनीहरू लुसिफर हुन्, अमूर्त शक्तिबाट चलेका छन् भन्ने बुझाइ आमजनतामा परिरहेको छ। त्यसो भएपछि माहोल स्वःस्फुर्त हामीतिर आइरहेको छ।