नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र गर्ने गरी एमालेले महाधिवेशनको तयारी गर्दैछ।
मूलतः एमालेको यो नेतृत्व महाधिवेशन हो। यसअघि एमालेले भदौको २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गरेर नीति तर्जुमा गरिसकेको छ। तर भदौ २३ र २४ गतेको आन्दोलन र त्यसपछिको राजनीतिक परिदृश्यमा पार्टीले पास गरेको नीति असान्दर्भिक र खण्डित भइसकेको एमालेकै नेताहरूको बुझाइ छ।
आगामी महाविधेशनमा नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको समर्थनमा पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन्।
यद्यपि उनको टिममा को-को रहनेछन्, टुंगो लागिसकेको छैन। पोखरेललाई अध्यक्षको उम्मेदवारका रूपमा समर्थन गर्ने नेता सचिव योगेश भट्टराई पनि हुन्। उनै भट्टराईसँग सेतोपाटीले भिडिओ कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
भदौ २३ र २४ गतेको बदलिएको राजनीतिको परिदृश्यका बीच नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन हुँदैछ, यो महाधिवेशनले एमालेको नीति र नेतृत्वमा के फेरबदल ल्याउला? मानिसहरूले के अपेक्षा गर्ने?
नेकपा एमालेको लागि र सिंगो मुलुकको लागि यो एकदम महत्त्वपूर्ण सवाल हो। भदौ २३ र २४ गतेको घटना यो मुलुकमा नभएको भए हामी हाम्रो महाधिवेशन सम्भवतः अर्को ६ महिना पछि गर्थ्यौं।
विधानतः हामीलाई एक वर्षपछि (२०८३) को मंसिरसम्म समय थियो, सुविधा थियो। तर अहिले छिटो किन गर्दैछौं भने भदौ २३ र २४ गते पछिको उत्पन्न परिस्थितिको कारणले नै गर्दैछौं।
भदौ २३ र २४ को समीक्षाबाट नै जानुपर्छ जस्तो लाग्छ। यद्यपि हाम्रो दसौं केन्द्रीय कमिटीले केही समीक्षा गरेको छ।
तर यो महाधिवेशनको एउटा महत्त्वपूर्ण कार्यभार के हो भने भदौ २३ र २४ गतेको घटनाको अझै वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ।
समीक्षाका दुइटा अतिवाद देखिन्छ; एउटा अतिवाद कस्तो छ भने यो घटना यहाँका मुख्य राजनीतिक दलहरू त्यसमा पनि एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतका दलहरूको अयोग्यता–असक्षमताले भयो।
भन्दै जाँदा त्यो बेला सरकारको नेतृत्व गरेको नेकपा एमालेको एकदमै घमण्डीपन र अयोग्यता देखियो। त्यसमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुको नाताले उहाँको अयोग्यता र असक्षमता देखियो भन्ने छ।
यो एउटा अतिवाद छ।
यो अतिवादले हामीलाई संविधान, व्यवस्थाको खारेजीतिर लान्छ। संसद चाँहिदैन भन्नेतिर लान्छ। र, अहिलेको व्यवस्था नै असफल भयो भन्नेतिर लान्छ। यो एउटा अतिवाद हो। यसबाट हामी मुक्त हुनुपर्छ।
अर्को अतिवाद के छ भने यहाँ सबै राजनीतिक दलहरूको शासन व्यवस्था त ठिकठाक थियो नि! के बिग्रिएको थियो र! विकास भएकै थियो, बाटो बनेकै थियो, भवन–ठुल्ठूला बिल्डिङहरू बनेकै थिए। हाम्रो जिडिपी (कुल गार्हस्थ्य उत्पादन) बढेकै थियो। मानव विकास सूचकांकको स्तर राम्रो थियो। सेयर मार्केट चल्दै थियो, आदि इत्यादि।
शिक्षा, स्वास्थ्य, सञ्चार आदि इत्यादिमा राम्रो प्रगति भएको थियो। तर कहाँकहाँबाट षड्यन्त्रकारी आएर ढ्याम्ढुम् हाने अनि भत्ताभुंग बनाइदिए भन्ने एउटा अतिवाद छ।
पहिलो अतिवादले व्यवस्था विरूद्धको निष्कर्षमा पुर्याउँछ भने दोस्रो अतिवादले आफ्ना कमजोरीहरू देख्दैन। राजनीतिक दलहरूको कमजोरी देख्दैन। त्यसकारण पनि यसको वस्तुनिष्ठ समीक्षा होस् भन्ने हाम्रो चाहना छ। हामीले केन्द्रीय कमिटीमा पनि यो कुरा उठाएका थियौं।
हाम्रा पर्याप्तै कमजोरी थिए। र, षड्यन्त्र भएछ भने पनि त्यही कमजोरीको जगमा भएको छ। षड्यन्त्र त भएकै छ। तर, हाम्रै कमजोरीको जगमा भएको छ भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। त्यसप्रति आत्मालोचना गर्नुपर्छ, माफी माग्नुपर्छ। त्यस क्रममा भएका कमजोरीलाई आधार मान्दै पार्टीलाई नया ढंगले पुनर्गठित गरेर अगाडि जानुपर्छ भन्ने महत्त्वपूर्ण कुरा नै हाम्रो महाधिवेशनको कार्यभार हो भन्ने मलाई लाग्छ।
यहाँले उठाउनुभएको दोस्रो निष्कर्षमा नै सम्पूर्ण रूपले एमाले पुगेजस्तो छ। संविधान, व्यवस्था, पार्टी नेतृत्वविरूद्ध षड्यन्त्र भयो र यसको प्रतिवाद गरिनुपर्छ भनेर नै सडकमा कार्यकर्ता उतारिराख्नुभएको छ, होइन?
यसलाई म अझै सच्याउँछु। हामीले यसलाई सम्पूर्णतामा षड्यन्त्र भन्न मिल्दैन। यो कुरामा हामी प्रष्ट हुनुपर्छ। जेनजी युवाले तीन–चारवटा मुद्दाहरू जो महत्त्वपूर्ण उठाउनु भएको थियो, ती जायज थिए। भ्रष्टाचारविरूद्ध, सुशासनको पक्षमा अनि, सोसल मिडिया खुला हुनुपर्ने आदि उहाँहरूका माग थिए। यी तीनटा कुरामा हाम्रो कहाँ विमति हुन्छ र? हुँदैनौं नि। हामी त त्यसको पक्षपोषण गर्ने पार्टी हौं।
त्यसो हुँदा यी मागसहित जोजो सडकमा आउनुभयो उनीहरूप्रति हाम्रो ऐक्यबद्धता थियो, छ। अद्यापि छँदै छ। तर जब अपराह्नपछि आन्दोलनमा घुसपैठ सुरू भए, विध्वंशहरू भए। जसका कारण अनाहकमा स्कुले विद्यार्थीहरू, क्याम्पस पढ्न हिँडेका विद्यार्थीहरू, ड्रेसमै, झोला बोकेकै अवस्थामा उनीहरूको निर्ममतापूर्वक हत्या भयो। यो गम्भीर विषय हो। यसको गम्भीरतापूर्वक छानबिन हुनुपर्छ।
त्यो दिनको सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकेन कि, त्यस दिनको सरकारले जुलुसहरुलाई शान्तिपूर्ण ढंगले नियन्त्रण गर्न सकेन कि, अप्रिय घटना हुनबाट रोक्न सकेन कि, यी तमाम कुराहरूको समीक्षा हुनुपर्छ।
भनेको तत्कालीन प्रधानमन्त्री पनि अनुसन्धान या छानबिनको दायरामा आउनुपर्छ?
यसो भन्दा कतिपयले मलाई र केपी ओलीलाई जुधाउन त्यस्ता शब्द पनि प्रयोग गर्छन्। मैले यति मात्रै भनेको हो कि, त्यस दिन प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। त्यस दिन गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो। त्यसदिन प्रहरीका कोही प्रमुखहरू थिए। त्यो दिन प्रशासनमा कोही मानिसहरू थिए अब उहाँहरूले पनि त यसको वस्तुनिष्ठ समीक्षा गर्नुपर्यो, किन भयो त यस्तो घटना? यसो भनिरहँदा हाम्रै पार्टीका साथीहरू पनि योगेश भट्टराईले केपी ओलीलाई जेल हाल्नुपर्छ भन्यो भनेर उत्तेजित गराउन खोज्छन्।
मैले त्यो कुरा त्यसरी भनेको पनि छैन। तर मैले यो भनको छु कि, त्यस दिन घटेको घटनाप्रति त्यो दिनको सरकार जिम्मेवार हुनुपर्छ, यो मेरो निष्कर्ष हो। जिम्मेवार हुनैपर्छ। उसले जिम्मा लिँदैन भने यो देशमा शासन प्रशासन छ भनेर कसरी विश्वास गर्ने त?
जिम्मा लिनुको मतलब प्रधानमन्त्रीले गोली हान्न आदेश दियो? प्रधानमन्त्रीले नै आफै फिल्डमा गएर गोली हान्यो भने जस्तो प्रचार पनि त गर्नु भएन। त्यो त हैन नि। एउटा सिस्टम (प्रणाली) छ नि त्यो सिस्टमभित्र नै छानबिन होस् भन्ने कुरा हामीले भनेका हौं।
भदौ २४ गतेको घटना संगठित अपराधको घटना हो। राष्ट्रद्रोह हो। यो चाहिँ विध्वंशकारी घटना हो। त्यसमा कतिपय आतंककारी चरित्रका क्रियाकलापहरू पनि देखा परेका छन्। तर त्यसलाई अघिल्लो दिनको आन्दोलनका अगुवाहरूले घोषणा गर्नेहरूले नै त्यो–त्यो काम गरे भनेर निष्कर्षमा पुग्नु हुँदैन। कलिला विद्यार्थीहरू, उनीहरूका विचरा कलम बोक्ने हातहरूले, कम्प्युटर चलाउने औंलाहरूले त्यस्तो गर्न सक्दै सक्दैन। त्यहाँ संगठित अपराध, घुसपैठ, षड्यन्त्र छ, त्यसको पनि छानबिन हुनुपर्दछ र अपराधीहरूमाथि कारबाही हुनुपर्छ।
तर अहिले संसद भवन अगाडि बगेको कलिला युवाहरूको रगतलाई अपमानित गर्ने गरी, त्यो त फगत युवाहरूको उद्वेलन थियो भन्ने ढंगले व्याख्या गर्ने, त्यसरी चरित्रचित्रण गर्ने गरी अभिव्यक्ति आइरहेपछि समाज झन् बढी तरंगित भइरहेको छ। द्वन्द्व, मुठभेड निम्तने स्थिति पनि सिर्जना भइराखेको छ नि?
भदौ २३ गते बानेश्वरमा ढलेका हाम्रा भाइबहिनीहरू, छोराछोरीहरूप्रति हामीले अपमान गर्यौं, त्यो रगतको उपहास गर्यौं भने आज मात्रै होइन हामीलाई मृत्युपछि र हजारौं वर्षसम्म पनि त्यसले लखेट्छ। त्यो भूत भनेर हामीमाथि लखेट्छ। त्यसकारण त्यस्तो गल्ती गनुहुँदैन।
भदौ २३ को घटनाप्रति हामी संवेदनशील हुनुपर्छ। त्यस घटनाका पीडित परिवारहरूको अवस्था आज के छ? उनीहरूको चीत्कार कस्तो छ? सडकमा आएर सरकारलाई के भनिराखेका छन्? त्यसप्रति हामी संवेदनशील हुनुपर्दैन? पर्छ नि! एउटा राजनीतिक दल होइन हामी? हामी त्यस दिन सरकारमा थियौं। हामी सबै उपयुक्त समयमा उनीहरूको घरमा गएर क्षमा माग्नुपर्छ। आज त्यो परिस्थिति उत्पन्न भइसकेको छैन।
परिस्थिति अलि तनावकै अवस्थामा छ। हामी गयौं भने थप उत्तेजना होला। तर परिस्थिति अनुकूल बनाएर प्रत्येकका घरमा; २३ जना जसको त्यस दिन हत्या भयो, पछि अस्पतालमा पनि कतिपयको दुःखद् मृत्यु भयो, उनीहरू सबैको घरघरमा गएर हामीले क्षमा माग्नुपर्छ। नतमस्तक हुनुपर्छ, हामी।
उहाँहरूको परिवारलाई नेकपा एमालेले, यो राज्यले कसरी संरक्षण गर्ने हो? कसरी पुनस्र्थापना गर्ने हो? त्यो हामीले गर्नुपर्छ।
तपाईंको विचारमा भदौ २३ र २४ को अवस्थामा नेपाली समाज, नेपालको राजनीतिमा कसरी आइपुग्यो?
हामी मार्क्सवादी, अलिकति द्वन्द्वात्मक ढंगले पनि हेर्नुपर्छ। राज्यसत्ता सञ्चालनको क्रममा भएका कतिपय कमजोरीहरू एकपछि अर्को गर्दै थपिँदै गए। सुशासनको मामिलामा हामी राम्ररी पर्फर्मेन्स गर्न सकेनौं। ढिलासुस्ती भयो। आजको युवापुस्ताले त समय पर्खिंदैन। उनीहरूले छिटो सर्भिस (सेवा प्रवाह) खोजिराखेको छ। त्यस कुरामा राज्यले पर्याप्त मात्रामा ध्यान दिन सकेन। अर्को त म के भन्छु भने, राज्यले नागरिकहरूसँग संवादै गरेन। राजनीतिक दलहरूले पनि नागरिकका बीचमा चुनावका बेला मात्रै आफ्नो एजेन्डा लिएर गए। अरू बेला राजनीतिक दल र नागरिककाबीच पनि संवादहीनताको अवस्था थियो। संवाद नै टुट्यो के! राज्यले पनि संवाद गरेन।
कसैले माग राखेर आउँछ, तिम्रो माग के हो भनेर सोद्धै सोधेन। किन यो माग राखिरहेका छौं भनेर बुझ्नु पर्ने थियो, बुझ्दै बुझेन। त्यो पनि थपिँदै, थपिँदै गयो। सार्वजनिक सेवाहरू; विशेष गरी शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरू निजीकरण भयो। असाध्यै महँगियो। राज्यले प्रदान गर्ने सेवा पनि कमजोर हुँदै गयो। त्यो कसले उपयोग गर्न सक्यो? एलिट क्लास (धनी वर्ग) ले मात्रै सक्यो।
आम सर्वसाधारणले पढ्ने स्कुलहरूको अवस्था कमजोर हुँदै गयो। आमसर्वसाधारणले उपचार गर्ने स्वास्थ्य संस्थाहरूको अवस्था झन् कमजोर भयो। हाम्रो नेपालमा भन्ने हो भने सार्वजनिक यातायात नै छैन। सबै निजीकै जस्तो छ। त्यहाँ उनीहरूको मनोमानी छ होइन?
यसरी राज्यमाथि केही निहित स्वार्थ भएका मानिसहरूको हस्तक्षेप बढ्दै गयो। राज्य नै उनीहरूको नियन्त्रणमा आएजस्तो अवस्था भयो। ठेक्कापट्टामा त्यस्तै छ, अन्य ठाउँमा पनि यस्तै छ। यी तमाम कुराले एकातिर मान्छेको आक्रोश बढ्दै गएको थियो।
यसो भनिरहँदा ०४६ सालपछि नेपालमा केही प्रगति भएन त? भएको थियो। केही पनि भएकै थिएन भन्ने निष्कर्ष निकालियो भने त्यो पनि गलत हुन्छ। धेरै प्रगति भएको छ। त्यसको चर्चा हामीले गरौंला, कुनै बेला।
मैले अघि भने नि शिक्षा, स्वास्थ्य, प्रविधि, पूर्वाधार यी तमाम परिवर्तन भएका छन्। तर सरकारको काम चुस्त, प्रभावकारी, नियमनकारी भएन।
यसबीच भएका परिवर्तन नागरिकको जीवनसँग जोडिए की जोडिएनन्, त्यसले जीवनस्तर बदल्न कत्तिको सहयोगी भयो भन्ने कुरा पनि होलान् नि?
पक्कै पनि, यी कति नागरिकको जीवनसँग जोडिए होलान, कति जोडिएनन् पनि होला। अथवा हामीले जसरी जोड्नु पर्थ्यो त्यसरी जोड्नु सकिएन होला।
तर कुरा यति मात्र होइन।
राज्यबाट प्राप्त गर्ने सेवा सुविधाहरू निश्चित वर्गको पहुँचमा मात्रै पुग्यो, अथवा निश्चित वर्षले कब्जा नै गर्यो। जस्तो समानुपातिक सिटहरू, अरू कतिपय राज्यले दिने सेवा सुविधा पनि छन्, ती पनि पहुँचवालाहरूको नजिकका मान्छेले कब्जा गरे। संसदमा आउने समानुपातिक सिट, सबै त म भन्दिनँ तर केही सिटहरू त्यस्ता भए। त्यसप्रति मान्छेको आक्रोश बढ्दै गयो। जीवनशैली, बोली–व्यवहारका कुराहरूमा पनि तालमेल मिलेन। योसँगै यसको अन्तर्राष्ट्रिय आयामलाई पनि हामीले जोडेर हेर्नुपर्छ।
अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूले पनि समाज, युवा पुस्तालाई आक्रोशित तुल्याउन भूमिका खेलिरहेको थियो भन्ने चाहिँ तपाईंलाई लाग्दैन?
होला। हाम्रो अध्यक्षका स्टेटमेन्ट (अभिव्यक्ति) हरूले पनि कतिपय उत्तेजना फैलाएको हुन सक्छ। अरू कुनै पार्टीका नेताको अभिव्यक्तिले पनि उत्तेजना फैलाएको हुन सक्छ। हाम्रो अध्यक्ष केपी शर्मा ओलीको विशेषता के हो भने, उहाँ आफूलाई लागेका कुराहरू दृण्ढताका साथ प्रस्तुत गर्नुहुन्छ। दायाँ बायाँ नगरी, नसोचिकन प्रस्तुत गर्नुहुन्छ। त्यसो हुँदा कतिपयले त्यसलाई आफै, आफ्नै लागि बोलिदिएको जस्तो ठान्छन्। कतिपयले एकदमै गलत बोल्यो भन्ने पनि ठान्छन्। हामी देख्छौं, कतिपय नेताहरू जहाँ जस्तो भीड छ त्यस्तै बोल्दिन्छन्। तर केपी शर्मा ओलीको स्वभाव त्यस्तो भएन। भीडको मनोविज्ञान कस्तो छ भन्ने आधारमा होइन कि आफ्नो विचार के हो भन्ने आधारमा उहाँले बोलिदिनुहुन्छ। त्यसो हुँदा मास (भीड) लाई कहिलेकाहीँ कस्तो ठाडो बोलेको होला? किन हप्काको होला? भने जस्तो पनि भयो होला। त्यो उहाँको स्वभाव हो। होला, त्यसले पनि केही पक्कै पनि बढायो होला।
भदौ २३ र २४ को राजनीतिक परिघटना, परिवर्तन पछाडि दलहरूमा तीव्र धुर्वीकरण देखिएको छ। कतिपय दलहरू विघटन भएका छन्। नेपालको राजनीतिमा दलहरूबीच पुनर्गठन र एकीकरणको शृंखला चलिराखेको छ। तर राजनीतिक परिवर्तनको बतासले एमालेलाई चाहिँ पटक्कै छोएको देखिएन। पार्टीभित्र जसरी पुनर्गठनको बहस उठ्नुपर्थ्यो, नेतृत्व परिवर्तनको बारेमा सघन छलफल र विस्तृतिकरण हुनुपर्थ्यो, त्यो भएन किन होला?
भदौ २३ र २४ गते नेपालको राजनीतिमा अकल्पनीय भूकम्प गएको हो। गम्भीर धक्का गएको हो। त्यो १० रेक्टर स्कलको थियो कि त्योभन्दा माथिको थियो, म यसै भन्न सक्दिनँ। जब भूकम्पको ठूलो धक्का आउँछ, यसपछाडिको अवस्था पूर्ववत अवस्थामा छ भनेर बुझ्नु हुँदैन। घरहरू लड्छन्। बाटोहरू भत्किन्छन्। एयरपोर्टहरूमा भ्वाङ पर्छन्। त्यसपछि बल्ल पुनर्निर्माण हुन्छ।
पुनर्निर्माण हुँदै जाँदा पहिलेकै अवस्थामा आउँदैन। पहिलेको अवस्थामै छ भनेर बसियो भने हाम्रो बेहाल हुन्छ। हामी पहिलेको अवस्थामा छैनौं। नेकपा एमालेलाई पनि यो भूकम्पीय धक्काले छोएको छ। नेकपा एमालेका घरहरू चर्केका छन्। नेकपा एमालेभित्र आनन्दले बसिराखेका मान्छेहरू ब्युँझेका छन्। भाग्नु परेको छ। कता जाने के गर्ने अन्यौलको अवस्था पनि छ। हिजो जहाँ, जुन कोठामा बसेका थिए, आज उनीहरू त्यो कोठामा छैनन्। त्यो कोठाबाट भागिराखेका छन्। सडकमा पुगेका छन्। अरू विभिन्न ठाउँमा पुगेका होलान्। त्यसैले नेकपा एमालेले पनि आफूलाई पुनर्निर्माण गर्नुपर्छ।
पुनर्निर्माणको कोशेढुंगा यो महाधिवेशन बन्छ कि बन्दैन?
बन्छ। महाधिवेशन बन्नै पर्छ। तब त हामीले महाधिवेशन गरिराखेका छौं। नत्र त हामीले २०८३ साल मंसिरमा गर्दा हुन्थ्यो। आज हामी किन २०८२ मंसिरमा गर्दैछौं भने भने त्यो भूकम्पीय धक्काबाट बाट हाम्रो घर चर्केको छ, भत्केको छ, कोठाहरू फाटेका छन्, त्यसो भएको हुनाले त्यसलाई नयाँ ढंगले पुनर्निर्माण गर्नुपर्छ भन्नका निम्ति यो महाधिवेशन आयोजना गरिराखेका छौं।
एमालेभित्र नेताहरूले प्रतिस्पर्धा त अंगीकार गरे तर परिणाम आत्मसात गर्न सकेनन्। महाधिवेशनको प्रतिस्पर्धाले पार्टीभित्रको विग्रह फराकिलो बनायो। आठौं महाधिवेशनयताका प्रतिस्पर्धा हेरौं त, त्यतिबेला अध्यक्षमा प्रतिस्पर्धा गरेका र निर्वाचित भएका झलनाथ खनाल, त्यसपछि प्रतिस्पर्धा गरेका र पराजित भएका माधवकुमार नेपाल र दसौंमा प्रतिस्पर्धा गरेका भीम रावल सबै पार्टीमा रहने स्थिति बनेन? यस्तो किन भयो होला?
आजको दिनमा नेकपा एमालेको सांगठनिक जीवनको सबभन्दा पेचिलो प्रश्न हो यो, जो हामीले भोगिराखे छौं। तर यसको हल खोज्नु पर्छ। नेकपा एमाले एउटा विशाल विश्वविद्यालय हो। विशाल विश्वविद्यालय हुनुको नाताले नेकपा एमालेका अनुसन्धान विभागले यसको पनि गम्भीर अनुसन्धान गर्नु पर्छ। किन यो भइराखेको छ? प्रतिस्पर्धापछि सँगै काम गर्ने संस्कार हामीले किन विकास गरेनौं? किन हामीले पार्टीभित्रको प्रतिस्पर्धालाई दुई दलको प्रतिस्पर्धा जस्तो ठानिराखेका छौं? कांग्रेस र एमालेको प्रतिस्पर्धा त होइन नि, एमालेभित्रको प्रतिस्पर्धा भनेको। त्यो त आफैभित्रको हो। तपाईं र मेरो बीचको, पार्टी सदस्यहरू बीचको हो। अझ नेता–नेता बीचको। त्यो परिणामलाई हामीले जितहारको रूपमा भन्दा पनि एउटा प्रतिस्पर्धाको रूपमा अंगीकार गर्न नसक्दा पार्टीहरू विभाजित भइराखेका छन्। नेकपा एमालेले त्यसको नोक्सानी बेहोरिराखेको छ। त्यसो हुँदा म के भन्न चाहन्छु भने हामीले प्रतिस्पर्धाको परिणामपछि सँगै बस्ने संस्कार बनाउनै पर्छ। जसले जित्यो उसलाई हामीले नेता स्वीकार्नै पर्छ। जसले जित्न सकेन ऊ मेरो सहयोगी, साथीे, कमरेड हो, उसलाई मैले सँगै लिएर जानुपर्छ भन्ने भावना विकास गर्नैपर्छ।
अहिले एमालेभित्र सैद्धान्तिक बहस, विमर्शको पाटो एकातिर छ, बढ्ता छलफल नेतृत्व चयनमा देखिन्छ। प्रतिस्पर्धा कसरी होला भन्नेमा छ। आज मानिसहरूले के चिन्ता गरिराखेका छन् भने नवौं महाधिवेशनपछाडि जसरी प्यानलगत प्रतिस्पर्धा भयो, कतै त्यस्तै प्यानलगत प्रतिस्पर्धा भएर फेरि विभाजनको बाटोमा अग्रसर हुने त होइन भन्ने उनीहरूमा एक खालको चिन्ता देखिन्छ? के भन्नुहुन्छ?
यसमा प्रष्ट छ– केपी ओलीले यो पार्टी विभाजन गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। आज उहाँसँग प्रतिस्पर्धा गर्ने भनेर अगाडि खडा हुनुभएको छ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। उहाँले पनि यो पार्टी विभाजन गर्नुहुन्छ मलाई लाग्दैन।
पार्टी विभाजनको च्याप्टर हाम्रो क्लोज भैसक्यो।
हामी जति पनि आफ्नो भूमिका खोज्छौं, यही पार्टीभित्र खोज्छौं। पदमा बसेर होस् नबसेर होस्।
मानौं न, कतिपयले भन्छन्– केपी ओली पराजित हुनुभयो भने पार्टी नै विभाजन गर्नुहुन्छ। अब ७५ वर्षको उमेरको मान्छेले के पार्टी विभाजन गर्नुहुन्छ? के को लागि गर्नुहुन्छ? जुन पार्टीले उहाँलाई यो ठाउँमा पुर्यायो, त्यो पार्टी कसरी विभाजन गर्नुहुन्छ? गर्नु हुन्न।
मानौं कसैले भन्छ, हैन ईश्वर पोखरेलजी हार्नुभयो भने भीम रावलजीको जस्तो अवस्था बन्छ भनेर एउटा उपमा दिने गर्दछौं।
ईश्वर पोखरेलजीले किन विभाजन गर्नुहुन्छ? जो यो पार्टी निर्माणको आधारशीला, जग हुनुहुन्छ। उहाँले नै एमाले पार्टी निर्माणको जग राख्नुभएको हो। कोअर्डिनेसन केन्द्र भन्छौं हामी, २०३२–३३ सालमा गठन भएको। त्यसको उहाँ संस्थापक सदस्य हो, फाउन्डर मेम्बर। फाउन्डर मेम्बरहरूमध्ये अब एक–दुई जना मात्रै हुनुहुन्छ। कोअर्डिनेसन केन्द्र बनाउँदा अरू नेताहरू जेलमा हुनुहुन्थ्यो। त्यसमध्ये अमृत बोहरा, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने हुनुहुन्छ, उहाँहरू एमालेमा हुनुहुन्छ। आफूले बनाएको, जग हालेको पार्टी कसरी उहाँले विभाजन गर्नुहुन्छ? अनि बेतुकका आरोप किन लगाउने उहाँलाई?
यसकारण न केपी ओलीले पार्टी विभाजन गर्नुहुन्छ न उहाँले। अरू कसैले पनि विभाजन गर्दैन।
यो पार्टीको एक बनाउनको निम्ति हामीले जे कसम खानुपर्ने हो खान्छौ। तर पार्टीभित्रका गलत प्रवृत्तिका विरुद्ध जुध्छौ लड्छौं। पार्टी एकताको लागि कति ठाउँमा शपथ ग्रहण गर्नुपर्ने हो? शपथ खानुपर्ने हो? कति ठाउँमा कसम खानुपर्ने हो? त्यो कसम खान्छौं हामी।
पार्टी विभाजन हुँदैन। कोही नतर्सिनु! म तपाईं मार्फत् नेकपा एमालेका प्रतिनिधि साथीहरूलाई भन्न चाहन्छु– अहो! यिनीहरूले पार्टी विभाजन गर्छन् कि? के गर्छन्? कोही नतर्सिनु। यो त्रास देखाइँदै छ पार्टीभित्र– विभाजन गर्छन् है विभाजन गर्छन्!
त्यसकारण हामीले भन्छौँ कि पार्टीभित्रको सम्बन्ध आश र त्रासको हुनुहुँदैन। कमरेडली भावना हुनुपर्छ। विश्वासको सम्बन्ध हुनुपर्छ। मायाको सम्बन्ध हुनुपर्छ। फलानालाई भोट हालेनौ, फलानालाई अध्यक्ष बनाएनौ भने त भोलि संसदको टिकट पाउदैनौ! यो त्रास हो। फलानालाई जिताएनौ भने त भोलि कमिटीमै हटाइदिन्छ। यो त्रास हो। त्यसकारण कार्यकर्ताले के गर्नु पर्यो भने, टिकट पाउन, कमिटीमा बस्न, राजदूत हुन जिएम हुन धाउनु पर्यो, त्यो आशले उसले आफ्नो सत्व नै गुमाउँछ। पार्टी सदस्यको सत्व गुमाएर कुन पार्टी बन्छ? त्यसकारण आश र त्रासको सम्बन्ध अन्त्य गर्दिनुपर्छ।
तपाईंसँग कुराकानी गर्नु भन्दाअगाडि मैले यसो फेसबुक स्क्रोल गर्दै थिएँ, त्यहाँ विद्या भण्डारीले अपील लेख्नु भएको रहेछ– नेतृत्व तहबाट मेरो नवीकरण भैकेको सदस्यता स्थगित गरियो, खारेज गरियो! मलाई पार्टीमा फर्कन दिइएन भन्ने उहाँको दुखेसो रहेछ। दुईदुई पटक उपाध्यक्ष, पूर्वराष्ट्रपति भइसकेको व्यक्तित्वले पार्टी सदस्यता नवीकरण गर्न यति गाह्रो हुने अवस्था किन आयो होला?
विद्या भण्डारी पार्टीमा आउनुहुन्थ्यो कि हुन्थेन, पार्टी सदस्य हुने बित्तिकै उहाँ पार्टी अध्यक्षमै फाइट गर्नु हुन्थ्यो कि हुन्थेन? बहस आफ्नो ठाउँमा छ। छलफल गर्न सकिन्छ। तर उहाँमाथि बहुमतको नाममा जे व्यवहार गरियो, यो त के भन्ने? यसलाई भन्न अब मसँग शब्द पनि छैन।
अति नै अन्याय भयो?
शब्दै छैन के! त्यति एउटा सम्मानित नागरिक हो नि उहाँ। पूर्व राष्ट्रपति। राष्ट्रपति हुँदा पनि उहाँले मुलुकको हितमै काम गनुभएको छ। एउटा बलियो नेतृत्वको रूपमा आफूलाई स्थापित गर्नुभएको छ। प्रतिभाशाली, प्रभावशाली नेतृत्वको रुपमा स्थापित गर्नुभएको छ। दुईपल्ट पार्टी उपाध्यक्ष हुनुभएको छ। २०३७ सालमा पार्टी सदस्यता लिएर काम गर्नुभएको छ। महेन्द्र मोरङ क्याम्पसको स्ववियुमा उहाँले त्यो बेला चुनाव जित्नुभएको छ। पारिवारिक नाता छाडिदिऊ। मदन भण्डारीसँग नाता जोडिएको कारणले मात्रै नभनौं न। उहाँको आफ्नै योगदान पनि छ नि!
उहाँलाई जसरी एउटा भनौं न, गल्ती गरेको सैनिकलाई जसरी कोटमार्सल गरिन्छ नि, एमालेमा, एमालेको निर्णयले उहाँलाई त कोटमार्सल गरे के! चारपाटा मुडेर बाटोमा निकाल्दिए जस्तो के!
यसको क्षतिपूर्ति यो महाधिवेशनले गर्ला?
गर्ला(नगर्ला। तर हामीले भयंकर नराम्रो दृष्टान्त बनायौं। न्याय गर्ला नगर्ला मलाई त्यसमा त्यति विश्वास पनि छैन। किनभने मुख्य नेतृत्वले जे स्कुलिङ गर्ने हो, त्यही स्कुलिङ जान्छ पार्टीमा।
विद्या कमरेडको साइडबाट पनि केहि कमजोरी भए होलान्। एक–दुइटा। उहाँले जे सार्वजनिक वक्तव्य दिनुभयो, मलाई त्यसमा त्यति उचित लाग्दैन। लागेन। त्यसले पार्टीभित्र उत्तेजना फैलाउने काम गर्यो होला। तर पार्टी अध्यक्षले यसलाई जसरी साम्य बनाउनुपर्थ्यो, जसरी एउटा मानवीय हिसाबले। हार्दिकतापूर्वक यसलाई ल्यान्डिङ गर्नुपर्थ्यो। त्यसमा उहाँ चुक्नु भयो भन्ने लाग्छ मलाई। उहाँ चुक्नुभयो। त्यस कारण उहाँको जीवनमा एउटा ठूलो र भयंकर गल्ती हो यो।
एमाले सचिव योगेश भट्टराईसँगको पूरा कुराकानी, हेर्नुहोस् भिडिओमा —