नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औं महाधिवेशनमा मतदान हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो अनावरण गर्दै नेतृत्व चयनमा प्रतिस्पर्धा हुने तर स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह पनि गरे।
‘महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।’
अध्यक्षका हैसियतले आफूले सहमतिमा जोड दिने उनले बताए।
‘जसले छोड्नुपर्छ सहमतिका साथै छाडौं। जो बस्नुपर्छ सहमतिका साथ बसौं। सहमतिका साथ जाऔं। भन्दै गर्लान्, एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन। कसैलाई चुनावै लड्न दिइएने, भन्दै गर्लान्,’ उनले भने।
उनले अगाडि भने, ‘मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं। एकार्कामा टिप्पणी, आलोचना गर्ने, खुइल्याउने, होच्याउने, अपमान गर्ने काम किन गर्ने त्यस्तो, त्यस्तो नगरौं। परस्परमा सम्मानपूर्ण ढंगले चल्ने संस्कृति विकास गरौं। त्यो स्थापना गरौं। अरूलाई नहोच्याऊँ, अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्। नगरौं। नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ, प्रतिस्पर्धालाई नराम्रो मान्दैनौं फेरि।’