आफ्नै अध्यक्षतामा 'श्रम संस्कृति पार्टी' स्थापना गरेका धरानका मेयर हर्क साम्पाङ यति बेला चुनावी अभियानमा सक्रिय छन्।
उनी नयाँ पार्टीको संगठन विस्तारमा मात्र केन्द्रित छैनन्, आफ्नो नामका पछाडि 'वाद' जोडेर 'हर्कवाद' को एजेन्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा समेत गरेका छन्।
मंगलबार धरानमा आयोजित कार्यक्रममार्फत उनले पार्टीको अवधारणा पत्र तथा एजेन्डाहरू सार्वजनिक गरेका छन्।
'अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्र अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्ति अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद,' उनले भनेका छन्।
पछिल्लो समय संगठन विस्तारका लागि म्याराथन रेसमा रहेका साम्पाङले यो कामलाई संगठन विस्तार भनेका छैनन्, 'श्रमदाता विस्तार' नाम दिएका छन्।
'हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छैन,' पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले भने, 'हाम्रोमा सबै श्रमदाता मात्र हुन्छन्। म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु।'
ठ्याक्कै यही र यस्तै आह्वान गर्दै आउँदो चुनावलाई लक्ष्य गरेर पार्टी खोलेका साम्पाङले कोशी प्रदेशका पहाडी इलाकामा ठुल्ठूला सभा आयोजना गरिसकेका छन्। घरी रोएर, घरी भावुक आह्वान गरेर अनि कतै गीत गाएर सर्वसाधारण आकर्षित गरिरहेका उनले पछिल्लो महिना दिनयता मात्र कोशीका ८ ठाउँमा ठूला जनसभा गरिसकेका छन्।
हर्क आफै र उनका समर्थकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ती जनसभाका तस्बिर र भिडिओ उल्लेख्य जनसहभागिता देखिन्छ।
'अहिलेसम्म हामीले जहाँ–जहाँ सभा आयोजना गरेका छौं, त्यहाँ त्यहाँ जनसमर्थन उच्च पाएका छौं,' श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने, 'त्यसैले अध्यक्षज्यू सहित हामी सबै उत्साही छौं।'
मेयर साम्पाङको दलको केन्द्रीय कमिटीमा आदिवासी–जनजाति समुदायको बाहुल्य छ। आदिवासी–जनजाति बहुल क्षेत्रमै उनले पछिल्ला सभा आयोजना गरिरहेका छन्। आगामी दिनमा देशैभरि यस्ता सभा आयोजना गर्ने तयारी गरेको महासचिव राईको भनाइ छ।
'अहिले जिल्ला, स्थानीय तहहरूमा हाम्रो पार्टीका कमिटी धमाधम बनिरहेका छन्,' उनले भने, 'सोमबार मात्रै झापाको दमकमा सभा आयोजना भयो।'
यही मंसिर २० मा मकवानपुरको हेटौंडामा त्यस्तै सभा आयोजना गरेर हर्क साम्पाङ कोशी प्रदेश बाहिर निस्कँदैछन्। त्यसको भोलिपल्ट मंसिर २१ गते चितवनको नारायणगढमा, २२ गते काठमाडौंको सिफलमा, २३ गते काभ्रे र २७ गते खोटाङमा सभाको तयारी भइरहेको महासचिव राईले जानकारी दिए।
श्रम संस्कृति पार्टीले जिल्लाहरूमा धमाधम समिति बनेको तर सबैको जानकारी संकलन नभइसकेको बताएको छ। पार्टीले मुलुकका सातै प्रदेशमा कमिटी पनि बनाएको छ।
महासचिव राईका अनुसार कोशीमा पार्टीले अहिलेसम्म कसैलाई जिम्मेवारी दिएको छैन। मधेसमा दिपकजंग ठाकुर र ऐनुदिन कवारीलाई इन्चार्जको जिम्मा दिइएको छ। बागमतीमा जनजीत तामाङ, लुम्बिनीमा कुलवीर दर्लामी, गण्डकीमा हर्क पुन, कर्णालीमा भगत बराइली र सुदुरपश्चिम प्रदेशमा महेन्द्र पुनलाई इन्चार्जको जिम्मा दिइएको पार्टीले जनाएको छ।
श्रम गरेर मात्रै देश उँभो लाग्ने नारा लगाउँदै चुनावी सभाहरू गर्दै हिँडेका साम्पाङले अघि सारेको हर्कवादमा प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्ने उल्लेख छ।
यसका लागि अनिवार्य श्रम र श्रमदान उनको सिद्धान्तको मुख्य सर्त छ। हर्कको दलले बालिग मताधिकारद्धारा प्रत्यक्ष चुनिने राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याएको छ।
साम्पाङका अनुसार कार्यकारी राष्ट्रपतिको एक कार्यकाल पाँच वर्षको हुनेछ भने एक व्यक्ति दुई पटकभन्दा बढी चुनिन पाउने छैन।
'राष्ट्रपति र उपराष्ट्रपति एकै लिंग र एकै जाति-समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा) तर चुनिँदा के हुन्छ, त्यो नतिजानुसार हुनेछ,' उनको भनाइ छ, 'राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउनेछ। सांसद सरकारमा गए सांसद पद निलम्बन हुनेछ।'
हर्कका अनुसार व्यवस्थापिका संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक रहने कल्पना हर्कवादको छ।
संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्रियसभामा सबै प्रदेशको समान प्रतिनिधित्व रहने र प्रतिनिधिसभामा प्रदेशको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधत्व रहने व्यवस्था हुनुपर्ने उल्लेख छ।
प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिएझैं प्रत्यक्ष निर्वाचित हुने र राज्यका सबै अंगमा आदिवासी, जनजाति, खसआर्य, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने यो दलको एजेन्डा छ।
***