नेकपा एमालेको आसन्न एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन टुंगिन लागेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहतिर आकांक्षीहरू खुल्न थालेका छन्।
पार्टी अध्यक्ष ओलीले भने प्रतिस्पर्धा चाहेका छैनन्। उनले सम्भावित ध्रुवीकरण र उम्मेदवारी रोक्न भक्पुरको गुन्डुस्थित आफ्नो नयाँ निवासमा बसेर केन्द्रीय सदस्यहरूलाई सूची बाँड्ने बताइरहेका छन्।
स्रोतका अनुसार गण्डकी प्रदेशका केही केन्द्रीय सदस्य अध्यक्ष ओलीलाई भेट्न मंगलबार दिउँसो गुन्डु पुगेका थिए। यसरी जानेमा केन्द्रीय कमिटीको दसौं बैठकमा अध्यक्ष ओलीलाई प्रश्न गर्नेहरू पनि थिए।
आफूहरूसँगको भेटमा अध्यक्ष ओलीले यसपालि पनि आफैले सूची तयार पार्ने बताएको एक नेताले जानकारी दिए।
'सबैलाई समेट्दै र सबैको भावनाको प्रतिनिधित्व गर्दै सूची तयार पार्छु भनेर अध्यक्षज्यूले भन्नुभयो,' मंगलबारको भेटमा सहभागी एक नेताले सेतोपाटीसँग भने, 'सबैले त्यही सूचीमा भोट हाल्नुपर्ने कुरा उहाँले राख्नुभयो।'
उनका अनुसार ओलीले क–कसलाई समेटेर कसरी सूची बनाउने भन्नेबारे विस्तारमा बताएनन्।
गुन्डु पुगेका अर्का नेताका अनुसार अध्यक्ष ओलीमा अहिले आफूलाई मात्र भोट हालेर पदाधिकारीमा अन्यत्र हाल्ने हुन् कि भन्ने भय पनि देखिएको छ।
'कतिपयले मलाई मात्र भोट हाल्छु भनेको पनि सुनेको छु,' ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'म सूची बनाउँछु, सबैले त्यही सूचीमा मत हाल्ने हो। मलाई मात्र होइन, सबैलाई हाल्ने हो।'
'मलाई मात्रै हाल्ने सोच बनाएको हो भने मलाई पनि हाल्नु पर्दैन,' ओलीले भनेका छन्।
भक्तपुरमा उद्घाटन सत्र र भृकुटीमण्डपमा बन्दसत्र हुने तय भएको आसन्न महाधिवेशनमा ओलीले अध्यक्षमा निरन्तरता दिने बताइसकेका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिँदैछन्।
पोखरेलले केही दिनमै पत्रकार सम्मेलन गरेर औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा गर्न लागिएको उक्त पत्रकार सम्मेलनपछि एमालेभित्रको प्रतिस्पर्धा थप पेचिलो देखिनेछ।
अध्यक्षबाहेक अरूको उम्मेदवारी टुंगो लागेको छैन। महासचिवमा तीन आकांक्षीले दाबी प्रस्तुत गरेका छन्। महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीले ओलीसमक्ष महासचिवको प्रस्ताव गरिसकेका छन्।
उपाध्यक्ष विष्णु पौडेलले पनि महासचिवमा आकांक्षा राखेका छन्। गुरूङ र पौडेलले एकअर्कालाई महासचिव स्विकार्ने गरी ओलीलाई दबाब बढाइरहेका छन्। उपाध्यक्षसहित अन्य पदमा भने आकांक्षी खुल्न सकेका छैनन्।
हाल उपाध्यक्ष रहेका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पोखरेलको पक्षमा खुलेकाले ओलीलाई उपाध्यक्ष व्यवस्थापन गर्न गाह्रो छैन। महासचिव भने ओली गुटभित्रै पेचिलो बनिरहेको छ।
अध्यक्षको भित्री चाहना नबुझेकाले पनि पदाधिकारीको आकांक्षामा मानिसहरू खुल्न नसकेको नेताहरू बताउँछन्।
विधान महाधिवेशनले हाल कायम १९ पदाधिकारी संख्या कटौती गरेर १५ मा झारेकाले ओलीलाई आकांक्षी व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। कतिपयले विधानमा कायम रहेको पदाधिकारीको सीमा बढाउन पनि सुझाव दिएका छन्।
महाधिवेशन आउन अब १० दिन मात्र बाँकी छ। यसबीच कोशीका केही जिल्लाबाहेक अन्यमा प्रतिनिधि चयन टुंगिइसकेको छ। भूगोल, सम्पर्क समन्वय, विशेष जिल्ला कमिटी, केन्द्रीय विभाग र निकाय गरी करिब १७०० प्रतिनिधि छानिइसकेका छन्।
ओखलढुंगा, दाङ लगायत जिल्लामा प्रतिनिधि छनोट विवादित बनेको छ। ओखलढुंगामा केन्द्रीय संगठन विभागले पुनः मतदान गर्न निर्देशन दिइसकेको छ भने दाङको विवाद मुल्तवीमै छ।
ओखलढुंगा वरिष्ठ उपाध्यक्ष पोखरेलको पुर्ख्यौली जिल्ला हो। त्यहाँ निर्वाचनबाट टुंगिइसकेको प्रतिनिधि चयन केन्द्रले नै टुंग्याउन खोजेको भन्दै संस्थापन इतर समूहले प्रतिवादको चेतावनी दिएको छ।
दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो। त्यहाँको विवाद केन्द्रले चासो नदेखाएको भन्दै कार्यकर्ताले गुनासो गरेका छन्।
सल्यानको प्रतिनिधि चयन पनि विवादमा परेको छ। तर संस्थापन पक्षले एकलौटी गरेको भनिएका दाङ र सल्यानको प्रतिनिधि चयनमा केन्द्रले केही प्रतिक्रिया दिएको छैन।
गण्डकी र लुम्बिनी प्रदेशमा ओलीसँग रूष्ट हुने प्रतिनिधि संख्या अधिक छ। गण्डकी पृथ्वीसुब्बा गुरूङको प्रभाव क्षेत्र हो। त्यहाँ ओली समूहमै रहेका गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्रतिस्पर्धा छ।
खगराज पक्षका नेता–कार्यकर्ता र छानिएका प्रतिनिधि ओलीका कट्टर समर्थक हुन् भने प्रदेशमा गुरूङको पक्षमा खुलेका कतिपय प्रतिनिधिले केन्द्रमा ओलीलाई भोट नहाल्न पनि सक्छन्। कतिपयले ओलीलाई भोट हाले पनि अरू पदमा मत बाँड्न सक्छन्।
गण्डकीमा मात्र नभई लुम्बिनी लगायत अरू प्रदेशमा पनि त्यस्तो सम्भावना देखिँदै छ। महासचिव शंकर पोखरेलको कार्यशैलीलाई लिएर संस्थापनभित्रै प्रश्न उठ्ने गरेको छ। त्यही भय ओलीलाई पनि छ।
'मत छिरलिने देखेरै ओलीले मलाई मात्र हाल्ने भए मत नहाल्नू भनेको हुनसक्छ। अध्यक्षमा ओलीलाई मत हाले पनि पदाधिकारीतर्फ मत बाँडिनसक्ने देखिन्छ। ओलीलो सूची बनाउने भनेको पनि त्यसैलाई रोक्न हो,' गुन्डु पुगेका ती नेताले भने।
***