अमेरिकी सेनाको बारेमा प्रेस पहुँच र रिपोर्टिङमा नयाँ बन्देज लगाएको भन्दै द न्यूयोर्क टाइम्सले अमेरिकी रक्षामन्त्री पीट हेगसेथ विरुद्ध मुद्दा दायर गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्री बनाउनु अघि फक्स न्युजमा कार्यक्रम चलाउने हेगसेथले अक्टोबरमा ल्याएको नयाँ नियमले पेन्टागनको प्रेस पास पाउने पत्रकारहरूलाई उनले अनुमोदन नगरेको जानकारी माग्न निषेध गरेको थियो।
त्यस्तो बन्देज लगाउने नियम नमान्ने दर्जनौं पत्रकारहरूले प्रेस पास नै फिर्ता गर्नु परेको थियो।
मूलधारका मिडियालाई प्रेस पास नदिएर रक्षा मन्त्रालयले ट्रम्पको अन्धो समर्थन गर्ने मिडियालाई मात्रै पहुँच दिएको थियो।
त्यसका विरूद्ध टाइम्सले बिहिबार वाशिंगटनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सो मुद्दामा हेगसेथ, रक्षा मन्त्रालय र पेन्टागनका प्रमुख प्रवक्ता सन पार्नेललाई प्रतिवादी बनाएको छ।
ट्रम्प स्वयंले पनि आफ्नो समर्थन नगर्ने मिडियालाई लगातार आक्रमण गरेका छन्। ती मिडियालाई दुःख दिन मुद्दा हालेका छन्। धेरै मिडियाले सरकारले मिडिया मालिकका अरू व्यवसायलाई नोक्सानी पुर्याउने डरले मुद्दा नलडेर ट्रम्पलाई ठूलो रकम दिएर मुद्दा मिलाएका छन्।
टाइम्सले आफूलाई बदनाम गरेको र २०२४ को चुनावमा आफ्नो अभियानलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै फ्लोरिडा राज्यमा ट्रम्पले टाइम्स विरूद्ध पनि मुद्दा दायर गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)