नागरिक समाजका अगुवाहरूले देश संवेदनशील मोडमा रहेकाले सरकारको म्यान्डेट र क्षमताभन्दा बाहिर माग उठाउँदै भ्रम फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्।
नागरिक अगुवाहरूको तर्फबाट बिहीबार केदारभक्त माथेमाले विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ मा भएको जेन्जी (नवयुवा) आन्दोलनपछि उत्पन्न चुनौतीले मुलुकलाई थप अस्थिर बनाउन नदिन जिम्मेवार बन्नुपर्ने बताएका हुन्।
'राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समुहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ,' विज्ञप्तीमा भनिएको छ।
राजनीतिक वा समूहगत एजेन्डा अघि सारेर सरकारलाई अवरोध पुर्याउने प्रयासले राष्ट्रलाई झनै कमजोर बनाउने चेतावनी दिए।
निर्धारित मिति फागुन २१ गते निर्वाचन नहुन गएर सिर्जना हुने रिक्तता देशका लागि दूरगामी हुन सक्ने उल्लेख गर्दै सबै पक्ष संयमित हुन अपिल गरिएको छ।
अपिलमा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनजस्ता प्रवृत्ति अन्त्य गर्दै मुलुकलाई असल शासनतर्फ अघि बढाउन, तथा सबैको ध्यान आगामी फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित गर्न आग्रह छ। निर्वाचनमार्फतै संवैधानिक प्रक्रिया जीवन्त हुने र राजनीतिक दलहरूले अर्थपूर्ण गति पाउने उनीहरूको तर्क छ।
स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगलाई विशेष तयारी गर्न आग्रह गरिएको छ। चुनावी वातावरणमा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न सरकारलाई खबरदारी समेत गरिएको छ।
नागरिक समाज, राजनीतिक शक्ति, सञ्चार माध्यम, नवयुवाहरू तथा विभिन्न पेशागत समूहहरूलाई आगामी निर्वाचन सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्न आव्हान गरिएको छ।