काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले बिरामी रहेका छोराको हत्या गरेको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय असई पुष्कर कार्की हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
उनले आइतबार दिउँसो करिब साढे ३ बजेतिर चार महिने छोरा माहिर कार्कीको हत्या गरेको आरोप छ।
उनकी श्रीमती विष्णा साउद पनि प्रहरी जवान हुन्। बच्चाको जन्म भएयता उनी कार्यालय गएकी थिइनन्। उनी पनि विमानस्थलमै कार्यरत थिइन्।
अहिले यो घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ। एक प्रहरी अधिकारीका अनुसार माहिर बिरामी थिए। उनको ब्रेन हेमरेज भएको थियो।
‘बच्चालाई ब्रेन हेमरेज भएको रहेछ। त्यही बेलामा एक पटक उपचार गराइसकेको हो। अपरेशन नै भएको पनि देखियो,’ ती अधिकारीले भने।
बालकको उपचारका लागि ७/८ लाख रुपैयाँ खर्च समेत भइसकेको ती प्रहरीले बताए। ‘उपचारको लागि थुप्रै खर्च गरिसकेका रहेछन्। तर पनि उपचार पूरा हुन नसकेको देखियो,’ उनले भने।
बालकको अझै पनि हेमरेश पूर्ण रूपमा निको नभएको चिकित्सकहरूले बताएका थिए।
फेरि पनि अपरेशन गर्नुपर्ने तर अपरेशन गरेपनि सफल हुने ग्यारेन्टी नभएको चिकित्सकहरूको भनाइ थियो।
यही बालकको उपचारकै विषयमा असई कार्की र उनकी श्रीमतीबीच आइतबार बिहान विवाद भएको देखिएको छ।
त्यसदिन उनी ड्युटीका लागि कार्यालय समेत पुगेको अनुसन्धानको क्रममा देखिएको छ।
ड्युटीबाट फर्किएपछि श्रीमती बिष्णा लुगा धुँदै थिइन्। त्यही बेला पुष्करले आफ्ना चार महिने छोराको हत्या गरे। बालकको घाँटीमा चोट देखिएको छ।
त्यस्तै उक्त घटनापछि पुष्करले आफ्नी श्रीमतीलाई पनि जानकारी गराए। त्यसपछि भित्रै श्रीमतीको मुख थुनेर हत्या गर्ने प्रयास भएको प्रहरीसमक्ष बताएकी छिन्।
कोठा बाहिर आएर चिच्याएर सहयोग मागेपछि भने पुष्करले ढुंगा प्रयोग गरी आफ्नी श्रीमतीको पनि टाउकोमा बारम्बार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
‘घाइते भएकी श्रीमतीलाई स्थानीयले अस्पतालमा पठाए। स्थानीयले नै प्रहरीको कन्ट्रोलमा फोन गरेको देखिन्छ,’ ती प्रहरी अधिकारीले भने।
विष्णाको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट छ।
घटनापछि असई पुष्करले आफ्ना छोराको शवलाई बेडमा राखेका थिए। त्यही छेवैमा प्रयोग गरेको छुरा पनि भेटिएको थियो।
डेरा पछाडिबाट उनी भागेको अनुसन्धानमा देखिएको हो।
घटनापछि प्रहरी वृत्त गौशाला, प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढायो।
यता पुष्कर फरार भइसकेका थिए। उनको खोजी गर्न प्रहरीले सिसिटिभी फुटेज पनि केलाएको थियो। उनी काठमाडौं उपत्यका छाडेर भाग्न सक्ने भनेर प्रहरीले नाकाहरूमा पनि पत्राचार गरिसकेको थियो।
खोजी गर्ने क्रममा पुष्कर नागढुंगा चेकपोष्टमा भेटिएका थिए।
उनी धरान जानेतर्फ जाँद गरेको बसा थिए। चेकिङमा परेपछि उनी त्यहाँबाट पनि भागेका थिए। प्रहरीले उनलाई पछ्याएर पक्राउ गरेको हो।