विगतका निर्वाचनहरूमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले सधैं ढिलाइ गर्थ्यो।
अरू राजनीतिक दलले उम्मेदवार टुंगो लगाइसक्दा पनि कांग्रेस कसलाई कहाँ टिकट दिने भनेर आन्तरिक मतभेदमै रूमलिइरहेको हुन्थ्यो।
विवादकै कारण उम्मेदवारी दर्ताको अन्तिम दिनमै टिकट दिइएका उदाहरण पनि छन्। यसपालि भने उम्मेदवार सिफारिस गर्नमा नेपाली कांग्रेस अरू दलभन्दा अगाडि देखिएको छ।
कांग्रेसका क्षेत्रीय समितिहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकका लागि अहिले नै धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।
विधानअनुसार एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भए पनि शीर्ष नेताहरूका क्षेत्रमा एकल रूपमा उम्मेदवारी सिफारिस भएको छ। कतिपय क्षेत्रमा भने उम्मेदवारको लर्को नै छ।
कांग्रेसले मंसिर २८ गतेभित्र राष्ट्रियसभा र प्रतिनिधिसभातर्फ आकांक्षी उम्मेदवारको नाम माथिल्ला निकायमा सिफारिस गर्न समय दिएको छ।
त्यसअनुसार अधिकांश क्षेत्रीय कार्यसमितिहरूले आकांक्षी उम्मेदवारको नाम जिल्ला पठाइसकेका छन् र अब ती नाम प्रदेश कार्यसमिति पुगेर केन्द्रमा सिफारिसका रूपमा आउनेछ।
उम्मेदवार सिफारिस भएका नाममाथि संसदीय समितिमा छलफल गरेर टिकट दिने व्यवस्था कांग्रेसभित्र छ। पार्टीका तल्ला निकायहरूबाट सिफारिसमा नपरेकालाई केन्द्रले सिधै उम्मेदवार बनाउन पाउँदैन।
कांग्रेसले यसपालि किन यति छिट्टै उम्मेदवार चयन गर्न खोजेको हो त? हामीले यो प्रश्न प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई सोधेका छौं।
उनले पार्टी गतिशील भएको सन्देश दिन खोजिएको बताए।
'हाम्रो पार्टी गतिशील हुन थाल्यो, विगतमा ढिला टिकट दिँदा नोक्सान भयो भन्ने समीक्षा पनि रह्यो, त्यस कारण यसपालि छिट्टै उम्मेदवार सिफारिस गर्न भनिएको हो,' उनले सेतोपाटीसँग भने।
समय छँदै उम्मेदवार सिफारिस गर्दा चुनाव प्रचारप्रसार र कार्यकर्ता परिचालनमा सहज हुने कांग्रेसको बुझाइ छ।
कांग्रेसले यसपालि उम्मेदवार चयन गर्न मापदण्डसमेत तोकेको थियो। त्यसका कारण क्षेत्रीय समितिहरूलाई उम्मेदवारको सिफारिस गर्न पनि विगतमा भन्दा सहज भएको थियो।
कांग्रेसले क्षेत्रीय कार्यसमितिलाई राष्ट्रियसभा, प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ गरी एकै पटक उम्मेदवारको नाम संकलन गरी सिफारिस गर्न जिम्मेवारी दिएको थियो। त्यसअनुसार द्रुत गतिमा उम्मेदवार सिफारिस भएका हुन्।
उम्मेदवार सिफारिस गर्दा कांग्रेसले यसपालि जेनजी पुस्तालाई पनि समेटेको छ। भदौ २३ र २४ गते जेनजी पुस्ता आन्दोलन भएकोले उक्त आन्दोलनको भावनाअनुसार युवाहरूलाई अघि बढाउन कांग्रेसले जमर्को गरेको छ।
गोरखाबाट २६ वर्षका रचन परियार, लमजुङबाट राजकुमार गुरूङ प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् भने रूपन्देही २ बाट सुदीप शर्माको नाम सिफारिस भएको छ।
कांग्रेसमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित हुनुपर्ने भन्दै रूपान्तरण अभियान चलाइरहेका युवा शिव रिमाल लमजुङबाट उम्मेदवार सिफारिस भएका छन् भने प्रेमिका राना मगर इलाम २ बाट समानुपातिकतर्फ पहिलो नम्बरमा उम्मेदवार सिफारिस भएकी छन्। अन्यत्र पनि युवाहरू उम्मेदवारका रूपमा सिफारिस भएको अवस्था रहेको नेताहरू बताउँछन्।
क्षेत्रबाट प्राप्त नामबारे आज बुधबार जिल्लामा छलफल भएर सिफारिस प्रदेशमा पुगेको छ। सातै प्रदेश कार्यसमितिबाट ती नाम भोलि केन्द्रमा पठाइनेछ।
मंसिर १५ गते सकिएको केन्द्रीय समिति बैठकले नै यसपालि उम्मेदवार छिटो सिफारिस गर्न पार्टीका निकायहरूलाई आवश्यक निर्देशन दिने निर्णय गरेको थियो। मापदण्डसहित परिपत्र पठाएर उम्मेदवारको सिफारिस मागिएको थियो।
कांग्रेसले उम्मेदवार सिफारिससँगै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण काम पनि धमाधम रूपमा अघि बढाएको छ। पुस १६ देखि वडा अधिवेशन गरी पुसकै २६-२८ गतेसम्म १५औं महाधिवेशन गर्न वडा तहसम्मका कार्यसमिति परिचालित भएका छन्।
कांग्रेसले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट दिने गरी निर्वाचन आयोगमा दल दर्ता गरेको छ। पुसमा १५औं महाधिवेशन भएर पार्टी नेतृत्व फेरिएपछि टिकटमा हस्ताक्षर गर्ने पदाधिकारीको नाम संशोधन हुनेछ।
माघ ११ मा राष्ट्रियसभा निर्वाचन हुने भएकोले सभापति देउवाकै हस्ताक्षरमा उनीहरूले टिकट पाउनेछन्।
महामन्त्री गगन थापाले पुसको महाधिवेशनपछि नेतृत्व परिवर्तन हुने र उक्त नेतृत्वको हस्ताक्षर हुने गरी टिकट वितरण गर्न निर्वाचन आयोगमा संशोधन पठाइने बताएका छन्।
पुसमै महाधिवेशन हुने र अब सभापति पदमा शेरबहादुर देउवा उठ्न नमिल्ने भएका कारण पनि कांग्रेसले यसपालि छिट्टै उम्मेदवार सिफारिस र चयन गर्न खोजेको देखिन्छ।
पुस १८ र १९ गते प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार बन्दसूची बुझाउन निर्वाचन आयोगले दलहरूलाई समय दिएको छ। त्यसैले पनि कांग्रेसले उम्मेदवार सिफारिस छिटो पठाउन भनेको थियो।
पुस २३ गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका छ। प्रतिनिधिसभा समानुपातिक र राष्ट्रियसभातर्फ उम्मेदवारको टिकटमा कांग्रेसबाट सभापति देउवाको हस्ताक्षर हुनेछ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ताको तालिका छ। तोकिएको समयमै १५ औं महाधिवेशन भए प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको एक साताअघि कांग्रेसमा नयाँ नेतृत्व आउनेछ।
कांग्रेसका कतिपय नेताहरूले सभापति देउवा पक्षले १५औं महाधिवेशन प्रभावित पार्ने गरी उम्मेदवार सिफारिस गर्न छिट्टै समय दिइएको भन्दै आलोचनासमेत गरेका छन्।
नेकपा एमाले ११औं महाधिवेशनमा होमिएको छ, उसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया नै सुरू गरेको छैन। निर्वाचनमा भाग लिन एमालेले दल दर्ता भने गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार सिफारिस प्रक्रिया थालेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ उम्मेदवार दिन आकांक्षा राख्नेहरूबाट नामावली दिन आह्वान गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार चयन प्रक्रिया सुरू गरेको अवस्था छैन। नयाँ खुलेका र अरू पुराना दलहरूले पनि उम्मेदवार सिफारिस प्रक्रिया सुरू गरेका छैनन्।
विगतका चुनावमा अन्तिममा उम्मेदवार चयन प्रक्रिया सुरू गर्ने कांग्रेस यसपालि 'फर्स्ट' भएको नेताहरू बताउँछन्।