भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले 'जनआन्दोलन' का रूपमा स्वीकार गरेको छ।
आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौतामै यो आन्दोलनलाई 'जेनजी जनआन्दोलन' भनिएको छ।
उक्त सम्झौताको प्रस्तावनामा पनि 'जेनजी जनआन्दोलन' नै भनिएको छ।
हस्ताक्षर समारोहबारे प्रधानमन्त्री सुशीला कार्कीकी प्रेस सल्लाहकार राम रावलले सार्वजनिक गरेको सूचनामा 'जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम' हुन लागेको जानकारी दिइएको छ।
आन्दोलन आह्वान गर्ने र त्यसमा सहभागी भएका युवाहरूकै माग अनुसार नै सरकारले भदौ २३ र २४ को घटनालाई 'जेनजी जनआन्दोलन' भनेको हो।
भविष्यमा आउने सरकारले पनि यो आन्दोलनको मर्म र उपलब्धि स्वीकार गरोस् भनेर जेनजी युवाहरूले सरकारसँग औपचारिक सम्झौताको माग गरिरहेका थिए। सँगसँगै, यसलाई जनआन्दोलन भनेर सम्बोधन गर्दै लिखित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको माग थियो।
गत साता जेनजी युवाहरूले प्रधानमन्त्रीलाई भेटेर यथाशीघ्र सम्झौता टुंगो लगाई हस्ताक्षर गर्न माग गरेका थिए। सम्झौतामा जेनजी आन्दोलनले उठाएका मागहरू समावेश गरिएका छन्।