नेपाः राष्ट्रिय पार्टीको अध्यक्षमा विजय सैजु निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको दोस्रो महाधिवेशनले उनको नेतृत्वमा ४३ केन्द्रीय सदस्य मनोनयन गरेको छ । विसं २०६४ माघ ३० गते स्थापना भएको सो पार्टीले ‘जनताको राष्ट्रवाद’लाई आदर्श मानेको छ ।
पार्टीमा ५१ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा आठ जनालाई पछि मनोनित गरिनेछ । विगतमा १३ पदाधिकारीको व्यवस्था गरिएको भए पनि यस पटक पदाधिकारी सङ्ख्या बढ्न सक्ने बताइएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पदाधिकारीको चयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष सैजुले सोही पार्टीका महासचिव पदको जिम्मेवारी पूरा गरिसकेका छन् । अध्यक्ष सैजुले आगामी दिनमा जनताको सेवालाई केन्द्रमा राखेर सामाजिक कार्य तथा विभिन्न राजनीतिक कार्यक्रम गरी पार्टीलाई देशव्यापी रुपमा सशक्त बनाइने बताए ।
स्थानीय तहको निर्वाचन बहिष्कार गरेको सो पार्टीले प्रादेशिक र केन्द्रीय चुनावमा सहभागिता जनाउने बताएको छ । रासस