काभ्रेपलाञ्चोकका स्थानीय तहमा सार्वजनिक बिदाका दिन पनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन स्थानीयवासीको भीड लागेको छ ।
आज श्रीकृष्ण जन्माष्टमीको दिनमा पनि फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन बिहान ६ बजेदेखि नै बनेपा नगरपालिकामा भीड देखिएको छ ।
सरकारले भदौं १ गतेदेखि नै फोटो सहितको मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएपछि सार्वजनिक बिदाको दिन पनि फोटो सहितको मतदाता नामावली संकलनका लागि भीड लागेको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।
बनेपा नगरपालिका १० सिनागालमार्गका नितेश कट्टेलले पटक/ पटक लाइनमा बस्दा पनि पालो नआएकाले बिहानैदेखि लाइनमा बसेको बताउँदै वैदेशिक रोजगारमा भएकाले मतदाता नामावलीमा नाम नभएकाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएको गुनासो गरे । जहिले पनि फर्म भर्दै फर्कंदै गरेकाले पालो आएन, अब आज पालो आउन सक्छ लाममा बसेका उनले भने ।
काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले जिल्लाको बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर लगायतका सबै नगरपालिका र केही गाउँपालिकमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन सार्वजनिक बिदाको दिन पनि भीड लागेको बताए । गएको साउन १ गतेदेखि २९ गतेसम्म जिल्लामा कुल २३ हजार ३१८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
नाम दर्ता गराएकामध्ये १० हजार ९०९ महिला र १२ हजार ४०९ पुरुष रहेका छन । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए । निर्वाचन आयोगले साउन १ गतेदेखि नाम छुटेका, नागरिकता बनाएका तर नामावलीमा नाम दर्ता नगरेका, बाहिर जिल्लामा भएकालाई लक्षित गरी फोटो सहितको मतदाता नामावली संकलनका कार्य शुरु गरेको थियो । रासस