काठमाडौं महानगरका नवनियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले मेयर /उपमेयरले अघि सारेका काम नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
बुधबार पदबहाली गरेपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवि सुधार गर्ने उनले बताएका छन् । कार्यक्रममा कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने बताए । भ्रष्टाचारजन्य आचरणलाई सुशासनको काँडाको रुपमा चित्रित गर्दै कार्यकारी अधिकृत शर्माले नागरिक सेवा सन्तुष्टिमा पूर्वाधार र कर्मचारी क्षमताको विकासमा आफ्नो ध्यान जाने बताए ।
विद्युतीय शासनको प्रवर्द्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारबीच बुझाइमा फरक भएकोले त्यसतर्फ आफ्नो ध्यान जाने शर्माको भनाइ थियो ।
कर्मचारीले सम्पादन गर्नुपर्ने विधि तथा पद्धतिमा नागरिक र जनप्रतिनिधिकाबीचमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको भनाइ थियो ।
सुर्खेत जिल्लामा जन्मेका शर्माले १४ वर्षभन्दा बढी सरकारको कर तथा राजस्व प्रशासन, वित्तीय व्यवस्थापन सेवामा विताएका छन्। यसअघि उनले अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुखका रुपमा काम गरेका थिए । साउन १९ को मन्त्री परिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका शर्मा साउन २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा सरुवा भई अाएका हुन्।