बुढानिलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनमा धाँधली भएको भन्दै नेपाली कांग्रेसलगायत केही दलले नगरपालिकामा तालबन्दी गरेका छन्।
नगरपालिकाका निर्वाचित प्रतिनिधि, एमाले नेतृत्व र निर्वाचन आयोगका कर्मचारी मिलेर धाँधली गरेको आरोप उनीहरूले आरोप लगाएका बेला एमालेले त्यसको खण्डन गरेको छ। आयोगले भने अध्ययन गरेर मात्र आफ्नो धारणा तय गर्ने बताएको छ।
हिजो मतदाता नामावली संकलन सकिएपछि एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष दिपक निरौलाको घरमा नाम दर्ता गरेको नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य सानु श्रेष्ठले बताए।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘लाइनमा बसेका मतदातालाई समय सकियो भनेर फर्काएर घरमा बसेर नामावली संकलन गरिएको छ। त्यहाँ मिलेमतोमा धाँधली भएको छ।’
नाम दर्तामा खटिएका निर्वाचन आयोगका कर्मचारी, एमाले कार्यकर्ता र नगरपालिकाका पदाधिकारीको मिलेमतोमा निरौलाको घरमा बसेर नामावली संकलन भएको उनको दाबी छ।
‘यसरी घरघरमा नाम दर्ता गर्दा आयोगले तोकेको योग्यता नपुगेका मानिसको पनि दर्ता भएको हुनसक्छ,’ उनले भने, ‘वा अरू किसिमका धाँधली भएको हुनसक्छ। त्यसैले हामीले विरोध गरेका हौं।’
निरौलाको घरमा नामावली संकलन भएको खबर पाएपछि प्रहरीसहित आफू त्यहाँ पुगेको उनले बताए। प्रहरीले नामावली संकलनमा प्रयोग भएको ल्यापटप र क्यामरासहित दुई जना दर्ता कर्मचारी, एमाले नगर कमिटी संयोजक निरौला र ९ नम्बर वडाका वडाध्यक्ष राजेन्द्र सापकोटालाई पक्राउ गरेको छ।
उनीहरूलाई प्रहरीले आज जिल्ला निर्वाचन कार्यालय समक्ष जिम्मा लगाएको छ।
नगरपालिकाको समेत मिलेमतो रहेकाले आफूहरूले आज बिहानै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको श्रेष्ठले बताए।
संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले पनि मतदाता संकलनमा एमाले र निर्वाचन आयोगका कर्मचारी मिलेर धाँधली गरेको आरोप लगाएका छन्।
एमाले नगर कमिटी संयोजक निरौलाले भने नेपाली कांग्रेसले अनावश्यक रूपमा राजनीतिक प्रचारबाजी गरेको प्रतिक्रिया दिए।
‘केही साथीहरू नामावलीमा नाम दर्ता गर्नबाट छुटिरहनु भएको थियो, आयोगले तोकेको समय हिजै सकिएको थियो,’ उनले भने, ‘ती छुटेका मतदाताका लागि के गर्न सकिन्छ भनेर छलफल गर्न मैले दर्ता कर्मचारीलाई बोलाएको थिएँ।’
घरमा पारिवारिक जमघट पनि रहेकाले अलि धेरै मान्छे भएको हुँदा यही विषयलाई उछालिएको उनले प्रतिक्रिया दिए।
उनले भने, ‘हिजो उहाँहरू आउनुभयो, पुरै मेरो घर खानतलासी लिनुभयो तर फोटो खिचाएको प्रमाण पाउनु भएन।’
उनले आफ्नो घरमा फोटो खिचाउने र नाम दर्ता गर्ने काम नभएको दाबी गरे।
हिजो प्रहरीले निरौलासँगै एक जना दर्ता कर्मचारी र वडा नम्बर ९का निर्वाचित अध्यक्ष राजेन्द्र सापकोटालई नियन्त्रणमा लिएको थियो।
निर्वाचन आयोगले नाम दर्ताका लागि करारमा जनशक्ति लिएर खटाएको थियो।
आफूलाई प्रहरीले बिहानै जिल्ला निर्वाचन आयोगमा बुझाएको निरौलाले बताए।
क्षेत्रिय निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख चन्द्र गौतमले यो विषयमा निर्वाचन कार्यालयले छानबिन गरिरहेको प्रतिक्रिया दिए।
‘अहिले पनि यही विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले नै के भएको हो भनेर भन्न गाह्रो छ। छानबिन सकिएपछि हाम्रो धारणा सार्वजनिक गर्छौं।’
उनले स्थानीय तहमा नामावली संकलन गर्न नगरपालिकासँग सहकार्य गरेको हुँदा नगरपालिकासँग पनि छलफल गरिने बताए।
निर्वाचन आयोगले प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी साउन १६ देखि ३२ सम्म प्रत्येक स्थानीय तहमा मतदाता नामावली संकलन गरेको थियो। तर, केही मतदाता छुटेको गुनासो आएपछि आयोगले तीन दिन समय थप गरेको थियो।
आयोगले थप गरेको समय हिजो सकिएको छ।