नेकपा (माओवादी केन्द्र)ले वीरगन्ज महानगरपालिकाको मेयरमा ३१ वर्षे मुस्लिम युवा
रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।
२०४३ वैशाखमा जन्मेका अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन्। उनी माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र माअोवादी आवद्ध मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्।
उनले हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर गरेका छन्।
‘म हंगेरीमा पढिरहेकै बेला यताबाट साथीहरूले मेयर उम्मेदवार बन्ने कुरा छ भनेर खबर पठाएका थिए,’ अन्सारीले टेलिफोनमा सेतोपाटीसँग भने, ‘नभन्दै अहिले पार्टीले मलाई मेयरको टिकट दियो।’
माओवादी पार्टीसँग अन्सारीको साइनो सात वर्षअघि जोडिएको हो।
वीरगन्ज फर्किएर अस्पतालको काम सम्हालेपछि उनको माओवादीका स्थानीय नेताहरूसँग चिनजान भयो। उनीहरू अस्पतालमा पनि आउँथे, अन्य कार्यक्रममा पनि भेट हुन्थ्यो।
‘मलाई पनि नेपालमा शोषित पीडित जनताका लागि माओवादीले लिएको बाटो सही छ भन्ने लाग्थ्यो,’ अन्सारीले भने, ‘विचार मिल्नेसँग सम्पर्क बढ्दै गएपछि पार्टीको सदस्यता लिएँ।’
२०७१ मा उनी जिल्ला कमिटी सदस्य भए। गत वर्ष राष्ट्रिय मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य र विदेश विभाग प्रमुखमा मनोयन भएका थिए।
अन्सारीका बुवा ए ई अन्सारी सरकारी डाक्टर थिए।
काठमाडौंमा जन्मेका अन्सारी बुवाको सरुवा जताजता भयो त्यतैत्यतै गएर पढे। काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए। दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके।
‘ब्याचलर्सपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरें, डेढ वर्ष जति त्यहाँ काम गरेपछि अाफैं गण्डक अस्पताल सुरु गरें’, अन्सारीले भने।
वीरगन्ज परिवारको नाममा रहेको जग्गा र एक तले घरमा सात वर्ष अघि उनले १० बेडको अस्पताल सुरु गरेका थिए।
बुवा डाक्टर भए पनि उनले कहिल्यै छोराको अस्पतालमा काम गरेनन्। अहिले पनि उनका बुवा काठमाडौंको मेडिकेयर अस्पतालमा 'फुल टाइम' काम गर्छन्।
‘गण्डक अस्पताल मेरै बुतामा बनाएको हुँ’ उनले भने, ‘ बुवा बेलाबेलामा हेरेर फर्किनुहुन्छ।'
अहिले गण्डक अस्पताल ६० बेडको छ भने १०० बेडको स्वीकृति पाइसकेको छ।
‘वीरगन्जको मेयर हुन अरु साथीहरू पनि आकांक्षी हुनुहुथ्यो तर पार्टीले तपाईँ युवा पनि हुनुहुन्छ। नयाँ किसिमले नेतृत्व चाहिएको छ भनेर मलाई टिकट दियो,’ अन्सारीले भने, ‘मेरो उम्मेदवारीले यहाँका युवामा नयाँ आशा सञ्चार भएको छ।’
उनी पढाइ, अनुभव र वीरगन्जमा गरेको सामाजिक कामको आधारमा आफू मेयरका लागि योग्य भएको दाबी गर्छन्।
अन्सारी वीरगन्ज रोटरीलगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध छन्।
‘हाम्रोमा काम गर्ने उत्साहभन्दा पनि सधैँ उमेर हेर्न थालिन्छ,’ अन्सारीले भने, ‘मेरो पढाइ र ८ वर्षदेखि अस्पताल चलाएको अनुभवको अाधारमा वीरगन्जको मेयर हाँक्न सक्छु भन्ने लाग्छ।’
वीरगन्जको रैथाने भएकाले यहाँका समस्यासँग परिचित भएको र बाहिरी संसारसँग पनि सम्पर्क रहेकाले आफूले वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्ने उनको तर्क छ।
‘मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, जुन काम मैले अस्पतालमा गर्दै आएको छु,’ अन्सारीले भने, ‘अर्को काम भनेको नीति नियम बनाउने र लागु गर्ने हो, जुन मैले पढेर आएको छु।’
पछिल्लो समय मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्जका मतदातालाई आफूले कन्भिन्स गर्नसक्ने उनको दाबी छ।
‘मधेस केन्द्रीत दलले उग्र कुरा गरेर पहाड र मधेसबीच दुरी बढाउन खोजेका छन्’ अन्सारीले भने, ‘उनीहरुले अहिले भनिरहेको मधेस उत्पीडनमा पर्यो भन्ने कुरा माओवादीले उहिल्यै भनेको थियो। त्यस्तो उत्पीडन पहाडमा पनि छ। त्यो हटाउन भन्दै पहाड र मधेसबीच दुरी बढाउनु गलत हो।’
अब आफूले यिनै कुरा लिएर वीरगन्जका मतदातासँग भोट माग्ने उनले बताए।
वीरगन्जमा अर्को प्रमुख पार्टीबाट पनि मुस्लिम समुदायकै व्यक्ति मेयरमा प्रस्तावित छन्। प्रमुख प्रतिपक्षी दल एमालेले बसरुद्दीन अन्सारीलाई टिकट दिने लगभग निश्चित छ।
अन्सारी गत संविधानसभाको निर्वाचनमा माअोवादीका प्रत्यक्षतर्फका उम्मेदवार थिए। उनी केही महिनाअघि मात्र माअोवादी छोडेर एमाले प्रवेश गरेका हुन्।
संयोगवस बसरुद्दीन र रहबर दुवै चिकित्सा क्षेत्रमै काम गर्छन्। बसरुद्दीनको वीरगन्जमा नेशनल मेडिकल कलेज छ भने काठमाडौंमा पनि अर्को मेडिकल कलेज खोल्न त्रिविबाट हालै उनले विवादस्पद सम्बन्धन पाएका छन्। उनीहरूबीच पारिवारिक नाता भने छैन।
वीरगन्जमा अस्पताल चलाइरहेका दुई अन्सारीले प्रतिस्पर्धी दुई प्रमुख पार्टीबाट मेयरको टिकट पाएपछि वीरगन्जको चुनाव रोचक बनेको छ।
यो महानगरमा १५,००० भन्दा धेरै मुस्लिम मतदाता छन्। यी दुईको उम्मेदवारीले मुस्लिम भोट कति बाँडिन्छ भन्ने पनि चासोको विषय बनेको छ।
https://www.youtube.com/watch?v=nCgP4lYvBV4&feature=youtu.be