पशुपति शमशेर राणाको नेतृत्वमा बन्न लागेको नयाँ पार्टीका पक्षमा निर्वाचन आयोगमा गएर आफ्नो नाम सनाखत गराएर फेरि अन्तिममा कमल थापातिर फर्केका दुई सांसद फसादमा परेका छन्।
निर्वाचन आयोगले सर्वोच्चको आदेश अनुसार राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दर्ता गरिदिए पछि राप्रपाका सांसदहरू लीला श्रेष्ठ र राजेश्वरी सिंह फसादमा परेका हुन्।
अन्तिम समयमा कमल थापा नेतृत्वकै राप्रपामा फर्किए पनि उनीहरू अब कानुनी रूपमा राप्रपा प्रजातान्तिककै सांसदहरू भएका छन्।
अब उनीहरूलाई राप्रपामा बस्न कानुनी रूपले नमिल्ने दाबी राप्रपा प्रजातन्त्रिकका नेता सुनिल थापाले गरे। 'उहाँहरूले निर्वाचन आयोगमा हाम्रा पक्षमा सनाखत गर्नु भएको छ। त्यसैले उहाँहरू अब वैधानिक रूपमा यही दलको सांसद हुनुभयो,' राप्रपा नेता सुनिल थापाले सेतोपाटीसँग भने, '
आज निर्वाचन आयोगमा दल दर्ता भए पछि दुबै जना सांसदलाई राप्रपा प्रजातान्त्रिकमा आउन पार्टीले खबर पठाइसकेको छ।'
ती दुई सांसदले के गर्छन् भन्ने अझै टुंगो छैन। अब के गर्ने भन्ने बारेमा ती सांसदहरू अफ्ठेरोमा परेका छन्। सेतोपाटी ती सांसदहरूसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
'उहाँहरू पार्टीको अनुशासन मानेर राप्रपा प्रजातन्त्रिकमै बस्नु हुन्छ भन्ने हाम्रो अपेक्षा छ,' थापाले भने उहाँहरू आउनु भएन र पार्टीले कारबाही गर्यो भने उहाँहरूको सांसद पद जान्छ।'
एक पटक फुटेर बनेको नयाँ पार्टी फेरि एक वर्षभित्र फुट्न नमिल्ने कानुनी प्रावधान छ। त्यसै पनि फुट्नका लागि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यको आवश्यकता पर्छ। त्यो अब सम्भव छैन।