नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी उच्च बाँधको डिपिआर निर्माणलाई गति दिने नेपाल भारत समझदारी पुनर्विचार गर्नुपर्ने बताएका छन्।
विराटनगरमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला समझदारी पुनर्विचार गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका हुन्। ४६ बुँदे नेपाल- भारत संयुक्त वक्तव्यको २८ नंम्बर बुँदामा दुई प्रधानमन्त्री सप्तकोशी उच्च बाँधको डिपिआरको तयारी र सुनकोशी बाँध र डाइभर्सन योजनालाई गति दिन सहमत भएको उल्लेख छ।
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल भारत संयुक्त वक्तव्यका विषयमा बिहानै प्रचण्डलाई जानकारी गराएका थिए।
प्रचण्डले नेपाल भारत संयुक्त वक्तव्य लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने समेत बताएका छन्।
१९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको भारत भ्रमणका क्रममा उच्च बाँध निर्माणका लागि डिपिआर तयारीका लागि दुई देशले संयुक्त अध्ययन गर्ने समझदारी भएको थियो।