राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई लक्षित गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रदेश नं १ मा राजेन्द्र लिङ्देन, २ मा गंगाप्रसाद यादव, ३ मा बुद्धिमान तामाङ, ४ मा हेमजङ गुरुङ, ५ मा धबलशम्शेर राणा, ६ मा मुकुन्दश्याम गिरी र ७ मा जयन्त चन्दलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले तोकिएका संयोजकले सम्बन्धित प्रदेशमा संगठनको वास्तविक अवस्थाको अध्ययन गरी केन्द्रमा प्रतिवेदन पठाउने, केन्द्रसँग समन्वय गरी उम्मेदवार छनोट गर्ने, आवश्यकतानुसार अन्य दलसँग सहकार्य तथा तालमेल गरी अधिकांश स्थानमा पार्टीलाई जिताउन भूमिका निर्वाह गर्नेछन् ।
बैठकले आगामी असोजमा मेची–महाकाली राष्ट्रिय स्वाभिमानी यात्राको आयोजना गर्ने निर्णय गरेको छ ।