सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दशैंका यात्रुको सामान राख्नका लागि अस्थायी रूपमा गाडीको छत राख्ने विषयमा आफूले पहल गर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा अरनिको यातायात सेवा समितिको ४६ अौं वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले कानूनी र सुरक्षाका दृष्टिकोणले अहित भए पनि व्यावहारिक हिसाबले दशैं र तिहारका बीचमा छत व्यवस्था मिलाउन आफूले काम गर्ने आश्वासन दिए ।
अर्काे प्रसङ्गमा उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी संविधान संशोधन गरिने मन्त्री बताउँदै भने, ‘संविधान जनताको चाहना र भावनाअनुसार संशोधन गर्न सकिन्छ ।’
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला र हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले गाडीको छत र भित्र सामान राख्ने बाकस बनाउन सरकारले व्यवस्था नगरे दशैंका लागि टिकट खुला गर्न नसकिने बताए ।
अरनिको यातायात सेवा समितिका पूर्वअध्यक्ष केदार खत्रीले सडकको स्तरोन्नतिमा पनि ध्यान दिन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा तीन पुस्तासम्मले नै यातायात क्षेत्रमा सेवा पुर्याएबापत समितिका निवर्तमान अध्यक्ष जीतबहादुर भारतीलाई स्वर्ण पदकबाट सम्मान गरियो । त्यस्तै, अरनिको सेवा समितिका मजदूरका छोराछोरीबाट २०७३ को एसईई परीक्षमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने सन्तोष बस्नेत, मनीषा भण्डारी र प्रतिमा मगरका साथै अरनिको मार्गमा राम्रोसँग गाडी चलाउने चालक तीर्थबहादुर मोक्तान, शान्तबहादुर घिमिरे र हीराबहादुर जिरेललाई सम्मान गरिएको थियो । रासस