दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा हालसम्म प्राप्त परिणामअनुसार नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच तेस्रो स्थानका लागि कडा टक्कर देखिएको छ।
बिहीबार राति १० बजेसम्म प्राप्त परिणामअनुसार यी तीनै दल ५–५ ठाउँमा विजय हासिल गरेर तेस्रो स्थानमा छन्। यीमध्ये फोरम नेपालको स्थिति अझै बलियो देखिन्छ। फोरम नेपालले १५ ठाउँमा अग्रता लिइरहेको छ भने माओवादी केन्द्र १३ ठाउँमा अग्रस्थानमा छ। एमाले अग्रतामा पनि यी तीनभन्दा पछाडि छ। उसका उम्मेदवार १० ठाउँमा मात्र अगाडि छन्।
संघीय समाजवादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिका (जागेश्वर यादव), सिरहाको भगवानपुर गाउँपालिका (बेचनप्रसाद यादव), सर्लाहीको पर्सा गाउँपालिका (किसुनदेव राय), महोत्तरीको सोनमा गाउँपालिका (राजकुमार यादव) र पर्साको विन्दवासिनी गाउँपालिका (श्रीलाल शाह कानु) मा विजय हासिल गरेको छ।
माओवादी केन्द्र सिरहाको कर्जन्हा नगरपालिका (गंगा पासवान), सिरहाकै अर्नमा गाउँपालिका (ठकु महतो कोइरी), सिरहाको औरही गाउँपालिका (सिद्धार्थ यादव), पर्साको ठोरी गाउँपालिका (पदमलाल श्रेष्ठ) र रौतहटको मौलापुर नगरपालिका (रिना साह) मा विजयी भएको छ।
एमालेले सप्तरीको सप्तकोशी नगरपालिका (उत्तमकुमार शर्मा), पर्साको पटेर्वा सुगौली गाउँपालिका (हरिनारायण चौधरी), धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका (मनोज यादव), धनुषाको बटेश्वर गाउँपालिका (डम्बरबहादुर राउत) र सिरहाको नरहा गाउँपालिका (रामशरण यादव) मा विजय हासिल गरेको छ।
तेस्रो चरणमा सम्पन्न यो निर्वाचनमा नेपाली कांग्रेस १० स्थानमा जितेर सबभन्दा अगाडि छ। उसका उम्मेदवार ११ ठाउँमा अगाडि छन्।
अहिलेसम्मको मतगणनामा दोस्रो स्थानमा रहेको राजपा नेपाल ६ स्थानमा विजयी भएको छ भने १८ स्थानमा अग्रस्थानमा छ।